Aamsanchar

श्रीकृष्ण प्रणामी मन्दिर चारपानेको स्वर्ण महोत्सव शुरु

Author Image
बुधवार, फागुन २१, २०७६

विर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्वर्ण महोत्सवको अवसरमा आयोजित बृहद धार्मिक कार्यक्रम बुधबारदेखि शुरु भएको छ ।
उक्त मन्दिरले  स्वर्ण महोत्सवको अवसरमा साताव्यापी विविध धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रम आयोजना गरेको हो ।

बुधबार विहान स्वर्ण महोत्सव स्तम्भ समुद्घाटन, बाबा श्री गोपीदास स्मृतिसभा एवम् कलश अनावरण र साताव्यापी श्री १०८ सागर तारतम पाठ पारायणको शुभारम्भ श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त विभूषित जगतगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराज श्री ५ नवतनपुरीधाम जामनगरको करकमलबाट भएको छ भने दिउँसो श्रीमद्भा भागवत ज्ञान महायज्ञ (श्रीकृष्ण कथा)–को उद्घाटन प्रदेशसभा सदस्य एकराज कार्कीले गरेका थिए ।

विहान आयोजकले बृहत कलशयात्रा सम्पन्न गरेको थियो ।  स्वर्ण महोत्सव समारोह मूल आयोजक समितिद्वारा आयोजित समारोहमा श्रीकृष्ण प्रणामी धर्मका देश–विदेशका गुरुहरु र हजारौं अनुयायीहरुको सहभागिता थियो । समारोहमा मंगलधाम कालिम्पोङका गादीपति गुरुजी श्री १०८ मोहनप्रियाचार्य, श्रीकृष्ण प्रणामी मन्दिर नवतनधाम काठमाडौंका गादीपति श्री १०८ श्री अमृतराज महाराज, श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीका गादीपति श्री १०८ कृष्णदास महाराज, श्रीकृष्ण प्रणामी मन्दिर पिताम्बर पीठ आसामका गादीपति श्री १०८ कृष्ण स्वामी महाराज, श्रीकृष्ण प्रणामी मन्दिर राजगढका प्राचार्य श्री महेन्द्र महाराज, विदुषी तारा माताजी देवघाट, श्री प्रमोद सुधारकजी महाराज हरिद्वारलगायतको उपस्थिति थियो ।

समितिका अध्यक्ष युवा सन्त जगतनन्दन शास्त्रीजी महाराजको अध्यक्षतामा मन्दिरका गुरु पण्डित बुद्धिप्रकाश लुईँटेल र आयोजक समितिका महासचिव शारदाप्रसाद थपलियाले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा मन्दिरका अध्यक्ष राजेन्द्रकुमार वस्नेतले स्वागत गर्दै मन्दिर स्थापनाकालदेखि हालसम्मको अवस्थाको जानकारी दिएका थिए ।

समारोहमा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्याम केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए भने श्रीकृष्ण युवा परिषद नेपालका उपाध्यक्ष यज्ञ ढकाल, प्रदेश नं १ संयोजक अनिल ढुंगाना, झापा अध्यक्ष सुवास रिजाल, श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाका अध्यक्ष मिलनकुमार वस्नेतलगायतको उपस्थिति थियो ।

समारोहमा मन्दिरलाई सहयोग पुरयाउने केही समाजसेवीहरुलाई सम्मान पनि गरिएको थियो ।
अन्तर्राष्ट्रियस्तरको बनाइएको सो धार्मिक तथा सामाजिक अनुष्ठानमा देश–विदेशबाट श्रीकृष्ण धर्मावलम्बी निजानन्द सम्प्रदायका हजारौं भक्तजन एवम् सन्त महाराजहरुको आगमन भएको समितिका महासचिव थपलियाले जानकारी दिए ।

महोत्सव अवधिभर दैनिक सेवा पूजा, मंगल आरती, ध्यान, चिन्तन, योग, मंगलाचरण, पुष्पाञ्जलि, वाणी चर्चा, विभिन्न विद्वानहरुद्वारा धार्मिक प्रवचन, वाणी गायन, भजन–कीर्तन, गरिने असंयोजक  जगतनन्दन शास्त्रीजी महाराजले जानकारी दिए यसैगरी, वुहत स्वास्थ्य शिविर शुरु भइसकेको छ । रक्तदान कार्यक्रम, दैनिक रुपमा सहयोगदाता, समाजसेवी महानुभावहरुलाई सम्मानको कार्यक्रम पनि रहेको छ भने सामहिक उपनयन र गुन्यूचोलीको कार्यक्रम पनि रहेको बताइएको छ ।

महोत्सव सम्पन्न गर्न जिल्लाका श्री कृष्ण प्रणामीअन्तर्गतका मन्दिर तथा समितिहरु, श्रीकृष्ण प्रणामी युवा परिषद, श्रीकृष्ण सेवा परिषदलगायतका समितिहरुले सक्रिय सहभागिता जनाइरहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर