Aamsanchar

जीवन उपयोगी प्राथमिक उपचार तालिम दिदैं

Author Image
सोमवार, असोज ८, २०७५

ओम उप्रेती / युएई ।

युएईमा सिकेको ज्ञान, सीप र जिवन उपयोगी कला सिकाउन युएईका नेपाली व्यावसायी ओम उप्रेती पुनः नेपालका आठ जिल्ला पुग्ने भएका छन् ।

गत चैत १ देखि शुरु भएको यो अभियानको दोश्रो चरण आमामी असोज १३ गते स्याङ्जा जिल्लाबाट शुरु हुने अभियन्ता तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई तथा डिस्कभरी रोयल स्पोर्ट्स प्राली नेपालका प्रबन्ध निर्देशक ओम उप्रेतीले जानकारी दिएका छन् ।

आगामी १३ असोजमा स्याङ्जाबाट शुरु गरिने अभियानको उदधाटन कार्यक्रम वालिङ नगरपालिका हलमा हुनेछ । पाल्पाको रामपुरमा असोज १४ गते रामपुर नगरपालिका-५ बेझाङको होटेल न्यु श्रीनगरमा हुने कार्यक्रम छ । तालिमको तेस्रो दिन गुल्मीमा असोज १५ गते मदाने-६ को पृथ्वी मावीमा हुनेछ । त्यसैगरी रुपन्देहीमा असोज १६ गते सियारी-२ को मैनिया उच्च मावीमा नि: शुल्क प्राथमिक तालिम आयोजना हुनेछ ।

त्यसैगरी असोज १९ मा सर्लाही नगरपालिकाको सगुन बचत तथा रिन सहकारी हलमा उक्त तालिम आयोजना हुनेछ । त्यसपछि असोज २० मा इटहरी उपमहानगरपालिकाको १७ नम्बर वडा कार्यालयको सभाहल पकली मा तालिम संचालन हुनेछ । असोज २१ गते मोरङको बेलवारी-१ मा रहेको मदन मोहन आशृत पुस्परत्न साँस्कृतिक भवनमा तालिम संचालन गर्ने कार्यक्रम छ भने समापन कार्यक्रम असोज २२ गते झापामा हुनेछ । सुरुङाको कनकाई बहुमुखी क्याम्पसमा नि:शुल्क प्राथमिक उपचार तालिम भाग-२ को समापन हुने कार्यक्रम तालिका सार्वजनिक भएको अभियन्ता ओम उप्रेतीले जानकारी दिएका छन् । किन आयोजना हुदैछ यो तालिम ?

पहाडी र गाउँनै गाउँले भरिएको हाम्रो देश नेपालमा स्वास्थ्यसेवा महँगो र सर्वसाधारण नेपालीहरुको पहुँचबाट अझै पनि बाहिरै छ । आधारभूत स्वास्थ्य ज्ञान अनि चेतनाको कमी र आकस्मिक प्राथमिक उपचारको अज्ञानताका कारण हजारौं नेपालीहरुको बर्सेनि ज्यान गएको समाचारहरु हामी सुनिरहेका छौं । स्वास्थ्यचौकी, अस्पताल र चिकित्सकहरु सबै गाउँगाउँमा पुग्न नसकेको वर्तमान नेपाली ग्रामीण यथार्थलाई मध्यजनर गर्दै युएईमा कार्यरत एक नेपालीले आफूले सिकेको प्राथमिक स्वास्थ्य उपचार र विपत्तिमा कसरी मानिसलाई बचाउने भन्ने ज्ञान बाँड्ने सोच दिमागमा खेलाए । आफूले रोजगारीका क्रममा सिकेको ज्ञानले विभिन्न दुर्घटना, विपत्तिबाट कैयौलाई परदेशमा बचाएको आफ्नो अनुभव नेपालमा पनि लागू गर्न सके मानव जीवन सफल हुने र केहीको जीवन बचाउन सके पुण्य हुने उनले विचार गरे ।

आफ्नो ज्ञान र सीप जति बाँड्यो यति राम्रो हुन्छ भन्ने मातापिताबाटै सिकेका थिए । तसर्थ, उनले विदेशमा सिकेको ज्ञानलाई केकसरी नेपालसम्म फैलाउन सकिन्छ भनी परिकल्पना गरे । विदेशबाट पैसामात्र होइन, सीप, ज्ञान र नयाँ चेतना पनि नेपाल भित्र्याउनपर्छ भन्ने उनको पहिलेदेखिकै योजना थियो । प्राथमिक उपचारको कारण अकालमा मर्न लागेका धेरैलाई बचाएको आफ्नो ज्ञान नेपालमा फैलाउनु पनि समाजसेवाको एक अंश मान्दै सुरु गरे प्रोजेक्ट–निःशुल्क प्राथमिक उपचार तामिल । । को हुन ओम उप्रेती ? ।

पैसा दिएर होइन, जीवन उपयोगी ज्ञान दिएर अकालमै मर्न लागेकाहरुलाई नयाँ जीवन दिनु वास्तविक समाजसेवा ठान्ने ओम उप्रेती २०३६ साल जेठ २९ गते हालको खैरेनी नगरपालिका चितवनमा माता चन्द्रमाया उप्रेती र पिता कृष्णदत्त उप्रेतीका साझा सपना बनेर सातौ सन्तानका रुपमा जन्मिएका हुन् । समाजसेवी पिता र कर्मयोगी माताको प्रभाव उनमा सानैदेखि परेको थियो । आफ्ना पिताको सत्कर्म र सेवाको भावना उनमा सर्लक्कै सरेको रहेछ । उनले कहिले कापिया माध्यमिक विद्यालय खैरेनी त कहिले नव आदर्श माध्यमिक विद्यालय काठमाडौं र काठमाडौं नक्सालको नन्दी माध्यमिक विद्यालय गरेर प्रवेशिका पास गरे ।

प्रवेशिका पश्चात काठमाडौंको रत्न राज्यलक्ष्मी कलेजमा प्रवीणता प्रमाणपत्रसम्म अध्ययन गरेपछि उनले वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेटसको यात्रा तय गरे । लन्डनको प्राथमिक उपचार सम्बन्धी अन्तर्राष्ट्रिय मान्यताप्राप्त हाइफिल युकेबाट सम्बन्धन प्राप्त तालिमकेन्द्रबाट १ महिने अति प्रभावकारी तथा जीवनोपयोगी तामिल पनि लिए । यी विविध तालिम, कार्य अनुभव र आत्मविश्वासका कारण ओमले सन् २०१४ मा युएईको दुबई सहरमा आफै कम्पनी स्थापना गरी लाइफ गार्डहरुलाई तालिम दिन थाले । डिस्कभरी रोयल स्पोर्टस एलएससी उनले स्थापना गरेको कम्पनी हो । यो कम्पनीले तालिममात्र होइन, विभिन्न होटल, क्लब तथा पपर्टीजहरुलाई तालिमप्राप्त लाइफ गार्डहरु पनि उपलब्ध गराउँछ ।

यसको नेपाल शाखा पनि स्थापनाको चरणमा रहेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भइसकेको यसको शाखा काठमाडौंको नयाँ बसपार्क एरियामा रहनेछ । लाइफ गार्ड उत्पादनको क्रममा अत्यावश्यक मानिएको प्राथमिक उपचारको अन्तर्राष्ट्रिय प्रशिक्षक आफै भएका नाताले उनले नेपालका सबै जिल्लामा प्राथमिक उपचारक व्यक्तिहरु उत्पादन गर्ने सोच पहिलेदेखि नै पालेका थिए ।

गत २०७४ सालको चैत १ गतेदेखि ८ गतेसम्म नेपालका सात वटा जिल्लामा ओमकै नेतृत्वमा पहिलो चरणको पहिलो चरणको निःशुल्क प्राथमिक तालिम सम्पन्न भइसकेको छ । के के सिकाइन्छ तालिममा ? यस तालिममा अचानक हर्टअट्याक भएमा सिपिआर विधिबाट कसरी बिरामीलाई नवजीवन दिने, फेन्ट भएमा के गर्ने, रक्तश्राव भएमा कसरी रोक्ने लगायतका १५ वटा विविध जटिल अवस्थामा बिरामीलाई बचाउने तरिका सिकाइन्छ ।

यस तालिममा १८ वर्षदेखि ५० वर्ष उमेर समूहका १५ सय सामाविक कार्यकर्ता, विद्यार्थी, शिक्षक, प्रहरी अधिकारी तथा सर्वसाधारण नेपालीले भाग लिई सकेका छन् । यो तालिम चितवन, धादिङ, तनहुँ, कास्की, दोलखा, सिन्धुपाल्चोक, काभ्रेप्लान्चोक र काठमाडौंमा आयोजना भइसकेको छ । झापाको समन्वय एवम व्यवस्थापन झापाली समाज युएई नेपाल सम्पर्क समितिले गरेको समाजका पुर्व सल्लाहकार सम्योजक भरत शिवाकोटीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर