Aamsanchar

श्रीकृष्ण प्रणामी मन्दिर चारपानेको स्वर्ण महोत्सव तयारी पूरा, मोटरसाइकल र्याली सम्पन्न

Author Image
सोमवार, फागुन १९, २०७६


झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गर्न लागेको स्वर्ण महोत्सवको तयारी पूरा भएको छ ।

उक्त मन्दिरले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी यही फागुन २१ गतेदेखि २७ गतेसम्म साताव्यापी विविध धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रमसहित मनाउन लागेको स्वर्ण महोत्सवको तयारी लगभग पूरा भएको स्वर्ण महोत्सव समारोह मूल आयोजक समितिका महासचिव शारदाप्रसाद थपलियाले जानकारी दिएका छन् ।
स्वर्ण महोत्सव एवम् साताव्यापी श्री १०८ सागर पाठ पारायण श्रीमद्भागवत ज्ञान महायज्ञ (श्रीकृष्ण कथा) का लागि मन्दिर परिसरमा आवश्यक पण्डाल तथा आकर्षक स्वागतद्वार निर्माण भइसकेका छन् भने आगन्तुक पाहुनाहरुका लागि आवास तथा खानपानको व्यवस्थापन भइसकेको बताइएको छ । यसैगरी, महोत्सवको प्रचार–प्रसारका लागि झापाको दमकदेखि पूर्वीद्वार काँकरिभट्टासम्म १० वटा स्वागतद्वार निर्माण भइसकेको छ ।

यसैबीच, महोत्सवलाई भव्य र सफल बनाउन प्रचारात्मक अभियानसहित सोमबार बृहद् धार्मिक मोटरसाइकल र्याली सम्पन्न गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषदको व्यवस्थापनमा मन्दिर परिसरबाट निस्किएको र्याली पूर्वतर्फ कनकाईबाट दक्षिण घैलाडुब्बा हुँदै विर्ताबजार निस्किएर विर्तामोड हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन भएको श्रीकृष्ण प्रणामी युवा परिषद चारपाने प्रारम्भिक समितिका अध्यक्ष युवराज कट्टेलले जानकारी दिए । र्यालीको उद्घाटन महोत्सव  मूल आयोजक समितिका अध्यक्ष युवा सन्त गादीपति जगतनन्दन शास्त्रीजी महाराज र महासचिव शारदाप्रसाद थपलियाले संयुक्त रुपमा गरेका थिए ।

महोत्सवकै अवसरमा मंगलबार श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त विभूषित जगतगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराज श्री ५ नवतनपुरीधाम जामनगरको आगमन हुने र उनको स्वागततार्थ सम्पूर्ण सुन्दरसाथहरु काँकरभिट्टा पुग्ने र महाराजलाई बाजागाजा र र्यालीसहित मन्दिर परिसरमा ल्याउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यसैगरी, प्रदेशस्तरीय युवाहरुको बृहद भेला पनि आयोजना गरिएको छ भने बुधबार श्रीकृष्ण प्रणामी सेवा समितिको केन्द्रीय भेला पनि मन्दिर पसिरमा सम्पन्न हुने समितिअन्तर्गतको श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाका अध्यक्ष मिलन वस्नेतले जानकारी दिए ।

महोत्सव तथा धार्मिक कार्यक्रम तालिका अनुसार २१ गते विहान स्वर्ण महोत्सव शुभारम्भ हुनेछ भने विहान ९ बजे कलशयात्रापछि ११ बजेदेखि श्री १०८ तारतम सागर पाठ पारायण शुभारम्भ हुनेछ १२ बजे स्वर्ण महोत्सव स्तम्भ समुद्घाटन तथा बाबा श्री गोपीदास स्मृतिसभा एवम् कलश अनावरणको कार्यक्रम रहेको छ । दिउँसो २ बजे मञ्चको कार्यक्रम समुद्घाटन हुनेछ भने प्रमुख अतिथिको रुपमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई निमन्त्रणा गरिएको महासचिव थपलियाले जानकारी दिए । तारतम पाठपारायणको समुद्घाटन करकमलबाट हुनेछ । उनको स्वागतार्थ प्रणामी सुन्दरसाथहरु काँकरभिट्टामा भेला हुने रर त्यहाँबाट बाजागाजाका साथ महायस्थलमा ल्याइने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रियस्तरको बनाइने सो धार्मिक तथा सामाजिक अनुष्ठानमा देश–विदेशबाट श्रीकृष्ण धर्मावलम्बी निजानन्द सम्प्रदायका हजारौं भक्तजन एवम् सन्त महाराजहरुको आगमन हुने बताइएको छ । महोत्सव अवधिभर दैनिक सेवा पूजा, मंगल आरती, ध्यान, चिन्तन, योग, मंगलाचरण, पुष्पाञ्जलि, वाणी चर्चा, विभिन्न विद्वानहरुद्वारा धार्मिक प्रवचन, वाणी गायन, भजन–कीर्तन, गरिने छ । यसैगरी, वहत स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, दैनिक रुपमा सहयोगदाता, समाजसेवी महानुभावहरुलार्य सम्मानको कार्यक्रम पनि रहेको छ भने सामुहिक उपनयन र गुन्यूचोलीको कार्यक्रम पनि रहेको छ ।

दाताहरुबाट आर्थिक संकलन गरी गर्न लागिएको उक्त बृहद धार्मिक अनुष्ठान सम्पन्न गर्न ५० लाखदेखि ६० लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । सो कार्यका लागि संघीय, प्रदेश र स्थानीय सरकारले पनि सहयोग गर्ने बचन दिएका छन् । वि. सं २०२६ सालमा दानवीर स्व. खम्बसिंह वस्नेत र धर्मपत्नी जानुका वस्नेतले ५ कट्ठा १० धुर जग्गा दान गरेपछि मन्दिर स्थापना भई धार्मिक कार्यक्रमहरु हुँदै आएको छ भने दाताहरुको सहयोगमा मन्दिर परिसरमा १८ वटा शयनकक्ष, ३ वटा भव्य हल, पर्याप्त शौचालयको पनि व्यवस्था रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर