Aamsanchar

बुद्धशान्तिको बजेट ३७ करोड ११ लाख ९५ हजार

Author Image
बुधवार, असार २०, २०७५

अनिल वाग्ले /बुधबारे ।

बुद्धशान्ति गाउँपालिकाको बजेट आज बुधबार प्रस्तुत भएको छ । तेस्रो गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले बजेट प्रस्तुत गरेकी हुन् । कृण्ष्ण प्रणामी मन्दिरको सभाहलमा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष भुर्तेलले आर्थिक वर्षको विनियोजन विधेयक प्रस्तुत गर्दै ३७ करोड ११ लाख ९५ हजारको बजेट प्रस्तुत गरेकी छिन् । ससर्त अनुदान बाहेक कुल निशर्त विनियोजन २५ करोड ५५ लाख १५ हजार मध्ये चालुतर्फ ६ करोड १४ लाख २० हजार अर्थात २४.०३ प्रतिशत र पूजिँगततर्फ १९ करोड ४० लाख ९५ हजार अर्थात् ७५. ९७ प्रतिशत रहेको छ ।

सो अनुमान गरिएको बजेटको स्रोत राजस्वबाट ५ करोड १६ लाख ३९ हजार, वित्तिय समानिकरण तर्फ १२ करोड ६४ लाख, राजश्व बाँडफाँड तर्फ ७ करोड ३७ लाख, प्रदेश सरकारबाट प्राप्त निसर्त अनुदान ३७ लाख ७६ हजार, संघीय सरकारबाट प्राप्त हुने ११ करोड ५७ लाखबाट व्यहोरिने जनाइएको छ ।

पस्तुत बजेटमा कृषिमा भारी मात्रामा मल, विउ र कृषि औजारमा अनुदानको व्यवस्था गर्न ८० लाख विनियोजन गरिएको छ । साविकको शान्तिनगर हालको वडा नम्बर ५ मा पशु सेवा केन्द्र स्थापना गर्न पनि बजेट विनियोजन गरिएको छ । पर्यटकीय क्षेत्र धारागोला भ्यू टावरको निर्माण सम्पन्न गर्न १५ लाख विनियोजन गरिएको छ । बुद्धशान्तिको पहिचान झल्कने सुपारीको प्रतिमा निर्माणमा १५ लाख विनियोजन गरिएको छ ।

बुद्धशान्तिको शैक्षिक अवस्था र शैक्षिक संस्थाको स्तरउन्नतीका लागि विभिन्न शिर्षकमा १ करोड ६४ लाख ५० हजार विनियोजन गरिएको छ । २५ शैयाको अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापनका लागि ३० लाख, सामुदायिक स्वास्थ्य इकाइ नभएका वडामा इकाइ स्थापना गर्न १५ लाख, बुधबारे आयुर्वेद औषधालयको व्यवस्थापन तथा स्तरउन्नतीका लागि २७ लाख ३० हजार, रोजगारी प्रवद्र्धनका लागि लघु उद्यम कार्यक्रम सञ्चालन गर्न २० लाख, खेती योग्य जमिनमा सिँचाई र खानेपानीको आपुर्ति सहज बनाउन साना ठूला डिप बोरिङ सञ्चालन गर्न ८० लाख विनियोजन गरिएको छ ।

बुद्धशान्ति रिङरोड निर्माणमा ८० लाख, खलेकुदमा ५ लाख, विभिन्न ठाउँको कल्भट निर्माणका लागि ४० लाख, चिलिमगढी सिमसार क्षेत्रमा तटबन्धन निर्माण गर्न ५ लाख लगायतको बजेट विनियोजन गरिएको छ । आजको अधिवेशनले आर्थिक विधेयक २०७५ संशोधन सहित पास गरेको छ भने बजेट माथिको छलफल २४ गते हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज राउतले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर