
पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस बेला बोले, ‘बाटो बिनाको पुल कतै बनेको देख्नु भएको छ, बाटो बन्छ यसको लागि भारतीय प्रधानमन्त्रीसँग म सहकार्य गर्छु र बाटो बनाएर छाड्छु । प्रधानमन्त्रीले ओलीले यो शब्द बोलेको पनि तीन महिना बित्यो । त्यसपछि भारतमा लोकसभा निर्वाचनको चहलपहल सुरु भयो र फेरि मेची पुलको कथा सेलायो ।

बाटो निकास बिनाको पुलमाथिबाट हलुका चारपांग्रे, तीन पाङ्ग्रे, दुई पाङ्ग्रे र पैदल यात्री आवतजातव गरिरहेका थिए । चारपांग्रे सवारीसाधन गन्तव्य पुग्न मेची नदीको बालुवा र विहार पक्षले बनाएको ग्राभेल सडक भएर आवतजावत गरिरहेका थिए । तर, बिहीबार राती केही घण्टा परेको पानीले पुल छेऊमै बनाइएको ग्राभेल सडक भत्काई दिएको छ ।
गाडी कुद्ने मेची नदीको बगरमा समेत पानी जमिसकेको छ । भारततर्पmको ग्राभेल सडक भत्किदाँ शुक्रवारदेखि चार पाङ्ग्रे हलुका सवारीसाधन आवतजावत ठप्प भएको छ । वैशाखको दोस्रो सातामै बनाइएको गा्रभेल सडक भत्किदाँ अबको चार महिना के होला भन्दै सवारीधनि र स्थानीय चिन्तित बनेका छन् । भारततर्फ सडक भत्किएपछि शुक्रवार हुलका सवारीसाधन भारत जान फेरि काँकडभिट्टाको मेची पुल प्रयोग गर्न बाध्य भए ।
मेची पुल बनेपछि भद्रपुरमा हलुका सवारीसाधनको चाप ह्वात्तै बढेको थियो । दैनिक एक सयदेखि डेढ सयसम्म भारतीय र नेपाली नम्बर प्लेटको सवारीसाधन मेची पुल प्रयोग गरी आवतजावत गर्दै आइरहेका थिए । भारततर्फ बनाइएको ग्राभेल सडक गए राती परेको पानीले भत्काइ दिएपछि शुक्रवार बिहानदेखि चार पाङ्ग्रे सवारीसाधन ठप्प भएको स्थानीय विक्रम सहनीले जानकारी दिए ।

‘बिहानदेखि पुलसम्म आएर धेरै गाडी फर्कियो, उनले भने, ‘पारी बाटो भत्किएको चालकलाई थाहा भएन, उनीहरू पुलमा आउने र जाने क्रम दिनभर चलिरह्यो । ‘मेची पुल त बन्यो तर यहाँको जनताको दुःख अझै टरेको छैन, स्थानीय मोहित शर्माले भने, ‘पारी सडक भत्किदाँ अब भारत जान फेरि काँकडभिट्टा पुग्नु पर्ने, अहिले नै यस्तो झन् बर्खाको समयमा के होला ? यसतर्फ कसले चासो देखाउने हो ।
५६० मिटर लम्बाई र ९.८ मिटर चौडाइको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ वर्षमा बनेको हो । अहिले मेची पुल प्रयोग गर्ने हलुका सवारी ठप्प भएपछि मोटरसाइकल, साइकल र पैदल यात्री पुल प्रयोग गरी आवतजावत गरिरहेका छन् । मोटरसाइकललाई समेत आवतजावजत गर्न कठिनाइ सुरु भइसकेको छ । अरू केही दिन यसरी नै पानी परे दुई पाङ्ग्रे सवारीसाधन पनि ठप्प हुन्छ, अनि पुलमाथिबाट पैदल यात्री मात्र हिँड्छ ।
एसएसबीले राख्न दिएन ह्युम पाइप
भारततर्फको सडकले निकास नपाउँदा चार पाङ्ग्रे सवारीसाधन गन्तव्य पुग्न मेची नदीको बालुवा वा बगर भएर आवतजावत गर्दै आइरहेका थिए । हिउँदमा जसो त्यसो चल्दै आइरहेका सवारीसाधन बर्खा लागेपछि आवतजावत नै ठप्प हुने देखिएपछि भारततर्फको सडक बनाउन विहार गलगलियाका जनप्रतिनिधि, स्थानीय र व्यापारी ताते ।
किशनगञ्ज जिल्ला भादगाउँ ग्राम पञ्चायतले करिब ७ लाख आन्तरिक बजेट निकासा गरी मेची पुल जोडन बालुवा र माटोसहितको ग्राभेल बाटो बनाउन काम सुरु गरे । विहार पक्षले बङ्गाल छाएर ग्राभेल सडक बनाउन खोज्दा भारतीय पक्ष नै विरोधमा उत्रिए । पश्चिम बङ्गालको भूभाग भएर सडक जोडन खोज्दा बङ्गालका केही स्थानीय र व्यापारी विरोधमा उत्रिए । बङ्गालको व्यापार, व्ययवासमा असर पर्न भएकाले बङ्गाल पक्षले सडक बनाउन अवरोध गरेको बुझिएको छ । बङ्गालले विरोध गरेपछि विहार पक्षले नेपालका जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मीसँग सहकार्य गरी ग्राभेल सडक बनाएर छाडे । तर, बनाइएको सडक बङ्गाल छोएको छैन ।
विहारबाटै घुमाएर नेपाली सीमा क्षेत्रसम्म ल्याएको छ । पारी पट्टी मेची पुलको सडकदेखि विहार पक्षले बनाएको सडक ५० मिटर खाली छ । त्यस खाली क्षेत्रमा ह्युम पाइप राखेर जोडेपछि मात्र ग्राभेल सडकले पूर्णता पाउँछ । तर, सीमा क्षेत्रको पिलर नजिकै ह्युम पाइप राख्न नपाइने भन्दै भारतीय सीमा सुरक्षा बल -एसएसबी_ले दिएको छैन । जसले गर्दा ग्राभेल सडकको काम पनि अधुरो बन्यो ।
यस विषयमा भारत र नेपाल दुवै देशका जनप्रतिनिधिले पटक पटक छलफल गरी बाटोलाई निकास दिन पहल गरे पनि टुङ्गो लगाउन सकेको छैन । अघिल्लो वर्ष भद्रपुर नगरपालिकाबाट ह्युम पाइप राख्न गएका थियौ, तर अन्तर्राष्ट्रिय सीमा भन्दै एसएसबीले राख्न दिए, यसबर्ष ह्युम पाइप राख्ने विषयमा भारतीय पक्षसँग छलफल गरिरहेका छौ’, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले भने, ‘ह्युम पाइप राखेपछि मात्र तत्कालको समस्या समाधान हुन्छ, यस बारेमा माथिल्लो निकायकै पहल आवश्यक देखिन्छ ।’



