Aamsanchar

आज ३५ जिल्लामा मतदान

Author Image
बुधवार, असार १४, २०७४

बिर्तामोड । झापासहित प्रदेश नम्वर १ , ५ र ७ मा संघीय संरचना अनुसार आज (बुधबार) बिहान ७ बजेबाट मतदात शुरु हँुदैछ ।
मतदानमा ६४ लाख ३२ हजार सात सय ६५ मतदाता सहभागी हुँदैछन् । तीनसय ३४ मतदान स्थानीय तहमा हुने निर्वाचनमा १३ हजार पाँच सय ५६ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । एक महानगरपालिका, ७ उपमहानगरपालिका, एक सय ११ नगरपालिका र दुई सय १५ गाउँ पालिकामा निर्वाचन हुन लागेको हो । ८ हजार तीन सय ६४ मतदान केन्द्र रहेको तीन प्रदेशमा ४ हजार ५ सय ८१ मतदान स्थल रहेका छन् ।
निर्वाचन सम्पन्न गराउन ६६ हजार ९ सय कर्मचारी खटिएका छन् । प्रदेश नम्वर १ को १३ जिल्लामा १ महानगरपालिका, २ उपमहानगरपालिका, ४० नगरपालिका र ८८ गाउँपालिका रहेका छन् । प्रदेश नम्वर १ वाट २६ लाख ७४ हजार ५ सय ६३ मतदाता निर्वाचनमा सहभागी हुनेछन् । त्यस्तै प्रदेश नम्वर ५ मा चार उपमहानगरापलिका, ३२ नगरपालिका र ७३ गाउँपालिकाका २४लाख ५४ हजार ४ सय ८८ मतदानमा सहभागी हुनेछन् ।
त्यसैगरी प्रदेश ७ अन्तर्गत १ उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिकाका १३ लाख ३ हजार सात सय १४ मतदाता निर्वाचनमा सहभागिता जनाउने निर्वाचन आयोगले जनाएको छ ।
यता झापामा १५ वटा स्थानीय तहमा २८३ मतदानस्थल तथा ६३७ मतदान केन्द्र रहेका छन् । झापामा ८ नगरपालिका र ७ गाउँपालिकाका ५ लाख १० हजार २ सय १६ मतदाताले मतदानमा भाग लिने मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेले जानकारी दिए । उनका अनुसार निर्वाचनबाट ६८५ जना प्रतिनिधि चयन हुनेछन् ।
यसैबीच जिल्लाका विभिन्न स्थानमा मतपेटिका तथा कर्मचारी, सुरक्षा व्यवस्था लगायतका सबै तयारी पूरा भएको झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले बताएका छन् । झापामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ ।
झापामा वडा सदस्यको हकमा ४० प्रतिशत महिलाको सहभागिता हुने निश्चित भएको छ भने प्रमुख तथा उपप्रमुखमा पनि यसपटक महिलाको सहभागिता बढेको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए । उनका अनुसार आज हुने मतदानका लागि वर्षा भएमा पनि सुरक्षित तरिकाले मतदान सम्पन्न गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै बिहान ७ बजेबाट शुरु भएपछि साँझ ५ बजेसम्म हुने मतदानमा र त्यसपछि हुने मतगणनालाई ब्यवस्थित गर्न सबै स्थानमा कम्प्युटर प्रविधिको जडान गरेर सूचना प्रविधिलाई समेत व्यवस्थित गरिएको पाण्डेले बताए । उनका अनुसार ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गहरुले मतदान गर्न लाइन बस्नु नपर्ने उल्लेख गरेका छन् ।
यसैबीच स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालय झापालाई ३ करोड ७० लाख ४० हजार ६३ रुपैयाँ बजेट निकासा भएको निर्वाचन कार्यालयका लेखापाल देवीचरण भण्डारीले जानकारी दिए । उक्त रकम मतदान शिक्षा, मतदान अधिकृतलाई तालिम, विभिन्न गोष्ठी, स्वयम्सेवक तालिम, कम्प्युटर अपरेटरलाई प्रशिक्षण लगायत निर्वाचनको अध्यावधिकदेखि निर्वाचन सम्पन्न भएसम्मका लागि प्रयोग गरिने बताइएको छ ।
झापामा निर्वाचन सम्पन्न गर्न ३ हजार ७ सय कर्मचारी परिचालित भएको मुख्य निर्वाचन अधिकृत पाण्डले बताए । उनका अनुसार एक मतदान केन्द्र बराबर ६ देखि ७ जनासम्म कर्मचारी खटाइएको छ ।
जिल्लाका दुई सय ६३ मतदान स्थललाई तीन किसिमले वर्गाीकरण गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । उनले ४८ मतदान केन्द्र अतिसंवेदनशील, ९६ संवेदनशील र ११९ सामान्य रहेको बताए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीन घेरामा परिचालित हुने छन् । उनले नेपाल भारतको ११८ किलोमिटर सीमा क्षेत्र शिल गरिएको र झापामा सुरक्षा व्यवस्था पनि बलियो बनाइएकाले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अनुरोध गरेका छन् । उनले अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिकका लागि सम्बन्धित मतदान केन्द्रका निर्वाचन अधिकृतको सिफारिसमा मतदान केन्द्रसम्म पुग्ने गरी सवारी सञ्चालनको व्यवस्था गरिएको जानकारी दिए । उनले शारीरिक अशक्तता भएकाहरुले लाइनमा बस्नु नपर्ने बताएका छन् ।
त्यस्तै झापासहित इलाम, पाँचथर र ताप्लेजुङमा सुरक्षा व्यवस्था बलियो बनाइएको अञ्चल प्रहरी कार्यालय मेचीका वरिष्ठ प्रहरी उपरीक्षक पिताम्वर अधिकारीले बताए ।
उनका अनुसार निर्वाचन बिरोधी छिटफुट घटना भएपनि आज हुने मतदानमा मतदाताले निर्भिकता पूर्वक सहभागिता जनाउन सक्नेछन् । उनले मेची अञ्चलमा निर्वाचन बिरोधी गतिविधि गर्ने २४ जनालाई पक्राउ गरी सार्वजनिक ऐन अन्तर्गत मुद्दा चलाइएको र त्यस्ता समूहको विषयमा प्रहरीले निगरानी बढाएकाले मतदानमा कुनै अवरोध नआउने दावी गरेका छन् ।
बर्षात्मा विशेष तयारी
नेपालमा मनसुन शुरु भइसकेकोले पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै झापा जिल्लामा खटिएका मतदान अधिकृतहरुले छुट्टै व्यवस्थापन गरेको पाइएको छ । पानी परेमा मतदाताले गरेको मतदान नै रद्द हुने सक्ने भन्दै पूर्व तयारी स्वरुप कतै पण्डाल, कतै त्रिपाल लगाएको भेटिएको छ । लाइनमा लाग्ने मतदाताको हकमा कुनै व्यवस्थापन नभएको देखिन्छ । पानी पर्न सक्ने मौसमलाई हेरेर नै सुरिक्षत मतदान गराउने उद्देश्यले नै तयारी भइरहेको भद्रपुरका मतदान अधिकृतहरुको भनाइ छ ।
झापाका १५ वटै स्थानीयबाट ६ सय ८५ जनप्रतिनिधि निर्वाचित हुनुपर्नेमा, झण्डै पाँच गुणा बढी ३ हजार ३ सय ४० जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा ७५ प्रतिशत मतदाता परिचयपत्र लगिसकेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर