Aamsanchar

पाँच किशोरको उद्धार, मुम्बईमा ४५ किशोर अझै बन्धक

Author Image
आइतवार, असार २२, २०७६

रोजगारी नपाएर जीवन निर्वाह गर्न अफ्ट्यारोमा परेको अवस्थामा राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई र्पुयाई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काएको हो । उनीहरू बिहीबार साँझ आइपुगेका छन् ।

सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय सरोज सदाय तथा सप्तरीको बोदेबर्साइन नगरपालिका–६ प्रीतमपुरका १४ वर्षीय प्रमोदकुमार सदाय, १४ वर्षीय ललकु सदाय र उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटका १६ वर्षीय अक्षय सदायको उद्धार भएको हो । ‘समाचार आएपछि तत्काल दिल्लीस्थित दूतावाससँग समन्वय र्गयौँ र उनीहरू बन्धक बनाइएको ठाउँ यकिन गरेपछि सकुशल उद्धार सम्भव भएको छ, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले नयाँ पत्रिकासँग भनिन् ।

४५ किशोर अझै बन्धक, उजुरी नगर्न धम्की
दलाल रवि महतोले नै लगेका सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ मिर्जापुरका १५ र भगवानपुर गाउँपालिकास्थित इनर्वा लालपुर गाउँका ३० किशोर अझै बन्धक बनाइएको फर्किएका पीडितले बनाएका छन् । उनीहरूका अनुसार आफूहरूलाई घर फर्काउनुअघि महतो नगर क्षेत्र पुगेका थिए । महतोले बाटो खर्च भन्दै पाँच–पाँच हजार दिएर लहान प्रहरीमा आफूविरुद्ध परेको उजुरी फिर्ता लिन बाबुआमालाई सम्झाउनु भन्दै धम्क्याएको विजय सदायले बताए । ‘उजुरी फर्ता लिए नौ महिनासम्म काम गरेको रकम दिन्छु, अन्यथा तिमीहरूलाई जे पनि गर्न सक्छु भन्दै धम्क्याएका छन् उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मणिलाल विश्वकर्माले लेखेका छन् ।

Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर