Aamsanchar

नारायणीमा मिनी पनीजहाजको सफल परिक्षण, केही दिनमा उदघाटन हुने

Author Image
सोमवार, पौष ७, २०७६

चितवन :  भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा सफल परीक्षण गरिएको छ । आइतबार दिउँसो तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को सफल परीक्षण गरेका हुन् । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म चलाएर परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि निर्माणकर्ताहरुसहित चितवनका नागरिकहरु खुसी भएका छन् ।

क्रुज निर्माण गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले नेपालको इतिहासमै पहिलोपटक यति ठूलो क्रुज सिप बनाएर सफलतापूर्वक परीक्षण गर्दा निकै खुसी लागेको बताए । ‘आज त ऐतिहासिक दिन बन्यो, सबैभन्दा छोटो दिन २२ डिसेम्बरमा, निकै लामो यात्राको शुभारम्भ गरेका छौं,’ प्रवन्ध निर्देशक कँडेलले भने । यो मिनी पानीजहाजले नेपालको जल यातायात र पर्यटनमा नयाँ ढोका खोलेको उनले बताए । नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माण गरिएको क्रुज सिपमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् । दसैँ अगाडि नै तयार गरी सञ्चालनमा ल्याउने भनिए पनि डिजाइनमा केही परिवर्तन गर्नु परेकाले समय लागेको कम्पनीका प्रबन्ध निर्देशक कँडेलले बताए ।

उनका अनुसार क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट थपिएको छ । पहिलाको भन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन परिवर्तन गर्दा एक करोड लागत र १० टन वजन थपिएको कम्पनीको भनाइ छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गत वर्ष चैतबाट थालिएको थियो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ । क्रुजमा दुई वटा इञ्जिन भए पनि दुवै इञ्जिन एकैपटक चल्दैनन् । कुनै कारणले एक इञ्जिनमा समस्या आएमा अर्को चलाइने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी ग्राडुअर मरिन इन्टरनेशनलका प्रमुख सञ्चालक जिओजी सेवाइस्टनले क्रुजमा शक्तिशाली इञ्जिन राखिएको बताए ।

मिनी पानीजहाजभित्र साँस्कृतिक कार्यक्रम गर्दा आवश्यक ड्रेस चेन्जिङ रुम, पानी ट्यांकी राख्ने लगायतका काम भइरहेका छन् । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्छ । यहाँ बैठक पनि गर्न सकिन्छ । दोस्रो तलाको एक छेउमा विशिष्ट व्यक्तिका १० सिट छुट्याइएको छ ।

क्रुक्रुजको दुई तलामा सिसा राख्न बाँकी छ । महिला र पुरुषका लागि अलग–अलग शौचालय, काउन्टर र बार बनाउने काम अन्तिम चरणमा छ । लाइट राख्ने काम भइरहेको छ भने चालक बस्ने ककपिट तयार भइसकेको छ । प्रवन्ध निर्देशक कँडेलका अनुसार झ्यालको सिसा केही दिनभित्र राखिसकिने छ, एसी जडान हुँदैछ, भित्री भागमा राखिने कुर्सी आउने क्रममा छ । क्रुज सिपमा हाल १५ जना चालक दलका सदस्य र प्राविधिक हाल विदेशी हुनेछन् । पछि नेपाली प्राविधिकहरुले नै यसलाई चलाउने योजना छ । क्रुज राख्न च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन बनाइएको छ । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर