Aamsanchar

किसान कागतीखेतीतर्फ आकर्षित

Author Image
शुक्रवार, भदौ ३०, २०७४

झापा।

मनग्य आम्दानी हुन थालेपछि दक्षिणी झापाका किसान कागतीखेतीतर्फ आकर्षित भएका छन् । धान वा अन्य खेती गर्नुभन्दा कागतीखेती गर्न सहज र आम्दानीका हिसाबले अब्बल भएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । एउटा कागतीको बोटमा ५०० देखि दुई हजार दानासम्म फल्छ । गौरादह नगरपालिका–१ का किसान खुमनाथ निरौला दुई बिगाहा धानखेत मासेर कागतीखेती शुरु गरेको बताउनुहुन्छ ।

राम्रोसँग हेरचाह गर्दा एउटा कागतीको बोटबाट २५ वर्षसम्म आम्दानी लिन सकिने उहाँले बताउनुभयो । हाल उहाँले दुई बिगाहामा एक हजार ४५० कागतीको बिरुवा लगाउनुभएको छ ।

“दुई वर्षकै बोटमा अहिले २०० भन्दा बढी कागतीको दाना फलेको छ”, उहाँले भन्नुभयो । पाँच हजार दाना कागती प्रति दाना दुई रुपैयाँ ५० पैसाका दरले बिक्री गरेको उहाँले बताउनुभयो । बिरुवा लगाएको तीन वर्षदेखि कलमी बिरुवा बिक्री गर्न सकिन्छ । एउटा कलमी बिरुवा रु सयदेखि रु १५० सम्ममा बिक्री हुने गरेको निरौलाले बताउनुभयो ।

सोही स्थानका बेदनिधि निरौलाले पनि नौ कट्ठामा युरेका जातको कागतीको बिरुवा लगाउनुभएको छ । उहाँका छिमेकी खिन्द्रप्रसाद घिमिरेले १७ कट्ठामा कागतीखेती गर्नुभएको छ । अन्य बालीभन्दा कागतीखेतीबाट मनग्य आम्दानी भएको उहाँहरुले बताउनुभयो ।

गौरादह नगरपालिका–३ का तीनजना युवाले तीन बिगाहामा कागती, एक बिगाहामा बेसार र एक बिगाहामा माछापालन शुरु गरेका छन् । कुशहरि दाहाल, दीपक बराल र नारायण कार्की मिलेर ‘केडी एण्ड कृषि फार्म’ दर्ता गरी कृषि कर्ममा लागेका हुन् ।

फार्ममा विभिन्न जातका दुई हजार कागतीका बिरुवा लगाएको फार्मका सञ्चालक बरालले बताउनुभयो । किसानलाई कागतीखेतीमा आकर्षित गर्न सके वार्षिकरुपमा बाहिरिने करोडौँं रुपैयाँ रोकिने र त्यसले बढ्दो व्यापार घाटालाई पनि कम गर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर