Aamsanchar

१०% मत नल्याए उम्मेदवारको ‘जमानत जफत’

Author Image
बिहिवार, असार १, २०७४

बिर्तामोड।

स्थानीय तह चुनावमा उम्मेदवारले आफ्नो इज्जत जोगाउन सदर मतको १० प्रतिशत प्राप्त गर्नुपर्ने प्रावधान छ ।
१० प्रतिशत मत नल्याउने उम्मेदवारको ‘जमानत जफत’ हुन्छ । कतिपय उम्मेदवारलाई यो व्यवस्था बारे थाह छैन । कतिले चर्चाकै लागि उम्मेदवारी घोषणा गरिरहेका छन् । उम्मेदवारले लाज ढाक्न कम्तीमा सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेले बताए । उनले भने– मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सदस्यले पनि सदर मतको १० प्रतिशत मत ल्याउनैपर्छ ।
झापामा ७ सय २३ जना स्थानीय जनप्रतिनिधि असार १४ गते हुने दोस्रो चरणको निर्वाचनबाट चुनिँदैछन् । जसमध्ये ३० जना नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष हुन्छन् भने बाँकी वडा अध्यक्षसहित वडासदस्यसम्म चुनिन्छन् । सबैले सदर मतको १० प्रतिशत मत प्राप्त नगरे जमानत जफत हुने स्थानीय तह निर्वाचन ऐन २०७३मा उल्लेख भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले बताए ।
मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले १५ सय रुपैयाँ निर्वाचनमा भाग लिँदा धरौटी राख्नुपर्ने प्रावधान छ । त्यस्तै वडाअध्यक्षले १ हजार र सदस्यले ५०० रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । जमानत जफत भए धरौटीमा राखेको रकम राजश्वमा जम्मा हुने आचार्यले बताए । उनले भने – महिला, पिछडिएको समुदाय, दलित र आर्थिक रुपमा विपन्न समुदायका उम्मेदवार बने धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था रहेको छ ।

आर्थिक विपन्नको हकमा स्थानीय तहको कार्यालयले विपन्नता हो भनेर प्रमाणित गरेको कागजात पेश गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर