Aamsanchar

राजनीतिसँगै कृषि कर्म

Author Image
बिहिवार, असार १, २०७४

पाँचथर ।

फालेलुङ गाउँपालिका– ५ का तिलविक्रम चेम्जोङ राजनीतिसँगै कृषि पेसामा पनि छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् । उहाँले कृषि पेसाबाट वार्षिक रु ४० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

चेम्जोङले मौरीपालनबाट वार्षिक रु तीन लाख, अलैँची नर्सरीबाट वार्षिक रु १५ लाख, अलैँची बिक्रीबाट रु १५ लाख, माछापालनबाट वार्षिक रु एक लाख, किबी फलबाट रु एक लाख र गाईपालनबाट वार्षिक रु दुई लाखदेखि रु दुई लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

चेम्जोङ सानै उमेरदेखि राजनीतिप्रति चासो राख्नुहुन्थ्यो । काँग्रेस नेता एवम् २००७ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा भूविक्रम नेम्वाङको सामिप्यतामा रहनुभएका चेम्जोङले पौवासारताप माध्यमिक विद्यालयमा पढ्दै गर्दा २०४५ सालमा नेपाल विद्यार्थी सङ्घको एकाइ कमिटीको अध्यक्ष भएर राजनीतिक यात्रा थाल्नुभयो ।

विसं २०४८ मा चेम्जोङले विद्यार्थी सङ्घको जिल्ला सदस्य, २०५१ मा नेपाल तरुण दलको जिल्ला उपाध्यक्ष र २०५४ सालमा तरुण दलकै केन्द्रीय प्रशिक्षण विभागमा रहेर काम गर्नुभयो । विसं २०६७ मा पाँचथरको निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति रहेर काम गर्नुभयो । विसं २०७० पछि उहाँले काँग्रेसबाट राजीनामा दिनुभयो । अहिले उहाँ सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय परिषद् सदस्य हुनुहुन्छ ।

“राजनीति भन्दा कृषि पेसाबाट बढी आनन्द आउँछ,” चेम्जोङले भन्नुभयो– “पहिला आफू आत्मनिर्भर हुनु जरुरी छ ।” उहाँले अहिले गाउँका सातजनालाई रोजगारी समेत दिनुभएको छ । स्वदेशमै मिहेनत गर्न सके विदेश गइराख्नु नपर्ने उहाँ बताउनुहुन्छ । उहाँले कृषि पेसाबाट मनग्य आम्दानी गरेको देखेर गाउँका अन्य कृषक समेत मौरीपालन र अलैँचीखेतीतर्फ आकर्षित बनेका छन् ।

“कृषि पेसा र राजनीतिलाई सँगसँगै अगाडि बढाउने योजना छ,” चेम्जोङले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)