Aamsanchar

विद्युत्को गडबडीले रोपाइँ हुन सकेन

Author Image
आइतवार, साउन ८, २०७४

दमक।

झापाको दमक र आसापासको क्षेत्रमा केही दिनदेखि विद्युत्मा समस्या आएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहितको टोलीले विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेको छ ।
खडेरी लागेर किसानहरु हैरान भएको समयमा लोडसेडिङ तथा कम भोल्टेजले दमक नगरपालिकासहित झापामा रोपाइँ हुन सकेको छैन । दमकसहित झापामा ३७ डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेको र साउनको पहिलो साता बित्दा समेत आधामात्र रोपाइँ भएको बताउँदै समस्या समाधानका लागि आग्रह गरिएको ओलीले बताए । एमाले नेता अग्नी खरेल, सांसद दीपक कार्की लगायतको टोलीले घिसिङको ध्यानाकर्षण गराएको हो ।
अघोषित रुपमा प्राधिकरणले १५ घण्टासम्म लोडसेडिङ गरेको र बत्ती आउँदा समेत कम भोल्टेज तथा बिजुली धिपिकधिपिक बल्ने गरेको र सिँचाइका लागि गाडिएका मोटरहरु बिग्रिएको भन्दै उपभोक्ताहरु आक्रोशित बनेका छन् । ओलीका अनुसार घिसिङले आफूहरुलाई केही दिनभित्रै समस्या सामधान गर्ने आश्वासन दिएको बताए ।
यहाँको ट्रान्सफर्मर बिग्रेका कारण वैकल्पिक कम क्षमताको ट्रान्सफर्मर प्रयोग गर्दा यस्तो समस्या उत्पन्न भएको पाइएको जनाउँदै तत्काल नयाँ ट्रान्सफर्मरका ब्यवस्था मिलाउने कामको शुरुवात भएको उनको भनाइ रहेको छ । उनले भने– ‘तत्काल नयाँ ट्रान्सफर्मर पठाएर समस्या समाधान गर्ने प्रतिबद्धता आएको छ ।’
विद्युत्को गडबडीका कारण रोपिएको धान पनि डढेर सखाप हुन थालेको र ब्याडको बीऊ पनि काम नलाग्ने भएको किसानहरुले गुनासो गरेका छन् ।
मोटरबाट भए पनि रोपाइँ गर्ने सोच बनाएका किसानहरु बिजुली आउने र रातको समयमा भोल्टेज बढी आउने आशामा रातभर जागै बस्न थालेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर