Aamsanchar

यान्त्रीकरणले तान्दैछ पहाडे कृषकको ध्यान

Author Image
आइतवार, असार २५, २०७४

तेह्रथुम ।

कृषि क्षेत्रमा आधुनिकीकरण गरेर मनग्य आम्दानी लिन सकिने भएपछि पहाडी जिल्ला तेह्रथुमका किसानको ध्यान यान्त्रीकरणतर्फ तानिएको छ । किसानले जनशक्ति अभावको समस्या टार्न तथा थोरै लगानीमै धेरै आम्दानी गर्न खनजोतका लागि हाते ट्र्याक्टरको प्रयोग गर्न थालेका हुन् ।

खेती गर्न गोरु पाल्नैपर्ने बाध्यताबाट टाढा रहन किसानले ट्र्याक्टरलगायत उपकरणको प्रयोग बढाएका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो । कार्यालयको कृषि यान्त्रीकरणका लागि हुने अनुदान कार्यक्रमबाट मात्रै पनि धेरै कृषकले हाते ट्र्याक्टरको प्रयोग गरिरहेका छन् ।

चालु आवमा मात्रै जिल्ला कृषि विकास कार्यालयले २२ वटा हाते ट्र्याक्टर वितरण गरेको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले जानकारी दिनुभयो । अन्य केही कृषकले कार्यालयको अनुदानबिनै पनि आधुनिक औजार प्रयोग गर्न थालेका छन् । उनीहरूले पनि आफ्नै लगानीमासमेत हाते ट्र्याक्टर खरिद गरी प्रयोग गरिरहेका छन् ।

कार्यालयले हाते ट्र्याक्टरका लागि कृषक समूह, कृषि सहकारी संस्था र किसानबाट आएको निवेदनका आधारमा कृषक छनोट गरी वितरण गर्ने गरेको छ । यस वर्ष कृषि यान्त्रीकरणतर्फ किसानलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा कृषि प्रसार कार्यक्रमबाट १५ वटा, मध्यपहाडी क्षेत्र बृहत्तर मकै उत्पादन कार्यक्रमबाट छवटा र सिञ्चित क्षेत्र कृषि आयोजना कार्यक्रममार्फत एउटा गरी जम्मा २२ वटा हाते ट्र्याक्टर वितरण गरिएको कार्यालयले जनाएको छ ।

किसानले हाते ट्र्याक्टर आधुनिक खेतीका लागि उपयोगी हुने बुझे पछि प्रयोग ह्वात्तै बढेर गएको प्राविधिक सहायक हरिगोपाल आचार्यले बताउनुभयो ।

पहाडी क्षेत्रको भिरालो जमिनमा पनि प्रविधिको समुचित प्रयोग गर्न सके मनग्य आम्दानी गर्न सकिने उहाँको भनाइ छ । जिल्लाभर कृषि मजदुर अभाव भइरहेको समयमा हाते ट्र्याक्टरमार्फत खेती बाली लगाउन किसानलाई राहत मिलेको उहाँले बताउनुभयो ।

कृषिको आधुनिकीकरण गरी युवा पुस्ताको आकर्षण गर्न सके बाँझिएका खेतबारीसमेत प्रयोगमा ल्याई उत्पादनशील बनाउन सकिने सरोकारवालाहरू बताउँछन् । तर युवा पुस्तालाई कृषिमा आकर्षण गर्ने सरकारी कार्यक्रम ल्याउन नसक्दा आकर्षणभन्दा बढी वितृष्णा भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर