Aamsanchar

गैर आवासीय नेपाली संघको छैटौं मध्यपुर्व क्षेत्रीय भेला १६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

Author Image
आइतवार, भदौ १०, २०७५

सुर्य खवास/ युएई,

“सुरक्षित र मर्यादित बैदेशिक रोजगारी हाम्रो सरोकार : ज्ञान, सीप, बिप्रेषण र उध्यमशिलता समृद्धिको आधार” भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघको छैटौं मध्यपुर्व क्षेत्रीय भेला १६ बुँदे घोषणा पत्र जारी गर्दै अगस्ट २३-२५ मा दुबईमा सम्पन्न भयो ।

नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री विना मगरको प्रमुख आथित्यमा सम्पन्न उक्त भेलामा नेपाल सरकार श्रम मन्त्रालयका उपसचिव विपिन आचार्य, पुर्व श्रम मन्त्री रमेश लेखक, मध्यपुर्वका १२ देशका एनआरएनए प्रतिनिधि, आईसिसी प्रतिनिधि तथा युएईमा रहेका नेपालिहरुको सकृय सहभागिता रहेको थियो ।

मध्यपुर्वका मुलुकमा कार्यरत नेपालिहरुले भोग्दै आएका समस्याहरुमा केन्द्रीत रहेर त्यसको निराकरणकालागी नेपाल सरकारले खेल्नु पर्ने भुमिकाको बारेमा बृहत् छलफल भएको उक्त भेलाले नेपाल सरकारलाई विभिन्न विषयमा सुझाव सहित कार्यान्वयनकालागी आग्रह गरेको छ ।

शून्य लागतमा वैदेशिक रोजगारमा कामदार पठाउने नितिलाई प्रभावकारी बनाउन सम्बन्धित मुलुक सँग यथाशिघ्र श्रम सम्झौता गर्न, कामदारलाई दक्ष बनाई अभिमुखिकरण तालिम पश्चात् मात्र पठाउने व्यवस्था मिलाउन सरकार सँग आग्रह गरेको छ ।

नेपाली दुतावास मार्फत पु:न श्रम स्वीकृति दिने व्यवस्था, घरेलु कस्मदारलाई श्रम स्विकृति तथा वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई देशमा नै पुनर्स्थापनाकोलागी प्रशिक्षण तथा रोजगारिको कार्यक्रम संचालन आग्रह गरेको छ । यसैगरी नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, संवर्धन एवं प्रवर्द्धनका लागी दुतावासको संरक्षकत्वमा नेपाली संस्कृति केन्द्र स्थापन गर्न जोड दिएको छ ।

वैदेशिक रोजगार ऐन विपरित भिजिट भिषामा कामदार ल्याई अलपत्र पार्ने कम्पनी तथा व्यक्तिलाई कार्वाहिको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । साथै दुतावासबाट कानुनी सेवा प्रदान गर्न आवश्यकता अनुसार वकिलको व्यवस्था गरि जेल जीवन विताईरहेकाहरुको लागी कानुनी प्रतिरक्षाको व्यवस्था यथाशिघ्र गर्न अनुरोध गरेको छ ।

वैदेशिक रोजगारिबाट फर्किएका नेपाली कामदारलाई सीप र दक्षता परिक्षण गरो दस लाख रुपैयाँ ॠण दिने सरकारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई अनुरोध गरेको छ ।

छैटौं मध्यपुर्व क्षेत्रीय भेलाले जारी गरेको घोषणा पत्रको पुर्ण पाठ ।

खाडी राष्ट्र अन्तर्गत मध्यपुर्वका १२ वटा देशहरुमा नेपाली श्रमजीवी श्रमिकहरुको बिचमा कृयाशिल गैरआवासीय नेपाली संघहरुको छैटौं मध्यपुर्व क्षेत्रीय भेला २३ र २४ अगस्टमा युएईको दुबईबाट पारित गरिएको १६ बुँदे घोषणपत्र;

१, नेपाल सरकारले लागु गरेको शुन्य लागतमा कामदारलाई बैदेशीक रोजगारमा पठाउने नीतिलाई प्रभावकारी रुपमा कार्यन्वयनका लागि सम्बन्धित मुलुकसंग यथाशिघ्र श्रम सम्झौता गर्न आग्रह गर्ने साथै, नेपाली कामदारलाई दक्ष बनाई र गन्तब्य देशबारे आबश्यक अभिमुखीकरण तालिम दिएर मात्रै पठाउने ब्यबस्था मिलाउन नेपाल सरकार लाई अनुरोध गर्ने ।

२, वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगीबाट जोगाउनका लागि नेपाली दूतावासबाटै मागपत्र प्रमाणीकरण गर्नुपर्छ भन्ने एनआरएनको मागलाई सरकारले सम्बोधन गरेकोमा स्वागत गर्दै यसलाई प्रभाबकारी र छिटो कार्यसम्पादन गर्नका लागि आधुनिक प्रविधि प्रयोग गरी कागजात विहिन प्रणालीद्धारा कार्यन्वयन गर्न आग्रह गर्ने ।

३, नेपाली कामदारलाई नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिने ब्यबस्था यथासिघ्र कार्यान्वयनमा ल्याउनको लागि पराराष्ट र श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयलाई अनुरोध गर्ने ।

४ं, विदामा घर गएका खाडी क्षेत्रमा कार्यरत घरेलु कामदारलाई विशेष गरी महिला कामदार सोही रोजगारदाताकोमा पुन: काम गर्न चाहेमा अभिलेखीकरण गरी श्रम स्वीकृति दिन सरकारसंग आग्रह गर्ने साथै बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई देशमै पुर्नस्थापनाको लागि प्रशिक्षण तथा रोजगारीको कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने । एक हजारभन्दा बढी महिलाहरु कार्यरत देशमा आवश्यकता अनुसार संंरक्षण गृह बनाउन नेपाल सरकारलाई आग्रह गर्ने ।

५, गैरआवासीय नेपाली संघले बिगतदेखि उठाउँदै आएको हजारे अभियान अर्थात् बैदेशिक रोजगारमा जाने नेपाली कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टीको लागि आवश्यक ब्यबस्था गर्न नेपाल सरकारसग जोडदार माग गर्दछ ।

६, नेपाली भाषा,कला,साहित्य र संस्कृतिको संरक्षण,संम्बर्धन एवं प्रर्वधनका लागी हरेक देशमा एनआरएनले सञ्चालन गर्ने गरी नेपाली दूतावासको संरक्षकत्वमा रहने नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्न सरकारलाई आग्रह गर्ने ।

७, एनआरएनको राष्टिय समन्वय परिषदलाई विधिवत रुपमा सम्बन्धीत राष्टमा दर्ता गराउन परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आबश्यक सिफारीस प्रदान गर्न अन्तर्राष्टिय समन्वय परिषदलाई आग्रह गर्ने ।

८, वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्न परराष्ट, श्रम र गृह मन्त्रालयवीच समन्वय प्रभावकारी वनाउन एकीकृत विद्युतीय सुचना प्रणाली लागु गर्न अनुरोध गर्ने साथै वैदेशिक रोजगारीबाट फर्केका कामदारको दक्षता सहितको अभिलेख राख्न अनुरोध गर्ने ।

९, वैदेशिक रोजगारीको नाममा वैदेशिक रोजगार ऐन विपरीत भिजिट भिसा र कथित आजाद भिसाको नाममा कारोवार गर्ने र कामदारलाई अलपत्र बनाउने संलग्न कम्पनी वा ब्यक्तिलाई सम्बन्धीत कानुन बमोजिम कडा कारबाही गर्न आग्रह गर्ने ।

१०, बिदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार दिन सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न सरकारलाई अनुरोध गर्ने ।

११, युएईको दुवई, लेवनान र इराकमा महाबाणिज्य दूतको कार्यालय तथा कानुनत: पाँच हजार नेपाली कामदार रहेको देशमा श्रम सहचारी स्थापनाको लागि नेपाल सरकारलाई अनुरोध गर्ने ।

१२, नेपाली दुतावासमा कानुनी सेवा प्रदान गर्ने गरी आवश्यक्ता अनुसारको वकिलको यथाशिघ्र व्यवस्था गर्नु पर्ने, जेलमा रहेका कामदारको यथासिघ्र कानुनी प्रतिरक्षा गर्नुको साथै हस्पिटल कोमामा रहेका नेपाली कामदारलाई यथासिघ्र स्वदेशमा ल्याई उचित स्वास्थ्य उपचारकोे प्रबन्ध मिलाउन अनुरोध गर्ने ।

१३, वैदेशिक रोजगारीबाट फर्केका नेपाली कामदारको सीप र दक्षता परिक्षण गरी १० लाख रुपैयाँ ऋण दिने सरकारको नीतिलाई प्रभाबकारी कार्यान्वयन गर्न सरकारलाई अनुरोध गर्ने । नेपाली कामदारलाई परिवार संग एकिकरण गर्न स्वदेशमै उद्यमशीलता गर्न एनआरएनले प्रोत्साहन गर्ने ।

१४, गैरआवासीय नेपालीको परिभाषा भित्र पर्नको लागि दुई बर्ष विदेशमा बस्नुपर्ने वर्तमान प्राबधानलाई सुधार गरी अन्तर्राष्टिय प्रचलन अनुसार एक आर्थिक बर्षमा १८२ दिन भन्दा बढी विदेशमा बसेको हुनुपर्ने भनि व्यवस्था मिलाउन अनुरोध गर्ने, साथै गैरआवासीय नेपाली अभियानमा सक्रियरुपमा संलग्न भई नेपाल फर्केका इच्छुक अभियन्ताहरुलाई गैरआवासीय नेपाली संघको क्रियाकलापमा संलग्न गराउन अन्तर्राष्टिय समन्वय परिषदलाई आग्रह गर्ने ।

१५, मध्यपूर्वका पर्यटकको लागि नेपाललाई आकर्षण गन्तव्य बनाउन एनआरएनले पर्यटन मन्त्रालय संग सहकार्य गर्ने ।

१६, गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय बैठकहरुले उठाउँदै आएका, घोषणा गरेका मुद्दालाई कार्यान्वयन गर्नको लागि क्षेत्रीय संयोजकको संयोजक प्रत्येक राष्ट्रिय समन्वय परिषदका अध्यक्ष प्रतिनिधित्व रहने एक समिति गठन गर्ने ।

धन्यवाद
गैरआवासीय नेपाली संघ,
रास्ट्रिय समन्वय परिषद यूएई ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर