Aamsanchar

मासुसँग धूमपान र पेय पदार्थ खाँदै नखानुहोस्, सागसब्जी र फलफूलमा जोड दिनुहोस्

Author Image
बुधवार, असोज ३१, २०७५

काठमाडौं,

दशैँ भन्नेबित्तिकै रातो टीका, जमरा र मासुको पर्यावाचीको रूपमा लिने गरिन्छ। दशैँमा घरमा खसी काट्नै पर्ने, मासु खानै पर्ने मान्यता अझै पनि नेपाली समाजमा रहेको छ।

लामो समय घरबाहिर रहेका परिवारका सदस्यसमेत घरमा जम्मा भएर मीठामीठा परिकार खाने गरिन्छ। तर दशैँमा खानपानमा ध्यान नदिँदा उच्चरक्तचाप, मुटुरोग, मधुमेह र पेटका समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने र ग्यास्ट्रिकको समस्या देखिन्छन्।

एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म राखेर खाँदा स्वास्थ्यलाई असर गर्छ। यस्तै, दशैँमा खाइने रातो मासुले कोलेस्ट्रोल बढ्ने र चिल्लो पदार्थ बढेपछि रक्तनली साँघुरिँदा हृदयाघात, उच्चरक्तचापको खतरा बढ्छ। त्यसैले रामाइलो र खुसीसाथ मनाइने दशैँमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा जटिलता थपिने हुँदा खानपानमा विशेष ध्यान दिनु आवश्यक छ।

रातो मासु कम खाने

दशैँमा प्राय: सबैको घरमा अरू बेलाभन्दा धेरै मासुलगायत खानेकुरा खाने चलन छ।

चाडपर्व भन्नेबित्तिकै काम नगरी घरमै आफन्तहरू जम्मा भएर यस्ता धेरै प्रोटिन तथा चिल्लोयुक्त चिज र रातो मासु खानाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न गई उच्चरक्तचाप, हृदयाघात हुने जोखिम बढ्छ। त्यसैले दशैँमा रातो मासुभन्दा सेतो मासु अर्थात् कुखुरा, माछा खानु उपयुक्त हुन्छ। माछामा चिल्लो कम हुनुका साथै प्रोटिन र भिटामिनजस्ता शरीरलाई आवश्यक तत्त्वहरू प्रशस्त हुन्छन्।

माछामा भिटामिन बी, फोस्फोरस, आयोडिन, सेलिनियम, पोटासियमजस्ता खनिज तत्त्व पाइने हुँदा यसले शरीरलाई आवश्यक पर्ने प्राय: धेरै खनिजतत्त्वको पूर्ति गर्छ र स्वस्थकर पनि हुन्छ। मुटु र मधुमेह तथा उच्चरक्तचाप भएका मानिसले रातो मासु नखानु नै राम्रो हुन्छ।

चिल्लो, पोलेको, धेरै फ्राइ गरेको मासु कम खाने

धेरै चिल्लो र फ्राइ गरेका खानेकुराले रक्तचाप र मधुमेहका बिरामीलाई असर गर्छ। धेरै फ्राइ गरेका खानेकुरा खाँदा फ्राइ गर्न प्रयोग गरिएको तेल, घ्यू धेरै बेरसम्म तताउँदा त्यसमा विषालु पदार्थ जम्छ, जसले मुटुलाई निकै हानि पुर्‍याउँछ।

पकाएको माछामासु धेरै दिनसम्म खानु पनि राम्रो हुँदैन। पकाएको मासु लामो समयसम्म राख्दा दूषित हुन्छ र हाम्रो शरीरलाई हानी गर्छ।

धूमपान र पेय पदार्थ नखानु राम्रो

दशैँमा माछामासुका साथै धुम्रपान तथा पेय पदार्थको प्रयोग धेरै हुन्छ। वर्ष दिनमा आउने चाड भन्दै साथीभाइसँग रमाइलो गर्ने बहानामा माछामासुसँगै पेय पदार्थको प्रयोग अत्यधिक हुने भएकाले रमाइलो गर्ने बहानामा माछामासुसँगै खाइने पेय पदार्थले शरीरलाई हानी गर्छ।

चाडबाडको बहानामा खाइने यस्ता पेय पदार्थ र धूमपानले मुटु र फोक्सोलाई हानि गर्छन्। चिसो र पेय पदार्थमा अत्यधिक गुलियो हुने भएकाले धेरै सेवन गर्नु राम्रो हुँदैन। सुगर, प्रेसर र मुटुरोग भएका व्यक्तिले पेय पदार्थ सेवन गर्नु उचित हुँदैन।

मासुभन्दा हरियो सागसब्जी र फलफूल धेरै खाने

दशैँमा धेरै माछामासु खानुभन्दा फलफूल, दूध, दही, सलाद र हरियो सागपातमा जोड दिनु राम्रो हुन्छ।

यसले शरीरमा कोलेस्ट्रोलको मात्रालाई बढ्न दिँदैन। धेरैले मासु बेलुकी खाने गरेका छन् तर मासु सकेसम्म बिहान र दिउँसोको समयमा खानु राम्रो हुन्छ।

(स्वास्थ्य विशेषज्ञहरूसँगको कुराकानीका अाधारमा)- थाहाखबरबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर