Aamsanchar

सुरुङ्गास्थित पशुपति माविकी प्रमिला एसईईमा जिल्लाकै सर्वोत्कृष्ट

Author Image
आइतवार, असार ४, २०७४

बिर्तामोड ।
झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयकी छात्रा प्रमिला उप्रेती ०७३ को माध्यमिक तह (एसईई) परीक्षामा जिल्लाकै सर्वोत्कृष्ट नतिजा हासिल गरेको सो विद्यालयले दाबी गरेको छ ।
प्रमिलाले एसईईमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ३.८५ अंक हासिल गरेको विद्यालयका प्रिन्सिपल एलपी उप्रेतीले जानकारी दिए । प्रिन्सिपल उप्रेतीका अनुसार उनले प्राप्त गरेको जीपीए अंक अहिलेसम्मको आंकलनमा जिल्लाकै सर्वोत्कृष्ट हो । प्रमिलाले सर्वोत्कृष्ट अंक प्राप्त गरेपछि उनको परिवार र विद्यालयमा मात्र होइन, सुरुङ्गामा नै खुशीयाली छाएको छ । प्रतिभाशाली छात्राको रुपमा परिचित प्रमिला कक्षा नर्सरीबाटै पशुपति अंग्रेजी माविमा अध्ययनरत् थिइन् ।
उनको सि.नं. ००४६८१२ एल हो । लब्धांक पत्र अनुसार उनले एसईईमा विषयगतरुपमा प्राप्त गरेको ग्रेड अंग्रेजीमा ए प्लस, नेपालीमा वी प्लस, गणितमा ए प्लस, विज्ञानमा ए प्लस, सामाजिकमा ए, जनसंख्या तथा वातावरणमा ए प्लस, ऐच्छिक गणितमा ए प्लस, ऐच्छिक एकाउन्टमा ए प्लस रहेको छ ।
प्रमिला उप्रेती, बुबा गंगाप्रसाद उप्रेती र आमा ईश्वरा उप्रेतीकी कान्छी छोरी हुन् । अनुशासित र प्रतिभाशाली छात्राको रुपमा उनले आफूलाई पढाई र अतिरिक्त क्रियाकलापको माध्यमबाट प्रस्तुत गरिसकेकी छिन् । प्याब्सन लगायत अन्य संस्थाहरुले आयोजना गरेको प्रतियोगिताहरु जस्तै २०७३ प्याब्सन क्षेत्रीय वक्तृत्वकला प्रतियोगितामा प्याब्सन झापा क्षेत्र नं. ५ मा द्वितीय स्थान, साथै शिक्षक हकहित मञ्च सहकारी दुर्गापुरले सञ्चालन गरेको हाजिरी जवाफ प्रतियोगितामा पनि यसैवर्ष प्रथम स्थान हासिल गरेकी थिइन् ।
विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि उनी पटक–पटक पुरस्कृत भएकी छिन् । २०५७ साल माघ १ गते तत्कालीन सुरुङ्गा गाविस– ८, सुकेडाँगी, हाल कनकाई नगरपालिका– २, सुकेडाँगी जन्मिएकी प्रमिलाले कक्षा ७ सम्म उत्कृष्ट १० भित्र, कक्षा ८ को जिल्लास्तरीय परीक्षामा विद्यालय द्वितीय, कक्षा १० को प्रथम त्रैमासिक परीक्षामा द्वितीय र अन्य त्रैमासिक परीक्षामा प्रथम हुँदै आएकी थिइन् ।
यसैबीच जलथलस्थित सिग्मा अंग्रेजी माविकी छात्रा पूर्णिमा तामाङले पनि ३.८५ जीपीए अंक प्राप्त गरेको बुझिए पनि आधिकारिक पुष्टि भएको छैन । झापामा अहिलेसम्म ३.८५ जीपीए अंकभन्दा बढी अंक प्राप्त भएको कतैबाट पनि दाबी नभएको समेत बताइएको छ ।
त्यसैगरी जिल्लामा हालसम्म कुनै पनि विद्यालयले जिल्ला प्रथम गरेको दाबी नगरेको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । जिल्लामा जीपीए ३.८ सम्मका जानकारीहरु आए पनि ३.८५ को दाबी कसैले नगरेकोले यो जिल्ला प्रथम हुनसक्ने जिल्ला शिक्षा कार्यालय झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर