Aamsanchar

प्रदेश २ मा सरकार परिवर्तन हुन्छ : प्रचण्ड

Author Image
सोमवार, फागुन १२, २०७६

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला उठाएर उद्घाटन गरेका छन् ।

नेपाल भारतकै सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको माध्यमिकी परिक्रमामा धनुषाको मिथिलाबिहारी नगरपालिकाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट डोला र जनकपुरको रत्नसागर मन्दिरबाट माता सीताको डोलाको प्रमुख सहभागिता रहने गरेको छ ।

दुवै मन्दिरबाट उठेको डोला जनकपुरधामको हनुमान नगरस्थित हनुमान गढीबाट उठेपछि औपचारिक शुभारम्भ हुने परम्परा छ । डोला उठाउने अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नम्बर २ मा सरकार परिवर्तन हुने दाबी गरेका छन् ।

प्रदेश २ मा सरकार परिवर्तन हुन्छ
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकार परिवर्तन हुने भन्दै यसका लागि राजपा नेपालसंग आन्तरिक कार्यहरु भईरहेकोले गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश सरकार फेरिने जानकारी दिए ।

उनले मिथिलाविहारी नगरपालिका स्थित कचुरीको मिथिलाविहारीको मन्दिर छेउमा धर्मशाला बनाउने घोषणा गरे । उनले भने ‘यहाँ धर्मशालाका बनाउन अत्यन्त जरुरी छ । मेरो तर्फबाट जति सम्भव सहयोग गर्छु । कुनै कमी रहन दिन्न’ ।

मिथिला मध्यमा परिक्रमाले नेपाल–भारतको लागि महाकुम्भ भएको भन्दै अध्यक्ष प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदान प्रदानमा ठुलो योगदान पुर्याइरहेको बताए । आफु पहिलो पटक प्रधानमन्त्री रहेको बेला परिक्रमा मार्गको लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै उनले मिथिलाविहारी परिषद गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा मिथिला विहारी डोलामाथि हेलिकप्टरबाट पुष्प वर्षा समेत गरिएको छ । फागुन शुक्ल औंसी तिथीको दिन कचुरीबाट मिथिला बिहारीको डोला जनकपुरधामस्थित रत्नसागर मन्दिर हुँदै हनुमाननगरमा विश्राम गरी सोमबार बिहानै भारतको कलना स्थित कल्याणेश्वर मन्दिरको लागि प्रस्थान गर्नेछन् ।

१५ दिने अवधिमा १५ वटा धार्मिक ऐतिहासिक ठाँउहरु मध्ये ९० किलोमिटर नेपाल र ३० किलोमिटर भारतको गरि जम्मा १ सय २० किलोमिटर भु–भागको यात्रा मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत गरिने परम्परा रहेको छ । आजको राजधानी दैनिकमा खबर रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर