Aamsanchar

अनैतिक कार्य गरेको आरोपमा शिक्षक पक्राउ

Author Image
मङ्गलवार, जेठ ३०, २०७४

बिर्तामोड।

कक्षा पाँचमा अध्ययनरत छात्रामाथि अनैतिक कार्य गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमवार एक शिक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वाह्रदशी गाउँपालिका–७ निवासी दलवहादुर खड्का रहेको प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । गौरीशंकर मावि डाँगीवारीमा कार्यरत शिक्षक खड्काले गत विहीवार अध्यापन गराउने क्रममा छात्रामाथि अनैतिक कार्य गरेको उजुरीपछि पक्राउ गरिएको थेवेले बताए ।

उनले भने– ‘खड्काले विद्यार्थीलाई पटक –पटक कक्षा कोठामा यौन दुव्र्यवहार गर्ने गरेको उजुरी इलाका प्रहरी कार्यालय घैलाडुब्बामा परेको र उनलाई आवश्यक अनुसन्धानका लागि विद्यालयबाटै पक्राउ गरी ल्याएका छौं ।’
खड्का सो विद्यालयका प्रावि शिक्षक हुन् । उनले गणित विषय अध्यापन गराउँदै आएको बताइएको छ । उनले कक्षा पाँचमा अध्ययनरत् अन्य छात्रालाई पनि यस अघि दुव्र्यवहार गर्दै आएको बताइएको छ । छात्रामाथि शिक्षक खड्काले अनैतिक कार्य गरेको भन्दै विद्यार्थीले विद्यालयमा तालावन्दी गर्दै कानूनी कारवाहीको मागसहित अविलम्ब निलम्बनको माग गरेका छन् ।
यसैबीच सोमवार नै विद्यालय व्यवस्थापन समितिको वैठक बसेर सत्य–तथ्य पत्ता लगाई निलम्वनका लागि जिल्ला शिक्षा कार्यालय झापामा सिफारिस गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेशकुमार झाले बताए । यसअघि वैशाखमा कनकाई नगरपालिका–९स्थित घैलाडुब्बामा रहेको आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोला ढुंगेलले कक्षा ६मा अध्ययनरत् छात्राहरुलाई अनैतिक कार्य गरेको भन्दै अभिभावकले उजुरी गरेपछि उनलाई पनि निलम्वनका लागि जिल्ला शिक्षा कार्यालय झापामा सिफारिस गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिले निलम्वनको माग गर्दै निलम्बनको सिफारिस गरेसंगै जिल्ला शिक्षा कार्यालय झापाले विद्यालयलाई शिक्षक ढुङ्गेललाई सोमवार स्पष्टीकरण सोध्न पत्र पठाएको बताइएको छ । छात्रामाथि ढुङ्गेलले अनैतिक कार्य गरेको उजुरीपछि केही सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा अघि बढाइएको प्रहरी नायव उपरीक्षक थेवेले बताए । शिक्षक ढुङ्गेल वैशाखबाटै विद्यालय नआएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर