Aamsanchar

जोखिममा ज्यान, आम्दानी लोभलाग्दो

Author Image
शुक्रवार, साउन ११, २०७५

 

बिर्तामोड ।

बाह्रदशी गाउँपालिका–७ चेक्रावारी निवासी २२ वर्षीया चन्द्रवती राजवंशीलाई भान्सा घरमा खाना पकाउँदा पकाउँदै सर्पले डस्यो ।
सर्पले डसे लगत्तै उनलाई उपचारका लागि सहारा सर्पदंश उपचार केन्द्र सुरुङ्गा पु¥याइयो । तर, उनलाई बचाउन भने सकिएन । उनलाई विषालु सर्प गोमनले डसेको थियो ।

त्यस्तै बिर्तामोड नगरपालिका–६ बुट्टावारी निवासी ४५ वर्षीय पिताम्वर ढकालको पनि सर्पकै डसाइका कारण मृत्यु भयो । उनलाई ग्वालीमा खोले पकाउने क्रममा सर्पले डसेको थियो । उनको पनि उपचार गर्न लैजाने क्रममा मृत्यु भयो । यी सर्पदंशका कारण मृत्यु हुने प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता धेरैले विषालु सर्पको डसाइका कारण ज्यान गुमाएका छन् । सर्पदंशका कारण एक वर्षमा कतिको मृत्यु भयो त्यो तथ्याङ्क कसैसँग छैन । तर, सर्पदंशका बिरामी भने प्रत्येक वर्ष बढ्दै गएको सर्पदंश उपचार केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो वर्ष मात्र सर्पदंशका कारण झापामा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै सर्पदंशकै कारण एक हजारको हाराहारीमा बिरामी परेका छन् । अधिकांशलाई विषालु सर्प गोमन, करेत र धामनले डस्ने गरेको सर्पदंश उपचार केन्द्र चारआलीका प्राविधिक ऋषिराम पोखरेलले बताए । उनले भने– हामी कहाँ उपचारका लागि आउनेहरु अधिकांश विषालु सर्पले डसेका बिरामीहरु छन् ।
गर्मी मौसम शुरु भएसँगै सर्प दंशका बिरामीहरु बढ्ने गरेका छन् । अधिकांशलाई घर तथा ग्वालीमै काम गर्दागर्दै सर्पले डस्ने गरेको बिरामीलाई उद्धृत गर्दै सर्पदंश उपचार केन्द्र चारआलीका प्राविधिक पोखरेलले बताए । रातिको समयमा सक्रिय हुने सर्पले दिउँसै पनि धेरैलाई डस्ने गरेको छ । सर्पले डसेलगत्तै उपचारका लागि अस्पताल जाने सबैजसोले ज्यान जोगाएका छन् भने हेलचेक्र्यार्इँ गर्दा केहीले भने ज्यान गुमाउने गरेका छन् ।

आफू सुत्ने ओच्छ्यान समेत सर्पका कारण असुरक्षित भइरहेका बेला झापाको चारआली जंगलमा निगुरो खोज्ने बालबालिका तथा महिलाहरु विषालु सर्पको डसाइको उच्च जोखिममा छन् । जंगलमा निगुरो खोजेर जीविकोपार्जन गर्दै आएका महिला तथा बालबालिका सर्पदंशको उच्च जोखिममा रहे पनि उनीहरुलाई सुरक्षित गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । कतिपय बालबालिका खाली खट्टै निगुरो खोज्न जंगल जाने गरेका छन् । गरिबीका कारण उनीहरुसँग उनीहरुका अभिभावक पनि जंगलमा निगुरो खोजेर छाक टार्न बाध्य छन् । चारआलीको जंगलमा दैनिकजसो २० भन्दाबढी बालबालिका र महिलाले निगुरो खोज्ने गरेका छन् । उनीहरुले खोजेको निगुरो पूर्वपश्चिम राजमार्गको चारआली सडकखण्डमा विक्री गर्ने गरिएको छ । बिहानभरि खोजेको निगुरो बालबालिका र महिला आफैं सडकपेटीमा वसेर साँझसम्म बेच्ने गर्छन् ।

कतिपय बालबालिकाले निगुरो बेचेको पैसाले पाठ्य सामग्री किन्ने गरेको र कतिपयले अभिभावकलाई दिने गरेको बताएका छन् । विद्यालय छुट्टीको समयमा चारआली जंगलमा बढी मात्रामा बालिबालिका निगुरो खोज्ने गर्छन् । कतिपय बालबालिका गरिवीका कारण विद्यालय नै नगई आफ्ना अभिभावकसंग दिनभर जंगलमा निगुरो खोजैर बिताउने गरेको पाइन्छ । बालबालिकाको अधिकारका क्षेत्रमा वकालत गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि पूर्वपश्चिम राजमार्गमा हुइँकिने गरे पनि राजमार्गकै किनारमा निगुरो खोजेर बेच्ने गरेका बालबालिकाको विषयमा वेखवर छन् । सवै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिए पनि व्यवहारमा लागू नहुँदा बालबालिका पढाइ खर्च जुटाउनकै लागि सर्पको जोखिम हुँदाहुँदै पनि जंगलमा निगुरो खोज्न बाध्य छन् ।

निगुरो बेचेर मनग्य आम्दानी
निगुरो बेचेरै दैनिक एक हजारदेखि १५ सयसम्म आम्दानी हुन्छभन्दा पत्यार नलाग्न सक्छ । तर, झापाको मेचीनगर–१३ कालीझोडाकी प्रतिमा प्रसाईले जंगलमा निगुरो खोजेर बेच्दा दैनिक एक हजार देखि १५ सय रुपैयाँसम्म कमाउने गरेकी छिन् । उनले दिनहुँजसो एक सय मुठा निगुरो बेच्ने गरेको पूर्वाञ्चलकर्मीलाई बताइन् । सडकपेटीमा निगुरो बेच्दै गर्दा भेटिएकी उनले भनिन्– ज्यान जोखिममा भए पनि कमाई चाहिँ हुन्छ ।

बिहान श्रीमान बालकृष्णसँग निगुरो खोज्न जंगल आउँछु– उनले भनिन्– ‘उहाँ घरको अरु काम गर्नुहुन्छ म चाहिँ दिनभर निगुरो बेच्छु ।’ निगुरो बेचेरै घर खर्च चलाउने गरेको उनले बताइन् । विदेश जानु भन्दा यहीं केही गरुँ भन्ने सोचका साथ मैले निगुरो बेच्न थालेकी हुँ– प्रसाईले भनिन्– ‘निगुरोको सिजनमा निगुरो बेच्ने काम गर्छु अन्य समयमा घरको काम धन्दा गर्छु ।’ आफूहरु निगुरो खोज्न पाऊ पाथीभर पश्चिम र कालीझोडाबीचको दुर्वतर्फको जंगल घुम्ने गरेको प्रसाईले बताइन् ।

सडकमै २० हजारको निगुरो बिक्छ
चारआली जंगलमा संकलन गरिएको निगुरो सडक किनारमा नै विक्री गरेर स्थानीयले मनग्य आम्दानी गरिरहेका छन् । झण्डै २० जनाभन्दा बढीले दिनहुँ जसो प्रतिव्यक्ति एक हजार रुपैयाँको हाराहारीमा निगुरो बेच्ने गरेको प्रसाईले बताइन् । उनले भनिन्– ‘खोज्न सक्ने र बेच्न सक्नेले रामै कमाई गरिरहेका छन् तर ज्यान चाहिँ सँधै जोखिममा हुन्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर