Aamsanchar

असिनापानीले दश लाख बढीको तरकारी नष्ट

Author Image
शुक्रवार, फागुन १७, २०७५

गलेश्वर,

बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो ।

असिना र पानीले बन्दा, काउली, आलु, गाजर, रायोसाग, लसुन, प्याज, मुलालगायतका बेमौसमी तरकारी खेतीमा क्षति पु¥याएको कृषकले गुनासो गरेका छन् । नगरपालिकाको ज्यामरुककोट, खबरा, बगरफाँट, राक्से, सिङ्गा, तातोपानीलगायतका क्षेत्रमा लगाइएको तरकारी खेती असिनापानीले नष्ट गरिदिएको हो ।

असिनापानीका कारण खबरामा मात्रै रु १० लाख मूल्य बराबरको तरकारीमा क्षति पुगेको विगत ४० वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्दै आउनुभएका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । कार्कीको मात्रै रु चार लाख बराबरको तरकारीमा क्षति पुगेको छ ।

असिनाले खबरामा लगाइएको केरा खेतीमा समेत असर पु¥याएको छ । मध्यरातमा परेको असिनापानीले खासगरी म्याग्दी सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा लगाइएको तरकारी बालीमा बढी असर गरेको छ । खानयोग्य तरकारी बाली असिनापानीले नष्ट गरेपछि किसान चिन्तित बनेका छन् ।

नगरपालिकाको खबरालगायत क्षेत्रबाट बेनीबजारमा दैनिक रूपमा तरकारी आयात हुने गर्दछ । जिल्लाको उच्च हिमाली र पहाडी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै तल्लो क्षेत्रमा असिनापानी परेको हो । असिनाले वनजङ्गलमा रुखका हाँगा तथा पातपतिङ्गरसमेत झारेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर