Aamsanchar

आज बिजयादशमी, टिकाको साइत वितेकाबर्ष भन्दा राम्रो

Author Image
मङ्गलवार, असोज २१, २०७६

काठमाडौं। बडादसैँको दसौँ तथा मुख्य दिन आज आफ्नो मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । दशैं घरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबढा वा मान्यजनहरुबाट टीका र जमरा लगाइन्छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा विजयादशमीलाई लिइन्छ ।

नेपाल पञ्चांग निर्याण समितिले यस वर्षको बडादशैँको देवी विर्सजनको साईत बिहान ८ बजेर ४५ मिनेटमा र टिकाका लागि १० बजेर ३५ मिनेटमा शुभसाइत रहेको जनाएको छ । तर, आज दिनभर नै टीका लगाउँदा शुभ फल मिल्ने छ त्यसैले विगतका बर्ष भन्दा यस बर्षको टिका राम्रो शुभ छ रहेको समितिले जनाएको छ । विजयादशमीका दिन आफ्नो मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ । आजका दिन परिवारका आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टिका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि अटल सौभाग्य तथा दीर्घायुको आशीर्वाद लिने गरिन्छ । निधारभरि दहीमा मुछिएको अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरिन मान्यजनहरुबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ ।

आज टीकापछि वर्षमा एकपटक खुट्टाले धर्ती छा्ड्नुपर्ने मान्यताअनुसार पिङ् खेल्ने चलन छ । आजको दिनमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले आजको दिनलाइ विजयादशमी भनिएको हो । भगवती दुर्गा र अरू देवीदेवताको नौ दिनसम्म श्रद्धा र भक्तिपूर्वक पूजाआराधना गर्ने क्रममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अटदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देव्रेतिर विजया देवीलाई पुकारेर सोह्र सामग्रीले पूजा गरी जमरालाई पूजा गरेर दुर्गा भवानीलाई चढाइ आरती र पुष्पाञ्जली गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 412

प्रतिक्रिया (०)

सम्बन्धित खबर