Aamsanchar

अस्थायी शिक्षक: परीक्षामा पास नभए पनि पैसा !

Author Image
शनिवार, असार १०, २०७४

काठमाडौँ ।

शिक्षा मन्त्रालय र अस्थायी शिक्षकका प्रतिनिधिबीचको वार्तामा शुक्रबार चारबुँदे सहमतिसँगै आन्दोलनरत शिक्षकको अनशन तोडिएको छ ।  उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थिति र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिको रोहबरमा भएको वार्तामा सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी हुन मौका प्रदान गर्ने र असफल हुनेलाई तोकिएको सुविधा दिने उल्लेख छ ।
रिक्त दरबन्दीमा हुने त्यस्तो परीक्षामा न्यूनतम ४० अङ्क ल्याउने स्थायी हुनेछन् ।  शिक्षा ऐन आठौँ संशोधन (२०७२) मा आन्तरिक परीक्षामा भाग लिन नचाहने भएमा सुविधा लिन परीक्षाअगावै आवेदन दिनुपर्ने र असफल भएमा सुविधा नपाउने उल्लेख थियो ।
सहमतिमा परीक्षामा असफल हुनेलाई पनि ऐनले तोकेको अतिरिक्त औषधि उपचार खर्च दिने उल्लेख छ ।  यो सहमति कार्यान्वयनका लागि शिक्षा ऐनमा पुनः संशोधन गर्नुपर्ने हुन्छ ।  आठौँ संशोधनमा परीक्षामा सामेल हुन नचाहनेले सेवा अवधिका आधारमा बढीमा १२ लाख रुपियाँसम्म सुविधा पाउने उल्लेख छ ।
सहमतिमा २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्मको कुल रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ प्रतिशत खुलातर्फ विज्ञापन गर्ने विषयमा आन्तरिकतर्फको विज्ञापनमा पद सङ्ख्या समायोजन गर्न (अनुपात मिलान) का लागि मन्त्रालय, महासङ्घ र अस्थायीका प्रतिनिधि रहेको ११ सदस्यीय कार्यदल गठन हुनेछ ।  कार्यदलले १५ दिनभित्र प्रतिवेदन दिनेछ ।  हाल कुल २६ हजार एकसय ४१ शिक्षक अस्थायी छन् ।

यस्तै, शिक्षक विज्ञापनको पाठ्यक्रम, प्रश्न ग्रिड र परीक्षालगायत विषयमा सुधार गर्न थप गृहकार्य गर्ने पनि सहमति भएको छ ।  यसको अर्थ प्रश्नपत्र सरल बनाउने भनी सङ्घर्ष समितिले आफ्ना कार्यकर्तालाई बुझाएको छ ।  सहमतिपत्रमा मन्त्रालयका तर्फबाट सहसचिव डा. हरि लम्साल, महासङ्घका अध्यक्ष केशव निरौला, समितिका अध्यक्ष हेमनाथ चौलागाईँ लगायतले हस्ताक्षर गर्नुभएको छ ।
समितिले यही असार २ गतेदेखि भद्रकालीमा आमरण अनशन कार्यक्रम सञ्चालन गरेको थियो ।  अनशनमा पाँच शिक्षक बस्नुभएको थियो ।  सहमतिलगत्तै शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अनशनकारीलाई जुस खुवाई अनशन तोडाउनुभयो ।  सङ्घर्ष समितिका अध्यक्ष हेमनाथ चौलागाईंले आफूले मागेभन्दा बढी प्राप्त भएको भन्दै समयमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
जुस खाएपछि अनशनमा बसेका मध्ये एक शिक्षक कलावती जोशीले सहमतिको शीघ्र कार्यान्वयन हुनुपर्ने प्रतिक्रिया दिनुभयो ।  शिक्षक नेताबीचको सहमतिलाई अनशनस्थलमा उपस्थित कतिपय अस्थायी शिक्षकले भने विरोध गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर