Aamsanchar

समृद्ध झापा बनाउन जुटे अन्तर्राष्ट्रिय झापाली

Author Image
सोमवार, असोज १५, २०७५

दक्षिण कोरिया ।

समृद्ध झापा बनाउन अन्तर्राष्ट्रिय झापाली जुटेका छन् । एक अर्ब बढीको लगानी गर्ने ७ वुँदे घोषणा पत्र जारी गर्दै समृद्ध झापाको परिकल्पना सहित उनीहरु जुटेका हुन् ।

अन्तर्राष्ट्रिय झापाली समाज (अझास) को दोस्रो क्षेत्रीय सम्मेलनमा सहभागी २४ भन्दा वढी मुलुकबाट आएका झापाली प्रतिनिधिहरुले सामुहिक लगानी र समृद्ध झापा बनाउने प्रतिवद्धता व्यक्त गर्दै दक्षिण कोरियाको सिउलस्थित नोभोटेल होटलको सभाहलबाट यस्तो उद्घोष गरेका हुन् ।

झापामा शब बाहनको कमीका कारण देखिएको समस्यालाई मध्यनजर गर्दै तत्काल ५ वटा शब बाहन र एम्बुलेन्स स्थानीय निकायसँग सहकार्य गरी सञ्चालनमा ल्याउने, समृद्ध झापा, प्रदेश नं. १ तथा समृद्ध नेपाल निमार्णका लागि एनआरएन लगायतका राष्ट्रप्रेमी संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने भएको छ ।

त्यसैगरी अझासले सञ्चालन गरेको शिक्षा सम्बन्धी योजनालाई समन्वय गर्ने र झापा जिल्लाका अधिकतम् विद्यालयको स्तरोन्नतिका लागि आवश्यक कदम चाल्ने, कृषि, स्वास्थ्य, पर्यटन, खेलकुद, बैक तथा उत्पादनशील क्षेत्रमा सामुहिक लागनीका विषयमा पहिलो कतार सम्मेलनले पारित गरेको ५० करोडको बजेटलाई एक अर्ब बनाउने निर्णय गरेको छ ।

सम्मेलनमा विश्वभरि छरिएर रहेका झापालीका साथै झापाका राजनीतिज्ञ, कलाकार, व्यवसायी, पत्रकार, विद्यार्थी तथा कोरियामा विभिन्न पेशामा आवद्ध झापाली एवम् कोरियामै क्रियाशील अन्य विभिन्न संघसंस्था, कोरियाका लागि नेपाली राजदूतावासका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

सम्मेलनको सभापतित्व अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले गरेका थिए भने प्रमुख आतिथ्य प्रदेश नं. १का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गरेका थिए । त्यसैगरी विशिष्ठ अतिथिमा राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र ३का सांसद राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा तथा राजदूत अर्जुनजंगबहादुर सिंह रहेका थिए ।


अझासका संरक्षक भवानी ओली, सल्लाहकार एवम् दक्षिण कोरियाका लागि मानार्थ पर्यटन दूत केपी सिटौला, वरिष्ठ उपाध्यक्ष छत्र सुब्बा हङकङ, अझास जापानबाट मेघराज नेपाल, अमेरिकाबाट मुकुन्द ढुंगाना, अष्ट्रेलियाबाट दीपक चुडाल, कतारबाट सन्तोष पराजुली, नवीन पोखरेल, अजय राजवंशी, सीताराम घिमिरे अझास अष्ट्रेलिया, डिल्ली थापा अमेरिका, तुलसी उप्रेती हङकङ, निरजा ढुंगाना, सरिता थापा अमेरिका, ललितकुमार न्यौपाने युके, राजु थापा कोरिया, भूपाल सिटौला केन्द्रीय सचिव, महेन्द्र चम्लगाई केन्द्रीय प्रवक्ता, हेम लावती तथा कोरियन संस्था जाबी खोङ्दाक हिका संयोजक जिसाङ सुनीम लगायत अझासका प्रतिनिधि, एनआरएन, बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

सम्मेलनमा नेपालकै चर्चित गायक झापाली प्रमोद खरेल, हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले प्रस्तुतिसँगै जुनसुकै सामाजिक कार्यमा आफूहरु पनि सहभागी हुने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर