Aamsanchar

झापामा डेढ करोड केजी तयारी चिया उत्पादन

Author Image
मङ्गलवार, साउन १०, २०७४

बिर्तामोड।

नेपालमा प्रत्येक वर्ष चिया उत्पादनमा वृद्धि हुँदै गएको छ ।राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार आर्थिक झापामा मात्रै कूल ११ हजार ४ सय ४३ हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ । जसमा आर्थिक वर्ष २०७३÷०७४मा एक करोड ४८ लाख ६२ हजार ४ सय ३२ केजी तयारी चिया उत्पादन भएको छ ।
झापामा तीन हजार ६ सय ९५ हेक्टर क्षेत्रफलमा दुई हजार ९ सय २७ जना साना चिया कृषकले चिया खेती गरिरहेका छन् । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०÷०७१मा दुई करोड १० लाख ७६ हजार ३ सय ६६ केजी तयारी चिया उत्पादन भएकोमा आर्थिक वर्ष २०७१÷०७२मा दुई करोड ३१ लाख ८६ हजार सात सय २६ केजी तयारी चिया उत्पादन भएको छ । चिया खेतीतर्फ किसान आकर्षित भएसँगै चिया उत्पादनमा वृद्धि भएको हो ।

नेपालमा उत्पादित सीटीसी चिया प्रतिकेजी एक सय ५० रुपैयाँका दरले विक्री हुने गरेको छ भने अर्थाेडक्स चिया प्रतिकेजी तीन सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । कार्यालयले सोमवार सार्वजनिक सुनुवाई गर्दै पूर्वमा विस्तारै चिया खेती फस्टाउँदै गएको र उद्योग स्थापना हुने क्रम पनि बढेर गएको जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाका वाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मीनवहादुर अगुवाले गरेका थिए ।

नेपाल चिया तथा कफी विकास वोर्डका निमित्त कार्यालय प्रमुख केन्द्र वहादुर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै चिया खेतीको अवस्थाको विषयमा कार्यालयका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन नवीन कोइरालाले गरेको कार्यक्रममा जिल्लाका साना चिया कृषककको सहभागिता रहेको थियो ।

कृषक विषादिरहीत चिया उत्पादन गर्दै

नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बनेसँगै झापाली साना चिया किसान विषादिरहीत चिया उत्पादनमा जुटेका छन् । केही वर्ष अघिसम्म अधिकतम् विषादि प्रयोग गर्दै चिया उत्पादन गर्ने यहाँका कृषक अहिले अग्र्यानिक चिया उत्पादनमा जुटेका हुन् ।

अग्र्यानिक चियाले अन्तर्राष्ट्रिय बजारमा सजिलै प्रतिष्पर्धा गर्न सक्ने भएकाले झापाली चिया कृषकले विषादिरहीत चिया उत्पादन शुरु गरेको बताउँछन्– राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारी । उनका अनुसार पूर्वी नेपालको इलाम, पाँचथर अग्र्यानिक चिया उत्पादन क्षेत्रका रुपमा चिनिन थालेपछि झापाका कृषकले पनि अग्र्यानिक चिया उत्पादनमा जोड दिएका छन् ।
भारतीय चियाको तुलनामा नेपालमा उत्पादित चिया सस्तो हुने भएकोले यहाँको चिया भारत जाने र भारतबाट तेस्रो मुलुक निर्यात हुने गरेको अधिकारीको भनाइ छ । नेपालमा उत्पादित चियाले ट्रेडमार्क नपाएका कारण भारतीय व्यापारीले नेपालमा उत्पादित चिया भारत लाने गरेको र भारतीय व्राण्डमा नेपाली चिया विक्री गर्ने गरेको चिया किसानको भनाइ छ ।
नेपाली तयारी चिया भारतको मण्डी हुँदै तेस्रो देशहरूमा निर्यात हुने गरेको छ । नेपालको अग्र्यानिक चिया अहिले जर्मनी, अमेरिका, क्यानडा, जापान, चीन लगायतका मुलुकमा निकासी हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास वोर्डले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा कृषि विकास अधिकृत अधिकारीले जानकारी दिए ।
चिया किसान धमाधम कारखाना खोल्दै
झापाका साना चिया किसान धमाधम चिया कारखाना खोल्न जुटेका छन् । उनीहरु सरकारको ५० प्रतिशत अनुदान लिएर आफैं कारखाना खोल्न जुटेका हुन् । चिया उद्योगीसँग सँधै हरियो चियापत्तीको उचित मूल्य नपाएको भन्दै आन्दोलन गर्ने किसानले आफ्नै पहलमा चिया कारखाना शुरु गरेपछि झापामा लामो समयदेखि चिया उद्योगी र चिया किसानको विवाद केही मत्थर भएको छ ।
२०६८ सालमा पहिलोपटक पृथ्वीनगरका साना चिया कृषकले सात करोड ३५ लाख रुपैयाँको लागतमा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएका थिए । तीन वर्ष लगाएर सञ्चालनमा ल्याएको कारखानाको दैनिक १५ हजार केजी हरियोपत्ती प्रशोधन गर्ने क्षमता भए पनि हाल दैनिक पाँच हजार केजी प्रशोधन हुँदै आएको बताइएको छ । चिया कारखानाका लागि नेपाल सरकारले तीन करोड १० लाख रुपैयाँ अनुदान दिएपछि त्यहाँका कृषकले आफ्नै पहलमा चिया उद्योग स्थापना गरेका थिए ।
योसँगै झापामा ३० वटाभन्दा बढी चिया प्रशोधन कारखाना रहेका छन् । जसमध्ये केही सहकारीको माध्यमबाट सञ्चालनमा ल्याइएको छ । साना चिया किसानले सहकारीमार्फत हल्दिवारी र बाहुनडाँगीमा समेत चिया कारखाना निर्माण गरिरहेका छन् भने पाराखोपी साना किसान चिया सहकारी संस्थाले पनि कारखाना स्थापना गरिरहेको छ ।
वानस्पतिक विषादि, जीवाणुमा आधारित विषादि तथा नवीनतम् वाली संरक्षणको प्रविधि अपनाएर यहाँका कृषकले चिया खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाका वाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताए । कृषकले खेती गर्न शुरु गरेसँगै प्रत्येक वर्ष रासायनिक विषादिको प्रयोग घट्दै गएको छ ।

पछिल्लो समय झापामा कृषक र सरकारीस्तरबाटै अग्र्यानिक उत्पादनका लागि जोड दिँदै आइपीएम (एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति) प्रविधिबाट झापाली कृषकले चिया तथा तरकारी खेती गर्न थालेपछि विषादिको प्रयोग घटेको जिल्ला कृषि विकास कार्यालय झापाका वाली संरक्षण अधिकृत खरेलले बताए । कृषकले विषादिको सट्टा जैविक तथा वनस्पति विषादि प्रयोग गर्दै उत्पादन गर्ने गरेका कारण विषादिको आयात समेत घटेको खरेलको भनाइ छ ।

तत्कालीन महेशपुरको पराजुली टी इस्टेट, जलथल–४ र हल्दिवारी–३मा आइपीएम प्रविधिबाट चिया खेती गर्न तालिम प्रदान गरेसँगै धेरैजसो यहाँका चिया कृषकले रासायनिक विषादि प्रयोग गर्न छाडेका छन् । चियामा अग्र्यानिक प्रमाणीकरणका लागि सरकारले समेत ५० प्रतिशत रकम अनुदान दिने भनेपछि सुरेन्द्रनगर सानाकिसान चिया सहकारी संस्था बाहुनडाँगी, तारखी साना किसान सहकारी संस्था आँपडाँगी र पथरीयामा रहेको चिया बगानले अग्र्यानिक चिया खेती गरिहेको बताइएको छ ।
बाहुनडा“गीमा पनि चिया कारखाना सञ्चालनमा आउ“दै
आठ करोड भन्दा बढीको लागतमा झापाको बाहुनडाँगीमा चिया प्रशोधन कारखाना सञ्चालनमा आउन लागेको छ । सरकारको ५० प्रतिशत अनुदान र अन्य रकम किसान आफैंले व्यहोरेर चिया कारखाना सञ्चालनमा ल्याउन लागिएको सक्षम निरौलाले बताए । उनका अनुसार सरकारबाट चार किस्तामा रकम निकासा भइसकेको र सो रकमले चिया कारखाना निर्माण गरिएको छ । पहिलो किस्तामा सरकारले एक करोड ९५ लाख, दोस्रो किस्तामा २३ लाख, तेस्रो किस्तामा ७५ लाख र चौथो किस्तामा ६४ लाख रुपैयाँ प्रदान गरेको छ ।
त्यहाँका कृषकले कात्तिकबाट चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याउने बताइएको छ । शुभचिया किसान सहकारी संस्थामार्फत कृषकले आफ्नै पहलमा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याउन लागेका हुन् । चिया कारखाना सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा एक हजार भन्दा बढी कृषक लाभान्वित हुने भएका छन् ।

२०६४ सालमा स्थापना भएको सहकारीले सञ्चालनमा ल्याउन लागेको चिया प्रशोधन कारखानाले दैनिक पाँच हजार केजी तयारी चिया उत्पादन गर्ने र वार्षिक एक करोड रुपैयाँ नाफा गर्ने लक्ष्य राखिएको सहकारीका निरौलाले बताए ।
‘विषादि नहाल्दा उत्पादन घटेन’
भद्रपुर नगरपालिका–१ पृथ्वीनगरका साना चिया कृषक वालकृष्ण गिरीले चिया खेती गरेको लामो समय भएको छ । उनले दुई विगाह १० कठ्ठा जमिनमा चिया खेती गरिरहेका छन् ।

एक विगाह जमिनमा उनले शुरुदेखि नै अग्र्यानिक चिया खेती गरिरहेका छन् । बाँकी एक विगाह १० कठ्ठा जमिनमा उनले विषादि कम मात्रै प्रयोग गरेर चिया खेती गरिरहेका छन् । अज्ञानताका कारण शुरु–शुरुमा विषादि प्रयोग गरेर चिया खेती गर्दै आए पनि विषादि प्रयोग गर्दा शरीर पोल्न थालेपछि उनले विषादिको प्रयोग घटाउन थालेको बताए ।

चियामा विषादिको मात्रा घटाउँदै जाँदा पनि उत्पादन नघटेपछि महिनामा दुई प्रटक प्रयोग गर्दै आएको विषादि वर्षमा दुईपटक मात्रै प्रयोग गर्न थालेको उनले बताए । जैविक बनस्पति विषादि प्रयोग गरेर पनि रोग तथा किरा नियन्त्रण गर्न सकिने भएपछि उनले जैविक बनस्पति विषादि प्रयोग गरेर चिया खेती गरेका हुन् । कम खर्चमा नै जैविक बनस्पति विषादि तयार गर्न सकिने भएपछि उनी अहिले पूर्ण रुपमा अग्र्यानिक चिया उत्पादनमा जुटेका छन् ।
साना किसान कृषि सहकारी संस्थामा आवद्ध उनी मात्र होइन त्यस क्षेत्रका अधिकांश कृषकले अग्र्यानिक चिया खेती गरिरहेको गिरीको भनाइ छ । जिल्ला कृषि विकास कार्यालय झापा, कारितास नेपाल र सहारा नेपालले आइपीएम पाठशाला सञ्चालन गरेपछि त्यस क्षेत्रका कृषकले अग्र्यानिक चिया उत्पादन गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर