बिर्तामोड।
पूर्वकै प्रमुख कृषि उपज बजारको रुपमा रहेको झापाको बिर्तामोडस्थित कृषि थोक बजार ब्यवस्थित हुन नसक्दा दुर्गन्धित बन्दै गएको छ ।आमसञ्चार डट.कम.को टोली सोमबार कृषि थोक बजार पुग्दा कुहिएका तरकारीहरु यत्रतत्र फ्याँकिएको थियो ।
बजार दुर्गन्धित भएकाले नाक थुनेर हिँड्नु पर्ने बाध्यतामा रहेको बिर्तामोडका श्याम दाहालले बताए । मेची अञ्चलकै प्रमुख कृषि उपजको थोक व्यापारिक केन्द्र कृषि उपज बजारमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ लगायत भारतबाट समेत तरकारी आयात भएर बिक्री हुने गरेको कृषि उपज बजारले जनाएको छ ।
दैनिक तरकारी, माछा, मासु गरेर ७५० मेट्रिकटन वस्तुहरु आयात तथा निर्यात हुने गरेको कृषि उपजबजार तथ्याङ्क शाखाकी माया राजवंशीले जानकारी दिइन् । उनका अनुसार यहाँ गाउँ–गाउँबाट आएका तरकारी खरिद बिक्री हुने गरेको छ । तीन विगाह १९ कठ्ठा क्षेत्रफलमा फैलिएको कृषि उपज बजारको फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धित भएको छ ।

जसका कारण सरुवा रोग फैलने खतराले सर्वसाधारणमा त्रास छाएको छ । छिट्टै सड्ने तरकारी कुहिएर बसिनसक्नुभएको स्थानीयको भनाइ छ । पछिल्लो समय विभिन्न रोगहरुको संक्रमण बढिरहेका बेला सरुवा रोग फैलन सक्ने सम्भावना बढ्ने भन्दै चिकित्सकहरुले तत्काल यो विषयमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
बिर्तामोडस्थित कृषि उपज बजारमा ल्याइएको तरकारीमा विषादि नाप्ने मेसिन कार्यविधिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला कृषि विकास कार्यालय झापाका अधिकृत राजेन्द्र खरेलले जानकारी दिए । उनले भने– कार्यविधि आइनसकेकाले फिल्डमा निस्केर विषादि जाँच्न पाएका छैनौं । उनले फोहार व्यवस्थापनका लागि बजार ब्यवस्थापनले ध्यान दिनुपर्ने बताए । कृषि उपज बजार दुर्गन्धित रहेको स्वीकार गर्दै अधिकृत खरेलले त्यो विषय आफूहरुको कार्यक्षेत्रभित्र नपर्ने बताए ।
विर्तामोडमा केही दिन अघि मात्रै दुई जनाको स्वाइनफ्लूका कारण मृत्यु भएपछि मानिसमा त्रास सृजना भइरहेका बेला फोहोर व्यवस्थापनमा सम्बन्धित निकायले चासो नदिए कृषि उपज बजार महामारीको स्रोत बन्न सक्ने चिकित्सकहरुले बताएका छन् ।



