Aamsanchar

अपहरण प्रकरणका चार थुनामा

Author Image
शनिवार, असार ३, २०७४

बिर्तामोड।

झापाको बिर्तामोड नगरपालिकामा रहेको झण्डै १५ करोड रुपैयाँ पर्ने जग्गा कीर्ते गरी हडप्न खोजेको आरोपमा पक्राउ परेका ६ जना मध्ये ४ जना शुक्रवार पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जग्गा धनी जीवन विष्टलाई अपहरण गरी उनको नाममा रहेको ५ कठ्ठा १६ धुर जग्गा हडपेको उजुरीका आधारमा पक्राउ परेका मध्ये भुपू कान्छा, राजु कुँवर, प्रेम न्यौपाने र तेजेन्द्र न्यौपाने जिल्ला अदालतको थुनछेक आदेशपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए । उनका अनुसार पक्राउ परेका मध्ये उत्तम कोइराला एक लाख र रुद्र सापकोटा तीन लाख धरौटीमा छुटेका छन् ।
पुर्पक्षका लागि थुनामा राख्न आदेश भएका मध्ये भुपू कान्छा नामले परिचित भूपू राई मेचीनगर–६ निवासी हुन् । त्यस्तै भद्रपुर–७का तेजेन्द्र न्यौपाने जिल्ला प्रशासन कार्यालय झापाका खरिदार हुन् । भद्रपुरकै प्रेम न्यौपाने न्यौपाने स्टोरका सञ्चालक हुन् । राजु कुँवर मेचीनगर–४ का स्थायी बासिन्दा हुन् ।
यता धरौटीमा रिहा भएका मध्ये रुद्र सापकोटा नापी कार्यालय झापाका खरिदार पदमा कार्यरत थिए ।
गत १२ माघ गते आफूलाई अपहरण गरी बन्धक बनाएर हतियार तेस्र्याउँदै जग्गाको किनबेच सम्बन्धी कागजातमा जबर्जस्ती सहीछाप गराएको भन्दै झापा शनिश्चरेका विष्टले उनीहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । विष्टको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर