बिर्तामोड।
सोमवार झापा जिल्लाका विभिन्न स्थानमा दुर्घटना न्यूनीकरणमा चालकलाई जिम्मेवार बनाउने उद्देश्यले १२ सय भन्दाबढी चालकलाई सम्मान गरियो ।
दुर्घटना न्यूनीकरण नागरिक महाअभियान अन्तर्गत बिर्तामोड, चारआली, सुरुङ्गा र दमकमा कार्यक्रम सम्पन्न भएको हो । मुख्य आयोजक वीरता जेसीज र सहआयोजक नेप्लिज टिन्सले बिर्तामोडमा ५ सय भन्दा बढी चालकलाई खादा र अविर पहि¥याएर स्वागत सम्मान गरे । अभियानका परिकल्पनाकार वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले दुर्घटना न्यूनीकरण गर्न नागरिकतहबाटै अभियानको आवश्यकता महशुस गरी चालकलाई अझ जिम्मेवार बनाउन कार्यक्रम ल्याइएको बताए ।
उनले यस्तो अभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए । गत बर्ष असोज २ गतेबाटै बिर्तामोडमा अभियानको शुरुवात भएको थियो । विश्वकर्मा पूजाका बेला हरेक चालकहरु संयमित हुने र यसको भोलिपल्ट अभियान सञ्चालन गर्दा प्रभावकारी हुने भएकोले असोज २ गतेको मिति तय गरिएको बताइएको छ ।
बीरता जेसीजका अध्यक्ष सञ्जु भारतीको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि बरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारी लगायतले चालकलाई बढी जिम्मेवार बनाउन यो विधि प्रभावकारी भएको बताए । वीरता जेसीजका तालिम संयोजक एकराज गिरीले आस्था वाचन, संयोजक मिजास पोखरेलले स्वागत र महासचिव जीवन खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा बिनोद बस्नेत, मदनगोपाल सुब्बा, ट्राफिक प्रहरी निरीक्षक ढुण्डीराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघ अध्यक्ष कुमार भट्टराई, वीरता लेडी जेसीजका अध्यक्ष नैनकला भट्टराई, वीरता जेसीजका पूर्व अध्यक्षहरु आनन्द बस्नेत, प्रमेशराज कर्णिकार लगायतको आतिथ्य थियो । बिहान ५ बजे बिर्तामोडको मर्निङ वाक ग्रुपसहितको सहभागितामा शुरु भएको अभियान २ बजेसम्म सञ्चालन भएको थियो ।
लायन्सको सम्मान उत्कृष्ट चालकलाई
लायन्स क्लब अफ कनकाई सुरुङ्गाले दुर्घटना न्यूनीकरण नागरिक महाअभियान २०७४ को अवसर पारेर सुरुङ्गा क्षेत्रका पुराना सवारी चालकको रुपमा भक्तबहादुर विश्वकर्मालाई सम्मान गरिएको छ ।
सोमवार सुरुङ्गामा आयोजित कार्यक्रममा २० वर्षदेखि लगातार चालकका रुपमा कार्यरत र अहिलेसम्म कुनै पनि किसिमको दुर्घटना नगरेको र आगामी दिनमा पनि अझ सुरक्षित तवरबाट सवारी चलाउन हौसला मिलोस् भन्ने उद्देश्यले प्रमाण–पत्रका साथमा खादा तथा रुद्रक्षको मालाले उनलाई सम्मान गरिएको थियो ।
लायन्स क्लव अफ कनकाई सुरुङ्गाका प्रेसिडेन्ट सुरेन्द्र प्रधानको अध्यक्षतामा असोज २ गतेका दिन सबै चालकहरुलाई सम्मान गर्ने उद्देश्यका साथ उक्त समयमा सवारीमा रहेका चालकहरुलाई अविर, रुद्राक्षको माला र खादाले सम्मान गर्दै सफलताको शुभकामना दिइएको थियो ।
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अञ्चल प्रहरी कार्यालय मेची प्रमुख पिताम्बर अधिकारी, वीरता जेसीजका संस्थापक अध्यक्ष तथा सामाजिक अगुवा गोपालकुमार बस्नेत, कनकाई वडा नं. ३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरिया, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, कनकाई क्याम्पस प्रमुख टंकबहादुर कार्की लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका चार्टर प्रेसिडेन्ट तथा लायन क्लब डिस्टिक ३२५ब्१का जोन चियरपर्सन लीलाप्रसाद चिमरियाले स्वागत गर्दै यो कार्यक्रमको आवश्यकता, महत्व र फाइदाका बारेमा प्रकाश पारेका थिए ।
लायन्स र लियो क्लब अफ कनकाई सुरुङ्गाको संयुक्त आयोजना र सुरुङ्गा ट्याक्सी व्यवसायी संघको सहयोगमा सम्पन्न कार्यक्रममा जोयन्ट सेक्रेटरी सञ्जय गजुरेलले झण्डाको अभिवादन गरेका थिए । क्लबका फस्ट भाईस प्रेसिडेन्ट रुपनारायण खतिवडाको धन्यवाद मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सेक्रेटरी मनोज बस्नेतले गरेका थिए ।
चालकहरु छक्क परे
दमकमा एसएसपी, ट्राफिक प्रमुख, संघीय प्रहरी इकाइ चन्द्रगढीका प्रमुख पिताम्बर अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले बस रोके । प्रहरीले यसो गरेपछि सवारी चालक छक्क मात्रै परेनन् रातो न पिरो हँुदै गाडीबाट तल झरे ।
एकाएक उनको गलामा खादा र निधारमा रातो टीका लगाएर हात मिलाउँदै एसएसपी अधिकारीले सम्मान गरेपछि सवारी चालकहरु छक्क परे । सँधै गाडी रोक्न लगाएर लाइसेन्स, मापसे र गाडीको कागजपत्र खोज्ने प्रहरीले सम्मान गरेपछि उनीहरु अचम्मित त पर्ने नै भए ।
दमक जेसीजको संयोजन र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत सवारी चालक सम्मान कार्यक्रमको सोमबार बिहानको घटना हो यो । एसएसपी अधिकारीले दुर्घटना न्यूनीकरणका लागि सकारात्मक सन्देश दिन र सवारी चालकलाई जिम्मेवारबोध गराउन यो कार्यक्रम अत्यन्त प्रभावकारी लागेको बताउँदै यो देशभर गर्नुपर्ने बताए ।
सवारी चालकहरुलाई पनि अधिकारी आफैंले दुर्घटनाको कारण नबन्नका लागि सुझाव दिए । यात्रुहरुलाई सकुशल रुपमा गन्तव्यमा पुर्याउन भूमिका खेल्ने चालकले आफ्नो कर्तव्य र दायित्व भुल्नु नहुने उनले सुझाव दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गिरीले असोज १ गतेदेखि प्रदेश नं. १ हर्न निषेधित क्षेत्र बनेको भन्दै यसको पालना गर्नका लागि पनि अनुरोध गरे ।
त्यसभन्दा अगाडि भएको औपचारिक कार्यक्रममा एसएसपी अधिकारी, प्रहरी निरीक्षक गिरी लगायतले दुर्घटना न्यूनीकरणका लागि नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रम दमक जेसीजका महासचिब चन्द्र खत्रीले सञ्चालन गरेका थिए ।
चारआलीमा पनि सम्मान
दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत चारआली जेसीजको आयोजनामा भएको कार्यक्रममा २ सय वटा गाडीका चालकहरुलाई खादा र अबिरले सम्मान गरिएको थियो ।
त्यस्तै ट्यांकर व्यवसायी संघ चारआली इकाइका अध्यक्ष तोकप्रसाद दुलाल (अन्तरे गुरुजी) लाई सम्मान गरिएको थियो । सवारी दुर्घटनामा परी एउटा खुट्टा गुमाएका र हालसम्म नियमित रुपमा ट्यांकर चलाउँदै आएका दुलाललाई हालसम्म सवारी दुर्घटना नगराएको भन्दै मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
चारआली जेसीजको जेसीज सप्ताह अन्तर्गत ट्राफिक प्रहरी पोष्ट चारआलीको सहआयोजनामा भएको थियो । कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट चारआलीका असई राजकुमार बस्नेतले ट्राफिक नियम सम्बन्धी जानकारी गराएका थिए ।
चारआली जेसीजका अध्यक्ष धनबहादुर तामाङको अध्यक्षता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव देवी भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सन्तोष न्यौपानेले आस्था वाचन र कार्यक्रम संयोजक टीकाराम रिजालले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव भोजराज पराजुलीले गरेका थिए ।