Aamsanchar

पर्यटनमा भविष्य खोज्दै झापाको बुद्धशान्ति गाँउपालिका

Author Image
बिहिवार, असार २१, २०७५

नारायण अर्याल / बुधबारे।

पूर्वी नेपालको झापा जिल्लामा अवस्थित उत्तरपूर्वी गाउँपालिका हो, बुद्धशान्ति । क्षेत्रफलका हिसाबले ७९ दशमलव ७८ वर्ग किलोमिटरमा फैलिएको यो गाउँपालिकाको उत्तरतर्फ इलामको रोङ गाउँपालिका पूर्व र दक्षिणमा मेचीनगर नगरपालिकाको साथै पश्चिम र केही दक्षिणी भागमा अर्जुनधारा नगरपालिका रहेको छ ।
पूर्वी नेपालको उत्तर दक्षिण जोड्ने मेची राजमार्गको लगभग १० किलोमिटर सडकखण्ड समेत यही गाउँपालिकामा पर्छ । त्यसैका कारण पूर्वको प्रसिद्ध पर्यटकीय स्थल ताप्लेजुङको पाथीभरा, इलामको सन्दकपुर लगायत कन्यामसम्म पुग्ने क्रममा इलामको पहाडसँग जोडिएको समथर भू–भाग रहेको बुद्धशान्तिको समेत दृष्यावलोकन गर्न सकिन्छ ।

भौगोलिक हिसाबले पहाडसँग जोडिएका भिरालो भू–भाग, केही डाँडाकाँडा र तराईका समथर भू–भाग भएको यस गाउँपालिकालाई भौगोलिक विविधताको उत्कृष्ट नमूनाका रुपमा लिइन्छ । यसका साथै नेपालमा बसोबास गर्दै आएका सबै जातजाति र लोपोन्मुख लेप्चा जातिको समेत बसोबास रहेको यस गाउँपालिकाको सामाजिक, सांस्कृितक र धार्मिक विविधतालाई यहाँको गहनाकोरुपमा लिइएको छ । झापाकै उत्कृष्ट कृषि प्रणाली, भौगोलिक अवस्थिति, सामाजिक, धार्मिक र सांस्कृतिक बिबिधताकै कारण पछिल्लो समय बुद्धशान्ति गाउँपालिकालाई पर्यटकीय दृष्टिले महत्पूर्ण मानिन्छ ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ मा अवस्थित करिब दुई सय वर्ष पुरानो अचलेश्वर मन्दिरलाई यहाँको मुख्य ऐतिहासिक धरोहरको रुपमा लिन सकिन्छ । यो त्यो स्थल हो जहाँ इतिहासप्रसिद्ध सन्त ज्ञानदिल दासले वर्षौं साधना गरेका थिए भने स्वामी सोमेस्वरानन्दले महिनौं तपस्या गरेका थिए । त्यसैले यसलाई बुद्धशान्तिको इतिहाससँग पनि जोडेर हेर्ने गरिएको छ ।

त्यस्तै वडा नम्बर ३ मा अवस्थित रामजानकी मन्दिरले समग्र बुद्धशान्तिबासीको धार्मिक आस्थाको प्रतिनिधित्व गर्दै आएको छ । राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर, कमलेश्वर महादेव, शितलादेवी मन्दिर, प्रणामी मन्दिर, शिवमन्दिर साथै जगद्गुरु जन्मस्थलसहित अनेकौं धार्मिक मठमन्दिरहरु यस गाउँपालिकाका धार्मिक सम्पदाका रुपमा छन् । यहाँ अवस्थित बौद्ध गुम्बा धार्मिक सहष्णिुताको प्रतीक मानिन्छ भने अन्य मठमन्दिरका साथै केही चर्चहरुले समेत यहाँको धार्मिक विबिधताकोे प्रतिनिधित्व गरेको छ ।


स्थानीय जात–जाति, भाषा–भाषी र धर्मावलम्वीहरुलाई एउटै स्थलमा भेला गराई सांस्कृतिक विनिमयको अवसर प्रदान गर्ने ऐतिहासिक ठुटेबरको मेला यहाँको अर्को विशेषता हो । कात्तिके पूर्णिमाबाट शुरु भएर सात दिनसम्म लाग्ने यहाँको मेला भर्न झापा, इलाम र दार्जीलिङका बासिन्दा सहभागी हुने गरेका छन् । त्यस्तै चण्डीनाच, धाननाच, सेलो, संगिनी–बालन, धिमाल, लेप्चा लगायतका बिभिन्न जातिहरुको नृत्यले यहाँको सांस्कृतिक बिविधताको प्रतिनिधित्व गर्दै आइरहेको छ । यसबाट बिभिन्न जात–जातिको संस्कृतिप्रति रुची राख्नेहरुका लागि बुद्धशान्ति उत्कृष्ट अध्ययन केन्द्रका रुपमा लिन सकिन्छ ।

त्यस्तै, यहाँका प्राकृतिक र भौगोलिक सम्पदाले समेत यहाँको पर्यटकीय महत्वलाई दर्शाउँदै आएको छ । बर्ने चियाकमान, इलाम–झापा सीमामा अवस्थित जोरकलश यहाँको मुख्य आकर्षणका रुपमा रहेका छन् । यस गाउँपालिकाको वडा नम्बर ७ मा अवस्थित धारागोलाबाट झापा जिल्लाको अधिकांश भू–भागको दृष्यावलोकन गर्न सकिन्छ भने यहाँबाटै भारतको बाघडुग्रा लगायतका अन्य स्थान समेत देख्न सकिन्छ । भौगालिक हिसाबले निकै उचाइमा रहेको यस धारागोलाबाट अझ स्पष्ट र सुविधापूर्वक विभिन्न स्थानको दृष्यावलोकन गर्ने उद्देश्यले भ्यूटावर निर्माणको काम सम्पन्न हुने अवस्थामा रहेको छ ।

यसरी नै पर्यटन प्रवद्धन गर्ने उद्देश्यले यहाँबाट नजिकै रहेको इलामको रोङ गाउँपालिकामा अवस्थित कमेरे पहाडको प्रचार–प्रसार र पूर्वाधार बिकासका गतिबिधिमा समेत रोङ गाउँपालिकासँग यस गाउँपालिकाले संयुक्तरुपमा प्रयास गर्दै आइरहेको छ । बुद्धशान्तिकै वडा नम्बर ५ मा अवस्थित पाँचपोखरी ताललाई पनि यहाँको एउटा उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा लिन सकिन्छ भने वडा नम्बर ३ मा रहेको नमूना सामुदायिक वन परिसरमा निर्माणाधीन रहेको ‘पिकनिक स्पट’ र तालले आगामी दिनमा पर्यटकको संख्यामा बृद्धि गर्ने बिश्वास गर्न सकिन्छ ।

यस गाउँपालिकाले पर्यटकको आकर्षणका लागि एउटा महत्वकांक्षी योजना समेत अघि सारेको छ । यस अन्तर्गत, वडा नम्बर ४ टिमाई खोला किनारमा निर्माण गरिने बुद्धशान्ति पार्कमा बुद्धशान्तिको धार्मिक, सामाजिक, सांस्कृतिक साथै कृषि लगायत सबै कुराको प्रतिनिधित्व गर्ने प्रतिनिधिमूलक संरचनाको निर्माण गरिने छ । यसले यहाँको महत्वको प्रचार–प्रसारमा अझै सघाउ पर्याउने छ । अझ यही पार्कभित्र पूर्वी नेपालकै सबैभन्दा ठूलो गुम्बा र बौद्ध दर्शन अध्ययन केन्द्र निर्माण गर्ने योजना अघि बढेकाले बौद्ध धर्मावलम्बी आकर्षित त हुनेछन् नै, अन्य धर्मावलम्बीले पनि त्यहाँ अध्ययन गर्न पाउने कुराले यो स्थल पर्यटकीय केन्द्रका रुपमा बिकसित हुने कुरा प्रायः निश्चित छ ।

पर्यटनको आकर्षण बनेको केवलकार निर्माण योजना अघि सारिएको यस गाउँपालिकामा वडा नंं. ६ बाट इलाम जिल्लाको धार्मिक पर्यटीयस्थल पाथीभरा मन्दिरसम्मको केवलकार ‘फिजिबिलिटी’ अध्ययन पूरा भएको छ । करिब एक अर्ब रुपैयाँको लागतमा निर्माण गरिने यो योजना पूरा गर्न बुद्धशान्तिबासी दृढ संकल्पका साथ अघि बढेका छन् । त्यस्तै यहाँकै ठुटेबरमा रहेको गोतामे भिरमा बन्जीजम्पको पनि सम्भाव्यता अध्ययन पूरा गरिएको छ भने चाडै नै निर्माण प्रक्रिया अघि बढाउने योजना अघि सारिएको छ ।

विश्वमै पर्यटकीय हिसाबले नेपालको नाम अग्रस्थानमा रहेको वर्तमान परिप्रेक्षमा बुद्धशान्ति गाउँपालिकामा रहेको विविधताले पनि आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्दै आइरहेको छ । यहाँको भौगोलिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक लगायतका बिभिन्न क्षेत्र आफैंमा एउटा ठूलो महत्व छ । पर्यटन केन्द्रका रुपमा रहँदारहँदै गाउँपालिकाले अघि सारेका महत्वाकांक्षी योजनाले यसलाई पूर्वमै उत्कृष्ट गन्तव्य बनाउने छ । यसैगरी आन्तरिक र बाह्य पर्यटकीय गन्तब्यका रुपमा समेत यसलाई बिकसित गराउन सकिने कुरामा बुद्धशान्तिबासी विश्वस्त छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर