Aamsanchar

जसले ‘राजा’ बीरेन्द्रलाई युरोप भ्रमण गराएका थिए‍‍…

Author Image
सोमवार, भदौ ४, २०७५

 

काठमाडौँ।

सन् १९९० को दशकमा युरोपेली राष्ट्रमा नेपाली राष्ट्रप्रमुखको भ्रमण गराउन निकै कठिन हुन्थ्यो । भ्रमण सन् १९६६ मा राजा महेन्द्रले फ्रान्सको भ्रमण गरेयता नेपालको तर्फबाट राष्ट्रप्रमुखको भ्रमण हुन सकेको थिएन ।

तर, फ्रान्सका लागि तत्कालीन राजदूत केशब झाले सन् १९९४ मा राजा बीरेन्द्रको फ्रान्स भ्रमण गराएका थिए । राजा वीरेन्द्र मात्र होइन झाको कार्यकालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि फ्रान्सको भ्रमण गरेका थिए । डेनमार्कबाट फर्कंदा प्रधानमन्त्री अधिकारीको फ्रान्स भ्रमण भएको थियो ।

उनै पूर्वराजदूत झाको रहस्यमय मृत्यु भएको छ । उनको आइतबार राती आफ्नै घरमा ‘हत्या’ भएको हो । ८० वर्षिय झा बबरमहल कुरियागाउँस्थित निवासमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका हुन् । घरमा झा, उनकी श्रीमती ज्ञानु र सुरक्षागार्ड सानु तामाङ मात्र थिए । ज्ञानुलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको छ ।

झा ११ चैत्र २०४९ देखि १६ पुष २०५४ सम्म फ्रान्सका लागि नेपाली राजदूत थिए । करिअर डिप्लोम्याटका रुपमा उनी बहुदलीय व्यवस्था पुनस्र्थापनाको केही बर्षपछि राजदूत बनेका थिए । त्यसअघि उनी परराष्ट्र मन्त्रालयमा चिफ अफ प्रोटोकल थिए ।

राजदूत झाको जागिरे जीवन राजकीय संस्कृत महाविद्यालयको शिक्षकको रुपमा भएको थियो । त्यो बेला सरकारी विद्यालयका शिक्षक नेपाल सरकार शाखा अधिकृत सरह मानिन्थे । त्यसैले उक्त महाविद्यालयको शिक्षकबाट उनी २०२३ सालमा परराष्ट्र मन्त्रालयमा सरुवा भएका थिए ।

परराष्ट्र मन्त्रालयमा सरुवा भएको केही बर्षपछि उनको पहिलो पोष्टिङ शाखा अधिकृतका रुपमा जर्मनीस्थित नेपाली राजदूतावासमा भएको थियो भने उपसचिव छँदा अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा भएको थियो ।

उनी वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासबाट न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगमा सरुवा भएका थिए । यी जिम्मेवारी पुरा गरेर नेपाल फर्केको केही समयपछि परराष्ट्र मन्त्रालयको सहसचिवमा बढुवा भएपछि चिफ अफ प्रोटोकल बनेका थिए ।

काठमाडौँको रैथाने परिवारका उनी शुरुमा गणेशस्थानमा बस्थे । २० को दशकदेखि बबरमहल कुरियागाउँमा घर बनाएर बस्न थालेका थिए । उनका छोरा डा किरणराज झा आयरल्याण्डमा बस्दै आएका छन् भने उनकी एकजना छोरीपनि छन् भनेर दैनिक नेपालले समाचार प्रकाशन गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर