Aamsanchar

मेडिकल कलेज आउनेभएसंगै बिएण्डसी सर्वसुलभ

Author Image
बिहिवार, माघ २४, २०७५

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नो सेवालाई सर्वसुलभ बनाएको छ ।

निजी मेडिकल कलेजभएपनि आगामी वर्षबाट मेडिकल कलेज सञ्चालनको अनुमति पाउने वातावरण सिर्जना भए लगत्तै अस्पतालले बिहिबारबाट काठमाण्डौं स्थित त्रिवि शिक्षण अस्पताल र धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान झैं आफ्नो सेपासुविधा बनाएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।

उनले भने ‘आजकै मितिबाट लागू हुनेगरी अस्पतालले दिने सबै किसिमका सेवाको शुल्क सामुदायिक अस्पताल सरहको बनाएका छौं र सबैखाले रोगी बिरामीहरुले अब थप सहजताका साथ स्वास्थ्य उपचार गर्न पाउने विश्वास लिएका छौं ।’
अस्पतालले चिकित्सा विधेयक पारितभएको खुशी ब्यक्त गरेको छ ।

अरर्बौ रुपैंया लगानी गरेर सञ्चालनमा आएको अस्पतालले चिकित्सा विधेयक पासभए लगत्तै मेडिकल कलेज खोल्ने वातावरण सिर्जना भएको अस्पतालका प्रबन्ध निर्देशक प्रसाईको भनाई छ । उनले विगतमा आफुले कुनै गल्ति गरेकोभए क्षमादिन आग्रह गर्दै यो अस्पताल अब मेची अञ्चलबासीको साझा सम्पत्ति भएको उल्लेख गरे ।

फागुन १ गतेदेखि १५ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । अस्पतालको सामाजिक सेवा कार्यअन्र्तरगत सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको प्रसाईको भनाई छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ ले बिएण्डसीलाई विधिवतरुपमा मेडिकल कलेजको बाटो खोलिदिएकाले आगामी शैक्षिक वर्षदेखि एमबीबीएस कक्षा सञ्चालन गरिने पनि प्रसाईले स्पष्ट पारेका छन् । बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलमा एमबीबीएस अध्ययन गर्न आउने एकसय जना विद्यार्थीको कोटामा राज्यको नीतिअनुसार १० प्रतिशत आरक्षण गरिएको र सो पूर्णतः निशुल्क रहने पनि प्रसाईले जानकारी दिए ।

पत्रकारसम्मेलनमा कार्यकारी निर्देशक प्रसाईले अस्पताल सञ्चालनको दौडमा सहयोग गर्ने तथा असहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै यो अस्पताललाई कुनै एक पार्टी वा अन्य अर्नगल रुपमा प्रचार नगरि सबैको साझा सम्पत्तिको रुपमा हेरेर यसको संरक्षणमा जुट्न सबैसंग आग्रह समेत गरेका छन् ।

बिएण्डसीले थप गर्न लागेको पूर्वाञ्चल क्यान्सर हस्पिटलको भौतिक संरचनाहरु निर्माण कार्य अन्तिम चरणमा रहेकाले अब केही महिनाभित्रै सञ्चालन गर्नेगरी मेसिन औजारहरुको खरिद प्रक्रिया सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । हस्पिटलले सेवासुविधा सर्वसुलभ बनाउनुका साथै ताप्लेजुङ, पाँँचथर र इलाममा २५–२५ शैयाको अस्पताल समेत सञ्चालन गर्नुका साथै छिट्टै झापाको दमकमा पनि ५० शैयाको अस्पताल सञ्चालनको तयारी सुरु गरेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर