Aamsanchar

दृष्टिविहीनले गरे उम्मेदवारी घोषणा

Author Image
बिहिवार, असार १, २०७४

बिर्तामोड।

आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा गरेर चुनावी अभियानलाई तीब्र बनाइ रहेका बेला झापामा दृष्टिबिहीन व्यक्ति पनि उम्मेदवार बनेका छन् ।
दृष्टिबिहीन नागरिकलाई हेलाको दृष्टिकोणले हेर्ने गरेका घटनाहरु पाइएका छन् तर उनीहरुले पनि समाजमा नेतृत्व गर्न सक्छन् भन्ने उदाहरणका रुपमा झापाको हल्दिबारी गाउँपालिका अन्तर्गत वडा नम्बर–४ को खुल्ला सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका दिलकुमार राजवंशी बनेका छन् ।
सोही वडाका बासिन्दा रहेका राजवंशी नेपालकै पहिलो दृष्टिबिहीन उम्मेदवार बनेका छन् । माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी घोषणा गरेका राजवंशी अहिले भोट माग्न व्यस्त छन् । आफूलाई सबैले सहयोग गरेको भन्दै राजवंशीले आफूले विजयी हासिल गरेको खण्डमा दृष्टिबिहीन मानिसप्रति अन्यले हेर्ने दृष्टिकोण बदल्ने बताए ।
आफ्नो उम्मेदवारी सदस्य पदका लागी भए पनि नेपालकै पहिलो दृष्टिबिहीन उम्मेवार भएको उनको दाबी छ । सानैदेखि विद्यार्थी राजनीतिमा लागेको र अहिले पार्टीको मूलधारको राजनीतिमा सामेल भएकाले पार्टीले आफूलाई नेतृत्व गर्ने अवसर दिएको भन्दै उनले दृष्टिबिहीन ब्यक्तिले पनि राजनीति गर्न सक्छ भन्ने सन्देश दिएको उल्लेख गरे । आफू सेतो छडीका साथ सबै मतदाताको घरमा गएर मतमाग्ने काम गरिरहेको भन्दै दृष्टिबिहीन संघसंस्थाहरुले पनि आफूलाई हौसला प्रदान गरेको राजवंशीले बताए ।
झापामा दुई वटा मात्र नेत्रहीनले अध्ययन गर्ने सामुदायिक विद्यालय भएको भन्दै राजवंशीले आफूले विजय हासिल गरेमा प्रत्येक गाँउपालिकामा कम्तीमा एउटा दृष्टिविहीन व्यक्तिले अध्ययन गर्ने विद्यालय स्थापना गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेत्रहीन संघ झापाका सहसचिव समेत रहेका राजवंशीले इच्छा शक्ति भएमा अपाङ्ग ब्यक्ति पनि समाजलाई केही न केही योग्दान दिन सक्ने विचार व्यक्त गरे ।
राजवंशी समुदाय पछि परेको भन्दै उनले त्यसमाथि पनि दृष्टिबिहीनलाई मानिसले दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर