Aamsanchar

गोर्खाल्याण्ड आन्दोलनको असर पूर्वी नाकामा

Author Image
शुक्रवार, असार ९, २०७४

झापा।

भारतको पूर्वी पहाडी क्षेत्र दार्जीलिङमा केही दिन यता चलिरहेको आन्दोलनका कारण नेपालको पूर्वी क्षेत्रसमेत प्रभावित बनेको छ ।
पश्चिम बंगाल सरकारले दार्जीलिङका विद्यालयमा बंगाली भाषा अनिवार्य गरेपछि नेपाली भाषीको बहुलता भएको पहाडी जिल्ला दार्जीलिङ केही दिनदेखि अशान्त भएको छ । उनीको आन्दोलनका कारण पूर्वी नाकाबाट पर्यटकहरुको आवागमन ठप्प रहेको अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख रामप्रसाद फुँयालले जानकारी दिए । उनका अनुसार आन्दोलन बढेसँगै पर्यटक आउन छाडेकाले राजश्व संकलनमा समेत असर पर्न थालेको छ ।
दार्जीलिङलाई गोर्खाल्याण्ड घोषणा गरिनुपर्ने माग गर्दै आन्दोलन चर्किएपछि पूर्वी नाकामा पर्यटक आवागनमा कमी हुँदा होटलहरु समेत सुनसान जस्तै बन्न थालेको छ ।
यसैबीच दार्जीलिङमा आन्दोलन शुरु भएसंगै अध्ययनका लागि दार्जीलिङ बसेका विद्यार्थी अलमलमा परेका छन् भने नेपालमा अभिभावकहरु चिन्तित बनेका छन् । झापाको विर्तामोड नगरपालिका–८का पदम प्रसाईका छोरा प्रशान्त दुई वर्षदेखि दार्जीलिङमा अध्ययन गर्दै आएका छन् । गोर्खाल्याडको आन्दोलनले गर्दा छोरालाई घर ल्याउन समस्या भएको उनले बताए । नेपालबाट धेरै विद्यार्थी भारतको दार्जीलिङमा अध्ययनका लागि पुग्ने गरेका छन् । अचानक आनदोलन चर्किए पछि अभिभावकहरु भने छोराछोरीको चिन्ता गरिरहेका छन् ।
यसैबीच दार्जीलिङमा भएको आन्दोलनको असर पूर्वी क्षेत्रमा देखा परेका र धेरैले आएर सोध्ने गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।
त्यस्तै आन्दोलनका कारण पूर्वी नाकामा रहेको मेची भन्सार कार्यालयमा समेत आंशिक प्रभाव परेको भन्सार कार्यालयका निमित्त प्रमुख दीपक अधिकारीले जानकारी दिए । दार्जीलिङबाट सामान नआए पनि त्यहाँको बन्दको असर भने परेको छ– उनले भने ।
विभिन्न स्थानबाट दार्जीलिङमा अध्ययनका लागि गएका विद्यार्थीलाई शुक्रबार एकदिन घर फर्कन आग्रह गरेको जनाइएको छ । शुक्रबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आवासमा बसेका विद्यार्थीलाई दार्जीलिङका सीमासम्म स्कूल बसमार्फत पु¥याउन आग्रह गरिएको दार्जीलिङका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । दार्जीलिङका सडकमा सवारी चलेका छैनन् भने विद्यालय, कलकारखाना, सरकारी कार्यालयसमेत ठप्प भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर