Aamsanchar

तरकारी खेतीबाट मनग्य आम्दानी

Author Image
बुधवार, साउन ३२, २०७४

बागलुङ ।

शिक्षण पेशा छोडेको दस वर्षपछि गुमानसिंह खत्रीको परिचय एक सफल किसानका रुपमा बदलिएको छ । मेहनत र कामप्रतिको लगावले गलकोट नगरपालिका– ३ हटियाका ४१ वर्षीय खत्रीलाई नसोचेको सफलता मिलेको छ । विसं २०६३ मा रु एक लाखको लगानीमा व्यावसायिक तरकारीखेती सुरु गर्नुभएका खत्रीको लगानी अहिले रु २० लाखभन्दा बढी पुगेको छ ।

चार रोपनीमा सीमित गलकोट नगरपालिका–६ स्थित ‘जामुने कृषि फर्म’ अहिले १५ रोपनीमा विस्तार भएको छ । “सात वर्ष प्राथमिक विद्यालयमा अस्थायी शिक्षकका रुपमा काम गरेँ,” खत्रीले भन्नुभयो ‘पछि व्यावसायिक कृषिमा लाग्ने सोच आयो ।”

खत्रीले वार्षिक रु एक लाखमा जग्गा भाडामा लिई तरकारीखेती गर्दै आउनुभएको छ । “उत्पादनबाट सन्तुष्ट छु, बजारको समस्या छैन्,” खत्रीले भन्नुभयो “खर्च कटाएर वार्षिक रु चार लाखसम्म आम्दानी हुन्छ ।” उहाँको फर्ममा दुई जनालाई रोजगारी समेत मिलेको छ ।

हटियामै ‘एग्रोभेट’ पसलसमेत सञ्चालन गर्नुभएका खत्री उदाहरणीय किसानको रुपमा जिल्लाभर परिचित हुनुहुन्छ । खत्रीले तरकारीखेती सुरु गर्दा गलकोटमा गोलभेँडा खेती गर्ने कमै थिए । भैरहवा, नारायणगढलगायत ठाउँबाट आएको महँगो गोलभेँडा खरिद गर्न उपभोक्ता बाध्य थिए ।

खत्रीको फर्ममा प्रायः प्लास्टिक घर (टनेल) भित्र तरकारीखेती गरिन्छ । उहाँको फर्मले गत वर्ष कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट रु १० लाख अनुदान समेत पाएको छ । उक्त अनुदान रकमबाट थप चारवटा उच्चस्तरीय प्रविधिको प्लास्टिक घर (टनेल) थपेको खत्रीले बताउनुभयो ।

तरकारीखेती विस्तारका साथै यन्त्र–उपकरण खरिदमा अनुदान रकम प्रयोग भएको उहाँले बताउनुभयो । आयोजनाको अनुदान बाहेक जिल्ला कृषि विकास कार्यालयबाट पनि उहाँले सहयोग पाउँदै आउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर