Aamsanchar

चिया मजदुरमा आशा र खुशीको पुन बहार, हड्ताल भएको ४५ दिनमा चिया बगान तथा उद्योग खुले

Author Image
मङ्गलवार, वैशाख ३१, २०७६

विर्तामोड । आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन विषयमा सहमति जुटेको छ।

श्रमिकका माग पूरा गर्न उद्योगी सहमत भएपछि श्रमिकले जारी राखेको ४४ दिनदेखिको आन्दोलनसमेत स्थगित भएको छ। मंगलबारदेखि चिया बगान तथा उद्योग खुलेका छन्।

झापाको बिर्तामोडस्थित छत्र गिरीको निवासमा सोमबार भएको करिब साढे १० घण्टा लामो वार्तामा सहमति जुटेको हो। न्यूनतम् ज्याला कार्यान्वयनसहित आफूहरूका माग पूरा गर्न उद्योगी सहमत भएपछि डेढ महिनायताको आन्दोलन स्थगित गरिएको वार्तामा सहभागी नेपाल चिया बगान श्रमिक संघ अध्यक्ष दीपक तामाङले बताए।

गत साउन १ देखि नै लागू हुनेगरी सरकारले तोकेको न्यूनतम् ज्याला तोकिएकै मितिदेखि लागू गर्ने सहमति भएको अर्का श्रमिक नेता सइकुमार राईले बताए।

वार्तामा श्रमिकको तर्फबाट तामाङ, राई, सीता सापकोटा, भूपाल सापकोटा, सन्तकुमार राई र यज्ञप्रताप अधिकारी सहभागी थिए। उद्योगीको तर्फबाट वार्ता टोली संयोजक छत्र गिरी, चण्डी पराजुली, कुमार गिरी र शिवकुमार गुप्तालगायत सहभागी थिए।

श्रमिकले न्यूनतम् ज्याला, सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन माग गर्दै गत चैत १७ आफू कार्यरत उद्योग र बगान बन्द गरेर दिनहुँ आन्दोलन गरिरहेका थिए। सरकारले गत साउनदेखि लागू हुनेगरी चिया बगानमा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला ३ सय ८५ रुपैयाँ तोकेको छ। चिया कारखानामा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला ४ सय २७ रुपैयाँ छ। तर, दुवैखाले श्रमिक अहिले झापामा दैनिक २ सय ७८ र इलाममा २ सय ६५ रुपैयाँमा काम गर्न बाध्य थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर