Aamsanchar

तीजको विकृति रोक्न प्रशासनलाई ज्ञापनपत्र

Author Image
बुधवार, साउन ८, २०७६

चिप्लेढुङ्गा।

सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व सुसभ्य तरिकाले मनाउने वातावरणका लागि नारी जागरण अभियान कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

तीज आउनु महीना दिन अगाडिदेखिनै सामाजिकरूपमा देखिने भड्किलो गतिविधिले तीजको मौलिकता हराउँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारी चत्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाएको अभियानका संयोजक अञ्जु केसीेले जानकारी दिनुभयो ।

“तीज पर्व पछिल्ला वर्षहरुमा एउटा भड्किलो पर्वको रूपमा स्थापित हुँदै गएको छ । यस पर्वले बोकेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरु विस्तारै गुम्दै गएका छन्”, केसीले भन्नुभयो, “दरखाने र जमघट हुने नाममा तीज आउनु महीनौँअघिदेखि तडकभडक महँगा गरगहना, कपडासहित पार्टीप्यालेसदेखि तारे होटलसम्म हुने भड्किलो प्रदर्शनले यस पर्वको मौलिकतामाथि प्रश्न उठाएको छ ।

धार्मिक मूल्य, मान्यता एवं सांस्कृतिक पक्षको संरक्षण गर्नु हामीसँगै जिम्मेवार निकायको पनि हो, त्यसैले प्रजिअसमक्ष ज्ञापनपत्र बुझाएको हौँ”, केसीले भन्नुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बुढाले सामाजिक विकृति र विसङ्गतिलाई निरुत्साहित गर्न प्रशासन सधैँ तयार रहेको बताउनुभयो । तीजको मौलिक परम्परालाई जोगाउन विभिन्न सचेतनामूलक कार्यक्रममार्फत तीजको मौलिक पहिचानको संरक्षणमा जोड दिने बताउनुभयो ।

महिला हिंसाविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको नारी जागरण अभियानले तीज पर्वको मौलिकता संरक्षण र महिला अधिकारको विषयमा विभिन्न कार्यक्रम गर्ने संयोजक केसीले जानकारी दिनुभयो । यस वर्ष भदौ १५ गते दरखाने र १६ गते हरितालिका तीज पर्व परेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर