Aamsanchar

आम्दानी कम लगानी बढी भएपछि परिचय बदल्दै जुट कृषक

Author Image
बुधवार, असोज २५, २०७४

(गोपालप्रसाद पोखरेल) 

पथरी, 

मोरङको कटहरी–९ का भुपेन्द्र कार्कीले जुटखेती गर्न छोड्ेको करिब दुई वर्ष भयो । पाँच बिगाहामा जुट लगाउनुभएका कार्कीले लगानी बढी आम्दानी कम भएपछि जुट अर्थात (पट्वा) खेती लगाउन छाड्नु भएको हो । कार्की यतिबेला धानखेती गर्दै आउनुभएको छ ।

जुटखेतीमा आम्दानीभन्दा खर्च बढी भएपछि धानखेती गर्न थाल्नुभएको हो । यतिखेर उहाँलाई स्थानीय मानिस धान उत्पादक कृषक भनेर चिन्छन् । उहाँले भन्नुभयो, “आम्दानीभन्दा लगानी बढी छ, जुटखेती गरेर फाइदा हँुदैन के गर्नु ?

उहाँमात्र होइन मोरङको शिसवानी बडहराका महोनलाल महतोले पाँचवर्ष अघिसम्म नौ बिगाहा जमिनमा जुट अथवा (पट्वा) खेती गर्नुहुन्थ्यो । तर जुटखेतीबाट फाइदा नभएपछि उहाँले पनि धानखेती नै गर्न थाल्नुभयो ।

जुटले भाउ नपाउने, काम गर्ने मजदुरको अभाव, खर्चिलो खेती, लगानी बढी अम्दानी कम, यस्तै समस्याले उहाँले जुटखेती हटाउनुभयो । मोरङमा जुट प्रतिक्विन्टल रु पाँच हजारमा विक्री हुन्छ । उहाँले अहिले आठ बिगाहा नौ कट्ठामा धान र १० कट्ठामा जुटखेती गर्दै आउनुभएको छ ।

जुट उत्पादन गर्दै आएका किसानको परिचय बदलिएको छ । उहाँलाई जुट किसानभन्दा पनि धानखेती गर्ने किसान भनेर चिन्छन् । उहाँले भन्नुभयो, “बिना फाइदा जुटखेती गरेर के गर्ने ? मोरङमा एक हजार हेक्टरमा जुटखेती भएको जिल्ला कृषि विकास कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ । गतवर्ष एकहजार ७०० हेक्टर जुटखेती हुँदै आएको थियो । जुट उत्पादक कृषकलाई सरकारले प्रोत्साहन नगर्दा, जुट उत्पादनमा गिरावट आएको छ ।

जुट उत्पादनमा ह्रास आउनु र मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित आधा दर्जन जुट उद्योग बन्द हुनु राम्रो संकेत नभएको उद्योगी प्रकाश मुन्दडाको भनाइ छ । उहाँले भन्नुभयो, “जुटको व्यापारलाई सरकारले प्रोत्साहन नगरेसम्म उँभो लाग्दैन ।

यहाँका विराटनगर जुटमिल्स, नरेश राठीको गुहेश्वरी जुटमिल्स, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग बन्द भैसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर