Aamsanchar

किराका कारण किसान चिन्तित

Author Image
सोमवार, कार्तिक ६, २०७४

सुरुङ्गा।

झापाको कनकाई नगरपालिका–२, सुकेडाँगीमा लगाइएको धानबाली फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका छन् ।
करिब १० दिनदेखि धानबालीमा फौजी किरा लागेर धानको बाला नष्ट गर्न थालेपछि उनीहरु चिन्तित भएका हुन् । धानका बाला काटेर पाक्न आँटेको सबै धान जमिनमा सोत्तर पारेपछि किसानलाई समस्या परेको हो ।

किसानका अनुसार फौजी किरा रातको समयमा विशेषगरी बेलुकाको समयमा लाग्ने गरेको छ । ती किराहरु एकैपटक ठूलो समयमा एक ठाउँबाट अर्को ठाउँमा हिँड्ने र धेरै किरा एकैपटक धानको टुप्पोमा बस्ने गरेकाले फौजी किरा भनिएको हो ।
सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गंगाप्रसाद ढुंगेलले दिएको जानकारी अनुसार फौजी किराले दिउँसो धानको फेदमा बस्ने र राति चाहिँ बालाको टुप्पोमा चढेर केस्राकेस्रा चुडाइदिएर सबै धान भुइँमा झार्ने गर्छ । अध्यक्ष ढुंगेल यसअघि २०३८ सालमा यस्तै किरा लागेर धान बाली नष्ट गरेको र सरकारको सहयोगमा किसानले ती किराबाट मुक्ति पाएको स्मरण गर्छन् ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पीडित किसानहरुको धानखेतमा पुगी निरीक्षण गरेका थिए । उनले जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरेर फौजी किराबिरुद्ध विषादि हाल्ने काम शुरु गरिएको र केही दिनमा समस्या नियन्त्रणमा आउने बताए ।
फौजी किराले यस क्षेत्रको १५ बिगाह धान बालीमा आक्रमण गरेको र यो किराको प्रकोपले यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको पीडित किसान निर्मला कोइरालाले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर