Aamsanchar

‘इ–अक्सन सञ्चालनको लागि प्रयासरत् छु’

Author Image
आइतवार, भदौ २५, २०७४

दमक।

राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले लामो समयदेखि चियाको क्षेत्रमा देखिएको समस्या समाधानका लागि इ–अक्सन सञ्चालनको प्रयास गरिए पनि त्यो अहिलेसम्म सम्भव नभएको बताएका छन् ।
पूर्वी नेपालका चिया क्षेत्रका समस्या बुझ्न तथा छलफलका लागि झापा आएका कार्यकारी निर्देशक गौतमले पत्रकारहरुसँग यस्तो बताएका हुन् । नेपालको चिया अन्तर्राष्ट्रिय बजारमा जान नसक्नुको कारण बिषादिको प्रयोग भएको भन्दै यसलाई निरुत्साहित गरेर इ–अक्सनमा जाँदा नेपालको चिया विश्वबजारमा जाने उनले बताए ।
चिया क्षेत्रमा देखिएको समस्या समाधानका लागि नीतिगत रुपमा नै अघि बढ्न सरोकारवालाहरुलाई आवश्यक सुझावसहितका प्रतिवेदनहरु तयार पारेर आफूहरुले बुझाएको उनले बताए ।
चिया किसान, चिया उद्योगी र मजदुरका समस्याहरु समाधानका लागि आफूहरुले प्रयास गरिरहेको बताउँदै अक्सन सञ्चालनका लागि अहिले पनि प्रयास जारी रहेको उनको भनाइ छ । क्रेता र बिक्रेता जम्मा भएर चियाको गुणस्तर अनुसार निश्चित मूल्यमा खरिदबिक्रीको सम्झौता गर्ने थलोलाई अक्सन केन्द्र भनिन्छ । अहिले यस्तो अक्सन केन्द्र नहँुदा उद्योगीहरुले मनलाग्दी हरियोपत्तिको मूल्य तोक्ने गरेको चिया किसानहरुको गुनासो रहँदै आएको छ । बारम्बार मूल्यको बिषयमा उद्योगी र चिया किसानबीच तनाव हुँदा चिया क्षेत्र नै अस्तव्यस्त हुने गरेको छ ।
झापाको बिर्तामोडमा अक्सन सेन्टर खोल्नका लागि आवश्यक प्रक्रिया शुरु भए पनि अहिलेसम्म त्यसले पूर्णता पाउन सकेको छैन । गौतमले इ–अक्सन सञ्चालनका लागि आवश्यक सफ्टवेयर र सामग्रीहरु सबै जुटाइसकिएको जानकारी गराए । गौतमले नेपालमा आत्मनिर्भर भएर बिदेशी आर्यात हुने गरेको कृषि उत्पादनमध्ये चिया पनि एक भएको चर्चा गर्दै चिया क्षेत्रको समस्या समाधान भएमा यसबाट धेरै फाइदा लिन सकिने सम्भावना प्रचुर रहेको बताए । अहिले बिषादिरहीत चिया अत्यन्त कम उत्पादन भएको र त्यसले राम्रोसँग अन्तर्राष्ट्रिय बजार पाएको उनले बताए ।
पूर्वी नेपालको इलाममा बार्षिक करिब ५० लाख केजी हरियो चियापत्ति उत्पादन हुने र यसमा करिब ३ लाख केजीमात्र अग्र्यानिक चिया रहेको उनले बताए । अग्र्यानिक चियाको हरियोपत्ति प्रतिकिलो १ सय रुपैयाँ भन्दा बढीमा बिक्ने गरेको तर बिषादि प्रयोग भएको चियापत्तिको मूल्य भने १७देखि २० रुपैयाँ प्रतिकेजी मात्र बिक्ने गरेको बताइन्छ । कार्यकारी निर्देशक गौतमले अग्र्यानिक चिया खेतीका लागि सरकारले सबैभन्दा पहिला अग्र्यानिक मल उत्पादन गर्ने कारखानाहरु खोल्न आवश्यक रहेको बताए ।
अग्र्यानिक मल उत्पादन शुरु भएपछि मात्र बिषादिको प्रयोग र अन्य मलको प्रयोग घट्ने भन्दै यस बिषयमा आफूहरुले सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको गौतमले जनाए । तत्काल बिषादिरहीत रुपमा चिया उत्पादन सम्भव नभए पनि प्रतिबन्धित किसिमका बिषादिहरुलाई रोकेर कमी गर्दै लैजानुपर्ने सुझाव दिए । नेपालको चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनका लागि गुणस्तर सुधार नै पहिलो शर्त भएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर