Aamsanchar

धनसरीले गाउँमा धन भित्र्याउँदै

Author Image
शुक्रवार, साउन ११, २०७५

गणेश अर्याल

इलाम । शेरबहादुर रिजाल रम्याङका काँक्रा किसान । यतिबेला हप्तामा सरदर ७ सय वटा काँक्रा उत्पादन भइरहेको छ रिजालको बारीमा । उनले उत्पादन गरेको काँक्रा बिक्री गर्न कुनै समस्या छैन ।

गोबिन्द पौडेल पनि त्यहींका अर्का नाम चलेका किसान हुन् । उनको काँक्रा बगानमा पनि यतिबेला लरक्क लरक्क परेका सात सय जति नै काँक्रा छन् । त्यहीँका रुद्र रिजालको बगानमा पनि काँक्रा प्रशस्त फलेका छन् ।

इलामको रोङ गाउँपालिका–६ अन्तर्गत पर्ने रम्याङमा धनसरी कृषि सहकारी संस्था स्थापना भएपछि किसानहरुलाई आफूले उत्पादन गरेको उपज बिक्रीमा समस्या छैन । किसानले उत्पादन गरेको कृषि उपज धनसरीले खरिद गरी बजारमा बिक्री गर्न लैजाने भएकाले कृषकलाई जति उत्पादन गरे पनि बिक्री नहोला कि भन्ने चिन्ता हुँदैन । यतिबेला रम्याङका किसानहरुले काँक्रा, इस्कुसको मुन्टा, रुख टमाटर, बिहीँ फलाइरहेका छन् । त्यसैगरी पात्ले सिस्नु पनि किसानले जंगलबाट संकलन गरेर बिक्री गर्ने गरेका छन् ।
किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य नपाएको गुनासो आइरहँदा रम्याङमा सामुहिक रुपमा कृषि उपजको बिक्री हुन थालेको हो । बिगत केही बर्षदेखि नै मौसमी तरकारीमा लागेका किसानहरुले उत्पादन गरेको तरकारी ब्यापारीहरुले संकलन गरेर झापाको बजारहरुमा लगेर बेच्ने गरेका थिए । तर यस बर्षदेखि भने किसानहरुले सहकार्य गरेर आफैं बजार पु¥याउन थालेपछि किसानहरुले मूल्य पनि बढी पाउन थालेका छन् ।

किसानहरुको सहभागितामा धनसरी कृषि सहकारी स्थापना भएपछि किसानले कृषि उपजको मूल्य पाउन थालेको किसान गोबिन्द पौडेलले बताए । ‘गाउँमा उत्पादित तरकारी किसानहरुकै समूहले संकलन गर्ने र गाडी खोजेर बजारमा लगेर बेच्ने गरिएको छ’– किसान पौडेलले भने– ‘लागेको खर्च कटाएर समूहले कुनै नाफा नलिई किसानलाइ भुक्तानी गर्ने गरेकाले बिश्वास पनि बढेको छ’ ।

समूहका सचिव राजिव गुरुङले भने– गाउँमा किसानले जति उत्पादन गरेको छ, जुनसुकै परिमाणमा भए पनि बजारमा लगेर बेच्न सकिने भएको छ । थोरै तरकारी बेच्न झापाको बिर्तामोड, चारआली जाँदा समय र खर्च धेरै लाग्ने हुन्थ्यो– सचिब गुरुङले भने– अहिले खर्च कम लाग्ने र बजारको समस्या नहुने भएकाले किसानहरुमा तरकारी खेतीमा लाग्न प्रेरणा र उत्साह आएको छ ।

रम्याङबाट हप्तामा ३ गाडी काँक्रा उत्पादन हुने गरेको छ । त्यस्तै इस्कुसको मुन्टा, बिहीँ, रुख टमाटर पनि हप्तामा ८÷१० बोरा उत्पादन हँुदै आएको लेखा संयोजक गंगा चाम्लिङ बताउँछन् । सहकारीले एउटा काँक्रा बगानबाट बजारसम्म पु¥याएर बिक्री गर्दा ढुवानी र निकासी कर समेत गरी करिब ५ रुपैयाँको हाराहारी खर्च हुने गरेको लेखा संयोजक चाम्लिङले बताए ।

गाउँमा सहकारी नभएको कारण अहिले त्यहाँका किसानहरुले दूधको मूल्य पनि कम पाइरहेका छन् । रम्याङमा गाईको दूध प्रतिलिटर ३० रुपैयाँमा बेच्न बाध्य रहेको धनसरीका अध्यक्ष इन्द्र प्रधान बताउँछन् । अत्यधिक काँक्रा खेती हुने यस गाउँमा इस्कुसको मुन्टा र बिहीँको अतिरिक्त थोरै परिमाणमा गाजर, सिस्नु, दुङदुङे, केरा लगायतका तरकारी उत्पादन हुने गरेको छ । सरकारले पनि आर्थिक समृद्धिको लागि एउटा आधार सहकारीलाई ठानेको र मानेको बेला दुर्गम गाउँका किसानहरुलाई थप प्रेरणा दिन थाल्ने मात्र हो भने बढ्दो बेरोजगारी र युवाहरुको बिदेश पलायन रोक्न कोशेढुंगा बन्ने स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर