Aamsanchar

ललितको जीवन बचाउन अभियान समितिको अपिल

Author Image
मङ्गलवार, पौष २४, २०७५

अमित खम्बू / अर्जुनधारा।

झापाको अर्जुनधारा नगरपालिका–३स्थित वडा कार्यालयको सभाहलमा सोमबार आयोजित कार्यक्रमका सहभागी महिला बीबीमाया तामाङ उपस्थित सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिन साहस बटुल्न सकिनन् ।

बोल्ने धेरै इच्छा थियो होला उनलाई तर केवल मलिन अनुहारमा उनीसँगै बसेका सहभागीले दिएको जवाफमा मात्र उनी घोत्लिएकी थिइन् । उल्लेखित दृश्य रोङ गाँउपालिका–२ बदमटार निवासी ललित तामाङ बचाउ अभियान समितिले आयोजना गरेको पत्रकार भेटघाटमा देखिएको हो ।

श्रम गर्न भारत पुगेर आवश्यक घरखर्च सञ्चालन गर्न अभिभावकलाई सहयोग गर्दै आएका चार जना सदस्यमध्ये परिवारको मुख्य सदस्यकोरुपमा रहेको २२ वर्षीय छोराको दुवै मृगौला फेल भई थलिएपछी उनी सधैं मलिन मुद्रामा भेट्टीने गरेको बताइएको छ । सम्पत्तीको नाममा पाँच रोपनी जग्गा रहेको उनको परिवारमा कमाउने सदस्यनै रोगग्रस्त भएपछी मधुमेह रोगका बिरामी उनलाई थप गलाएको छ ।

दुई महिनाअघि अचानक शरीर सुन्निनु र पिसाबमा रगत देखिएपछी उपचार गर्न बिर्तामोडस्थित बीएण्डसी हस्पिटल हुँदै ललित बिराटनगरस्थित नोबेल हस्पिटलसम्म पुगेका थिए । नोबेलका डा.शैलेन्द्रकुमार श्रेष्ठले बाएप्सी गर्दा नर्मल बताएको उनलाई भारत पश्चिम बंगालको सिलीगुडीस्थित बेंगाल किड्नी केयर सेन्टरमा मृगौला फेल भएको पत्ता लागेको अभियानका अध्यक्ष जयबहादुर तामाङले बताए ।

त्यसपछी पुस दोस्रो साता काठमाण्डौंस्थित वीर हस्पिटलमा पुनः स्वास्थ्य परीक्षणका लागि पुगेको उनलाई सम्बन्धित चिकित्सकले पूर्णरुपमा मृगौला फेल भएको र प्रत्यारोपण मात्र अन्तिम उपाय भएको जानकारी दिएपछी हाल अर्थिकरुपमा विपन्न तामाङ परिवार पीडामा छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसमा दाताले मृगौला दान गर्दा प्रत्यारोपण खर्च निःशुल्क भएपनि अन्य आवश्यक उपचारका लागि अनुमानित १० देखि १२ लाख रुपैयाँ लाग्ने अभियानका सहसंयोजक सन्तबहादुर तामाङले बताए । हालसम्म उपचारको क्रममा अनुमानित तीन लाख रुपैयाँ खर्च भइसकेको ललितले रोगसँग संघर्ष गर्ने क्रममा भारतको उत्तर प्रदेशस्थित बीके आरोग्यबाट पनि आयुर्वेद औषधी सेवन गरिरहेको भाइ किशोरले बताए ।

रोग निको भए समाजको लागि केही सकारात्मक कार्य गर्ने इच्छा व्यक्त गरेको ललितलाई बचाउन अभियानमार्फत् छिमेकी नगरपालिका माई र सूर्योदय, झापाका अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाँउपालिकालगायत अन्य संघ–संस्थाहरुसँग सहयोगको लागि अपिल गर्ने अभियानका अध्यक्ष जयबहादुरले जानकारी दिए ।

अभियानमार्फत् हालसम्म ३० हजार रुपैयाँ संकलन भएको र सहयोग जुटाउन पहल भइरहेको उनले बताए । ललितलाई सहयोग गर्न इच्छुक महानुभावहरुले ग्लोबल आईएमईको खाता नम्बर ५८०७०१०००५४५१मा सहयोग रकम जम्मा गर्न सक्ने तथा सम्पर्क नम्बर ९८४४६४०५२८ र ९८२४०५८४७९मा सम्पर्क गर्न उनीहरुले सबैसँग आव्हान् गरेका छन् ।

भेटघाटमा सहभागी वडा नम्बर २ का वडाध्यक्ष रघुनाथ खनाल, नगर सभा सदस्यद्धय बलबहादुर समाल र होमनाथ दुलालले ललितको उपचारमा सहयोग गर्न नगरपालिकामा संयुक्तरुपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)