Aamsanchar

दोस्रो चरणमा ७०.५% मतदान, झापामा ७३.७%

Author Image
बिहिवार, असार १५, २०७४

बिर्तामोड । दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ मा बुधवार सम्पन्न निर्वाचनमा ७०.५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
तीन प्रदेशका ३ सय ३४ गाउँपालिका तथा नगरपालिकाको नेतृत्व चयनका लागि बुधवार मतदान सकिए लगत्तै आयोग मुख्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दोस्रो चरणमा पनि उत्साहजनक मतदान भएको बताए । उनका अनुसार कम्तीमा ७०.५ प्रतिशत मतदान भएको छ । मत प्रतिशत अझै बढ्न सक्ने उनले बताएका छन् । प्रमुख निर्वाचन आयुक्त यादवका अनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मतदान भएको छ ।
३५ जिल्लामा ६४ लाख ३२ हजार सात सय ६५ले मतदानमा भाग लिन पाउने भए पनि ७० प्रतिशत भन्दाबढी मतदाता मतदानमा सहभागी भएको यादवको भनाइ छ । बर्षाका कारण विहानको समयमा केही स्थानमा मतदान ढिला भए पनि दिउँसो मौसममा आएको सुधारपछि तीनवटै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख आयुक्त यादवको भनाइ छ ।
यता झापाका १५ स्थानीय तहमा बुधवार शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा ७३.७प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । ५ लाख १० हजार २ सय १६ मतदाता रहेको झापामा ३ लाख ७२ हजार ४ सय ८० मत खसेको प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जानकारी दिए ।
झापामा सबैभन्दा बढी मतदाता रहेको मेचीनगरमा ५३ हजार सात सय ८२ मत खसेको त्यहाँकी निर्वाचन अधिकृत इन्दिरा शर्माले जानकारी दिएकी छिन् । मेचीनगरमा ७२ हजार सात सय ९४ मतदाता रहेका छन् । त्यस्तै दमक नगरपालिकामा ८६ हजार ५ सय २३ मतदाता रहेकोमा ७० प्रतिशत मत खसेको निर्वाचन अधिकृत वेदराज फुयाँलले जानकारी दिए । यता बिर्तामोड नगरपालिकामा ४१ हजार २५ मतदाता रहेकोमा कति प्रतिशत मत खस्यो भनेर निर्वाचन अधिकृत भोजराज श्रेष्ठलाई पटक–पटक सम्पर्क गर्दा उनले खसेको मतको विषयमा बताउन चाहेनन् । उनीसँग पूर्वाञ्चल दैनिकबाट ९८५२६७३२२२ नम्बरमा फोन सम्पर्क गर्दा व्यस्त छु भन्दै पटक–पटक टेलीफोन काटिरहे । उनको अर्को मोवाइल नम्बर ९८४१५५८७३६ नम्बरको फोन उठाए पनि कति प्रतिशत मत खस्यो भन्ने प्रश्न गर्नासाथ फोन काटे ।
त्यसैगरी कनकाई नगरपालिकामा २५ हजार सात सय २२ मतदाता रहेकोमा निर्वाचन अधिकृत रोशनकुमार भट्टराईको मोवाइल नं. ९८५२६८१११४८ नम्बरमा पटक–पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
त्यस्तै अर्जुनधारा नगरपालिकामा ४० हजार ४ सय ३० मतदाता रहेकोमा ७०प्रतिशत भन्दा माथि मतदाताले मतदानमा सहभागिता जनाएको निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले बताए । उता भद्रपुर नगरपालिकामा ४२ हजार ९७ मतदाता रहेकोमा ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए । त्यस्तै गौरादह नगरपालिकामा ३५ हजार ८ सय ८८ मतदाता रहेकोमा ७१.७२ प्रतिशत मत खसेको गौरादह नगरपालिकाका निर्वाचन अधिकृत शकुन्तला कार्कीले जानकारी दिइन् । त्यस्तै शिवसताक्षी नगरपालिकामा ४४ हजार ४२ मतदाता रहेका छन् । उक्त नगरपालिकामा ७० प्रतिशत मत खसेको निर्वाचन अधिकृत पंकज भुर्तेलले जानकारी दिए ।
त्यस्तै सात वटा गाउँपालिका अन्तर्गत बुद्धशान्ति गाउँपालिकामा २६ हजार ७ सय १६ मतदाता रहेकोमा ७४ प्रतिशत मत खसेको बुद्धशान्ति गाउँपालिकाका निर्वाचन अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिए । त्यस्तै हल्दिवारी गाउँपालिकामा १८ हजार ८ सय ९२ मतदाता रहेकोमा ७४.८७ प्रतिशत मत खसेको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए ।
उता कचनकवल गाउँपालिकामा २५ हजार ७ सय ४९ मतदाता रहेकोमा ७५ प्रतिशत मत खसेको देवीबहादुर भण्डारीले बताए । मतगणना बुधवार रातिबाटै शुरु हुने उनले बताए । यता कमल गाउँपालिकामा २९ हजार ४ सय २ मतदाता रहेकोमा ७० प्रतिशत मत खसेको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेलले बताए । त्यस्तै गौरीगञ्ज गाउँपालिकामा २० हजार ४ सय १ मतदाता रहेका छन् । उक्त गाउँपालिकामा ७६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिए । त्यस्तै झापा गाउँपालिकामा १९ हजार ५ सय ४८ मतदाता रहेका छन् । उक्त गाउँपालिकामा ७५ प्रतिशत मत खसेको निर्वाचन अधिकृत रोशनकुमार घिमिरेले जानकारी दिए । बाह्रदशी गाउँपालिकामा २१ हजार ७ मतदाता रहेका छन् । उक्त गाउँपालिकामा ७५ प्रतिशत मत खसेको निर्वाचन अधिकृत बाबुराम राईले बताए । अधिकांश स्थानमा बुधवार रातिबाटै मतगणना शुरु हुने र राति मतगणना शुरु नभएका स्थानमा विहीवार विहान सर्वदलीय बैठक बसी दलीय सहमतिमा मतगणना शुरु हुने निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर