Aamsanchar

डढेलोबाट वन र वन्यजन्तु जोगाउन जल्ने वस्तुको व्यवस्थापन सुरु

Author Image
आइतवार, जेठ २८, २०७४

चितवन।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा डढेलोबाट वन र वन्यजन्तु जोगाउन जल्ने वस्तुको व्यवस्थापनका लागि नयाँ कार्यक्रम सुरु गरिएको छ ।

पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले निकुञ्जको चारवटै सेक्टरका मध्यवर्ती क्षेत्रमा नयाँ कार्यक्रमको रुपमा जल्ने वस्तुको व्यवस्थापन थालिएको जानकारी दिनुभयो ।

जल्ने चिजबिज झिङ्जा, सुकेका खर, काठका टुक्रा, दाउरा तथा झ्यासलाई व्यवस्थापन गरी थुप्रो लगाएर जलाउँदा डढेलोबाट हुने वन र वन्यजन्तुको क्षति रोकिने भएकाले उक्त कार्यक्रम यो वर्षबाट सुरु गरिएको पाठकले जानकारी दिनुभयो ।

यसले डढेलोबाट मध्यवर्ती सामुदायिक वनमा हुने विनाश रोक्ने अपेक्षा गरिएको चितवन राष्टिय निकुञ्जले जनाएको छ । निकुञ्जको क्षेत्रमा भने घाँसे मैदान व्यवस्थापनसँगै नियन्त्रणमुखी डढेलो लगाएर व्यवस्थापन गरिँदै आएको छ ।

सामुदायिक वन क्षेत्रमा डढेलो लाग्दा सखाप हुने गरेको विगतको उदाहरण रहेकाले यसलाई नियन्त्रण गर्न जल्ने सामग्रीलाई व्यवस्थापन गर्न थालिएको हो । वनलाई निश्चित ब्लक बनाएर छुट्याइएको र सोही ब्लक अनुसार व्यवस्थापन थालिएको पाठकले जानकारी दिनुभयो ।

पूर्वी चितवनको कुमरोज मध्येवर्ती सामुदायिक वनको पर्यटन ब्लकमा उक्त कार्यक्रम सुरु गरिएको सने वनका अध्यक्ष हिरा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वनमा घडियाल, मयूर, डियर, ताल, पर्यटन, जैविक र संरक्षण ब्लक छुट्याइएर संरक्षण कार्य हुँदै आएको छ ।

बूढीराप्ती उपभोक्ता समिति खैरहनीका अध्यक्ष नारायणदत्त तिमिल्सिनाले वन डढेलो नियन्त्रणका लागि सुरु भएको यो नयाँ कार्यक्रमले वन्यजन्तु र वनमा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वन सौराहामा पनि उक्त कार्यक्रम सुरु गर्न लागिएको छ । यस्तै कसरा सेक्टर र दक्षिण माडीको वनक्षेत्रमा पनि यो कार्यक्रम लागू भएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रमा दर्ताभएका ५६ वटा मध्यवर्ती वन छन् । निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिलोमिटर छ भने मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७५० वर्गकिमी रहेको पाठकले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर