Aamsanchar

अर्जुनधारामा बढ्यो यौनअपराध

Author Image
बुधवार, साउन २३, २०७५

अर्जुनधारा।

झापाको अर्जुनधाराकी चार वर्षीया बालिका बलात्कारको घटना सेलाउन नपाउँदै पुनः १३ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ । गत साता अर्जुनधारा–२ झेलेनीका १५ वर्षीय किशोरले सोही ठाउँ निवासी ४ वर्षीया वालिकालाई बलात्कार गरेका थिए । बलात्कारमा सम्लग्न अझैं फरार छन् ।

सो घटनाका आरोपी पक्राउ पर्न नपाउँदै अर्जुनधारामै सोमबार राति पौने १० बजे शौचालय गएकी दिदीलाई रुँग्न बाहिर बसेकी १३ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको बताइएको छ । मामाघरमा बस्दै आएकी उनलाई अर्जुनधारा–९का २८ वर्षीय बालकृष्ण घिमिरे र २४ वर्षीय पेमा तामाङले मुख थुनेर केही पर लगेर बलात्कारको प्रयास गरेको बताइएको छ ।

शौचालय बाहिर दिदी रुँग्न बसेकी उनलाई दुई व्यक्तिले मुख थुन्दै बोकेर केही पर लगेर करणीको प्रयास गर्दा किशोरी चिच्याएपछि उनीहरु भागेका थिए । घटनामा संलग्न उनीहरुलाई पक्राउ गरिएको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको शनिश्चरे प्रहरी चौकीका प्रमुख सुरेशकुमार संग्रौलाले जानकारी दिए ।
पीडित बालिकाका बुबा बेपत्ता रहेको र आमा पनि वैदेशिक रोजगारीमा गएका कारण उनी केही महिनादेखि मामाको संरक्षणमा बस्दै आएकी थिइन् ।

पछिल्लो तीन महिनामा ६ वटा घटना

शनिश्चरे प्रहरी चौकीले दिएको जानकारी अनुसार पछिल्लो तीन महिनामा बलात्कार र बलात्कार प्रयासका छ वटा घटना भएका छन् । तीमध्ये तीन वटामा बलात्कार र तीन वटामा बलात्कारको प्रयास भएको छ ।

प्राप्त विवरण अनुसार गत जेठ २२ गते ३० वर्षीया अपाङ्ग महिला अर्जुनधारा–२का ५० वर्षीय गणेश खनालबाट बलात्कार, गतअसार ६ गते १७ वर्षीया किशोरी अर्जुनधारा–१का अनिल गौतम, पेमा तामाङ र सुजन दर्जीबाट सामुहिक बलात्कारको प्रयास, गत असार १३ गते अन्दाजी ३५देखि ४० वर्षीया सुस्त महिला अर्जुनधारा–५का इन्द्र राजवंशीबाट बलात्कार, गत असार २७ गते १७ वर्षीया किशोरी अर्जुनधारा–५का ४० वर्षीय चूडामणि सापकोटाबाट बलात्कार प्रयास र गत साउन १६ गते चार वर्षीया नाबालिका १५ वर्षीय बिजय गजमेरबाट बलात्कारको शिकार भएका थिए ।

प्रहरी चौकीबाट प्राप्त जानकारी अनुसार छ वटा घटनाका जम्मा आरोपित नौ जनामध्ये पाँच जना फरार रहेको बताइएको छ । फरार हुनेमा अर्जुनधारा–१का सामुहिक बलात्कार प्रयासका आरोपितत्रय अनिल गौतम, पेमा तामाङ र सुजन दर्जी, अपाङ्ग महिला बलात्कार गर्ने अर्जुनधारा–२का ५० वर्षीय गणेश खनाल र सुस्त मनस्थितिकी महिला बलात्कार गर्ने अर्जुनधारा–५का ५० वर्षीय इन्द्र राजवंशी रहेका छन् । फरार भएका आरोपितहरुको इलाका प्रहरी कार्यालय अनारमनीसँगको समन्वयमा खोजी कार्य भइरहेको प्रमुख प्रहरी सहायक निरीक्षक संग्रौलाले जानकारी दिए ।

के छ मुलुकी ऐनमा ?

मुलुकी ऐन अन्तर्गत महल १४को जबरजस्ती करणीको ३ नम्बर २९७मा १० वर्षभन्दा मुनिकी बालिका भए १० देखि १५ वर्षसम्म, १० वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए ८देखि १२ वर्षसम्म, १४ वर्ष वा सोभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए ६ देखि १० वर्षसम्म, १६ वर्ष वा सोभन्दा बढी २० वर्षभन्दा कम उमेरकी महिला भए ५ वर्षदेखि ८ वर्षसम्म, २० वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए ५देखि ७ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

त्यसैगरी ३क नम्बर २९८मा कसैले गर्भवती, अशक्त, अपाङ्गता भएका वा होश ठेगानमा नरहेका वा आफ्नो संरक्षण वा हेरविचारमा रहेका महिलालाई जबरजस्ती करणी गरेमा वा जुनसुकै उमेरका महिला उपर सामूहिक रुपमा जबरजस्ती करणी गरेमा उक्त महलमा लेखिएको सजायमा थप पाँच वर्ष कैद गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)