सत्ताधारी भारतीय जनता पार्टीका एक सांसद बलात्कारका मुख्य आरोपीलाई भेट्न जेल पुगेका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा उन्नाव निर्वाचन क्षेत्रबाट विजेता सांसद साक्षी महाराजले जेलमा गएर बलात्कार आरोपीलाई भेट्न पुगेका छन्।
सांसद साक्षी बलात्कारका आरोपी कुलदीप सेंगरलाई भेट्न जेल पुगेका हुन्। सेंगर उन्नावमा भएको बहुचर्चित बलात्कार प्रकरणका प्रमुख अभियुक्त हुन्। बलात्कारका अभियुक्तलाई भेटेपछि पत्रकारहरूसँग भाजपा सांसद साक्षीले भने, ‘हाम्रा यशस्वी तथा लोकप्रिय विधायक कुलदीप सेंगरजी धेरै दिनदेखि यहाँ हुनुहुन्छ।
चुनाव जितेपछि उहाँलाई धन्यवाद दिन उचित सम्झिए र यहाँ भेट्न आए।’ साक्षी महाराजले बलात्कारका मुख्य अभियुक्तलाई भेटेपछि भारत तथा अन्य मुलुकमा व्यापक विरोध भइरहेको छ। गतवर्ष मात्रै उन्नाव बलात्कार प्रकरणको विश्वभर व्यापक विरोध भएको थियो। कुलदीपलाई एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन्।

कुलदीपले ती युवतीलाई आफ्नो घरमा बोलाएर बलात्कार गरेका थिए। जागिर माग्न गएकी ती युवतीलाई विधायकले बलात्कार गरेका थिए। ती युवतीका बुबालाई विधायक कुलदीप सेंगरका भाइले प्रहरीको उपस्थितिमा कुटपिट गरेका थिए। यो बलात्कार प्रकरणमा अभियुक्त कुलदीपलाई प्रहरीले पनि बचाउन खोजेको आरोप लागेको थियो। त्यसपछि इलाहावाद हाइकोर्टले हस्तक्षेप गर्नुपरेको थियो।



