[सुरेन्द्र भण्डारी]
बिर्तामोड।
झापा गाउँपालिका –६ निवासी पुण्यप्रसाद पौडेलले भारतको दिघलबैंक बजारमा दूध बेचेको १६ वर्ष भयो । उनी दैनिक एक सय ५० लिटर दूध बिक्री गर्छन् ।
नेपालमा भन्दा भारतीय बजारमा दूधको मूल्य बढी पाइने भएपछि उनले भारतीय बजारमा दूध बेच्ने गरेको बताए । झापाका विभिन्न बजारमा दूधको मूल्यमा एकरुपता छैन उनले भने– ‘हामी कृषकको घरबाट ४० रुपैयाँ लिटरले दूध खरिद गर्छाैं, दूध डेरीलाई ३८÷३९ रुपैयाँले दिनुपर्छ । त्यही दूध उनीहरु ५५ रुपैयाँमा प्रतिलिटर बेच्छन् । अनि कसरी गर्नु घाटाको व्यापार ।’
कनकाई नगरपालिकाको सुरुङ्गामा रहेको अमृत दूग्ध विकास संस्थामा काम गर्दागर्दै जागिर छाडेर दूध बेच्न थालेका उनले अहिले भारतीय बजारमा प्रतिलिटर ३० देखि ३५ रुपैयाँसम्म भारतीय रुपैयाँमा दूध बिक्री गर्छन् । नेपाली बजारमा भन्दा राम्रो मूल्य पाएपछि शरणामति भन्दा दक्षिण क्षेत्रको दूध संकलन गरेर भारती बजार लाने गरेको उनले बताए । भारतीय बजार दिघलबैंकमा दूध बेचेर नेपाल फर्कदै गर्दा १३४ नम्वर पिलर नजिकै दशगजा क्षेत्रमा भेटिएका उनले भने– ‘आफूलाई दुई पैंसा हुने भएपछि कृषकलाई पनि दुई पैसा बढी दिने गरेको छु ।’
दूध बेचेर दक्षिण क्षेत्रमा ‘दूधवाला’ नामले परिचित उनको आर्थिक अवस्था बिस्तारै सुध्रदै गएको छ । दूध बेचेरै परिवारको पालनपोषण र छोराछोरीको पढाइ खर्च जुटाउने गरेको छु –उनले भने । प्रतिलिटर सात रुपैयाँसम्म मुनाफा हुनेभएपछि यहाँका कृषकले उत्पादन गरेको दूध सोझैं भारतीय बजारमा लैजान्छन् पौडेलले भने – ‘नभ्याउनेले मात्रै मलाई दिन्छन् ।’ उनीमात्र होइन भारतसँग सीमा जोडिएका घेराबारी, शरणामती, कुमरखोद, केचना, बनियानी लगायतका स्थानका कृषकले पनि नेपालमा उत्पादित दूध भारतीय बजारमा बेच्ने गरेका छन् । अधिकांश कृषक आफैं दूध बेच्न भारतीय बजार जाने गरेका छन् भने केहीले दूध संकलन मार्फत भारतीय बजारमा दूध बेच्ने गरेका छन् ।
पछिल्लो समय नेपाल सरकारले पशुपालक कृषकका लागि अनुदान दिन शुरु गरेपछि झापामा पशुपालक कृषकको संख्या बढेसँगै दूध उत्पादनमा समेत वृद्धि भएको छ । दूध उत्पादनका लागि आत्मनिर्भर बनेको झापामा एक वर्षमा चार अर्ब ५० करोड बराबरको दूध उत्पादन जिल्ला पशु सेवा कार्यालय झापाको तथ्यांकमा उल्लेख छ ।
गत आर्थिक वर्ष २०७२÷०७३ मा झापामा दुई हजार तीनसय मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकारी कुमारसिंह खत्रीले बताए । जिल्लामा उत्पादन भएको दूधमध्ये ८० प्रतिशत आन्तरिक खपत र २० प्रतिशत भारतको शिलगडी लगायतका ठूला बजारसम्म पुग्छ –उनले भने । जिल्लामा पाँच हजार लिटरभन्दा बढी दूध खपत गर्दै आएका एनएमसी डेरी र ऋतिका डेरी सञ्चालनमा आएपछि दूग्ध उत्पादनमा लागेका कृषक झनैं लाभान्वित भएका छन् । जिल्लामा नश्ल सुधारका लागि १२ वटा सामुदायिक प्रजनन् केन्द्र, १७ वटा सेवा केन्द्र र निजी क्षेत्रले समेत काम गरिरहेको बताइएको छ ।