बिर्तामोड।
नेपाल निजामती कर्मचारी दिवसका अवसरमा भद्रपुरमा आयोजित एक कार्यक्रमकाबीच पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल सम्मानित भएका छन् ।
चार दशकदेखि पत्रकारिताको माध्ययमबाट समाज रुपान्तरणमा निरन्तर र महत्वपूर्ण सेवा गरेको भन्दै संघले ढकाललाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संसदीय व्यवस्था समितिका सभापति एवम् सांसद भीष्मराज आङ्देम्वेले ढकाललाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेका थिए ।
राष्ट्रसेवा निष्पक्षता, तटस्थ्ता र कर्मचारी एकता भन्ने मूल नारासहित स्थापित नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति झापाले ढकालसहित समाजसेवाका लागि एकल महिला सञ्जाल झापा अध्यक्ष तथा चन्द्रगढी खानेपानी तथा सरसफाई संस्थाकी उपाध्यक्ष रेखा अधिकारीलाई सम्मान गरेको थियो ।
संघका झापा अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको अध्यक्षता र नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद भीष्मराज आङ्देम्वेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा छविलाल ओली र गोमा आचार्य लगायत सेवा निवृत्त १२ भन्दा बढी कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
संघका सचिव जीवराज भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापा उपसभापति राम कट्टेल, स्थानीय बिकास अधिकारी खेमराज ओझा, संघका केन्द्रीय सदस्य दीपेन्द्र खत्री, आधिकारिक ट्रेड युनियन झापा अध्यक्ष लक्ष्मीप्रसाद गुरागाँई, संघका उपाध्यक्ष रमला बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।