Aamsanchar

श्रीकृष्ण प्रणामी मन्दिर चारपानेको स्वर्ण महोत्सव सम्पन्न, मुसलमान समूदायका व्यक्तीको पनि सहयोग

Author Image
बुधवार, फागुन २८, २०७६

बिर्तामोड ।  झापाको बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्र्ण महोत्सवको अवसरमा आयोजना गरेको बृहत धार्मिक अनुष्ठान सफलतापूर्वक सम्पन्न भएको छ ।
फागुन २१ गते शुरु भएको साताव्यापी श्री १०८ सागर पाठ पारायण एवम् श्रीकृष्ण कथा ज्ञान महायज्ञ मंगलबार होली पर्व मनाउँदै सम्पन्न गरिएको आयोजक मूल समारोह समितिका महासचिव शारदाप्रसाद थपलियाले जानकारी दिए ।

उक्त धार्मिक अनुष्ठानमा देशका विभिन्न क्षेत्रलगायत भारतको बंगाल, आसाम, सिक्किम, गुजरातसमेतबाट भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । यस अवधिमा ५० हजारभन्दा बढी श्रीकृष्ण प्रणामी सम्प्रदायका अनुयायी मात्र नभई गैरप्रणामी भक्तजनको पनि सहभागिता रहेको थियो । २१ गते श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त विभूषित जगतगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराज श्री ५ नवतनपुरीधाम जामनगरको करकमलबाट स्वर्ण महोत्सव शुभारम्भका साथै स्वर्ण महोत्सव स्तम्भ समुद्घाटन तथा बाबा श्री गोपीदास स्मृतिसभा एवम् कलश अनावरण गरिएको थियो । दिउँसो प्रदेशसभा सदस्य एकराज कार्कीले समारोहको उद्घाटन गरेका थिए ।

अनुष्ठानमा महामंगलपुरीधाम सुरतबाट धर्माचार्य जगतगुरु आचार्य श्री १०८ सूर्यनारायणजी महाराज, बाबा दयारामधाम कर्नालबाट श्री १०८ जगतराजजी महाराज, श्री भद्रावतीपुरीधाम भरोढाबाट श्री १०८ टहलकिशोरजी महाराज, मंगलधाम कालिम्पोङबाट श्री १०८ मोहन प्रियाचार्यजी महाराज, पीताम्बरपीठ आसामबाट श्री १०८ नारायण स्वामीजी महाराज, रायगढबाट वाणी प्रशिक्षक श्री महेन्द्र महाराज, श्री नवतनधाम काठमाडौंबाट श्री १०८ अमृतराजजी महाराज, धर्मधाम जिरौनाका १०८ श्रीराजेन्द्र शास्त्रीजी महाराज, श्री मुक्तिधाम इटहरीबाट १०८ श्री कृष्णदासजी महाराज, प्राणनाथ आश्रम देवघाटधामबाट प्रथम महिला भागवत वाचिका विदुषी तारा माताजी, श्री ५ पदमावतीपुरीधाम पन्नाका गुरुजीलगायतले प्रवचन तथा आशीर्वचन प्रदान गरेका थिए ।
समारोह सफल तुल्याउन श्रीकृष्ण प्रणामी सेवा समिति, श्रीकृष्ण प्रणामी युवा परिषद, श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद बाइजुराज महिला समितिको सक्रिय भूमिका रहेको थियो भने दुई सय स्वयम्सेवक परिचालन भएका थिए ।

यसै अवसरमा युवा परिषद, सत्संग परिषद र बाइजुराज समितिको सम्मेलन पनि गरिएको थियो ।महोत्सव अवधिभर दैनिक सेवा पूजा, मंगल आरती, ध्यान, चिन्तन, योग, मंगलाचरण, पुष्पाञ्जलि, वाणी चर्चा, विभिन्न विद्वानहरुद्वारा धार्मिक प्रवचन, वाणी गायन, भजन–कीर्तन, गरिएको थियो । यसैगरी, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, दैनिक रुपमा र सहयोगदाता, समाजसेवी महानुभावहरुलाई सम्मान पनि गरिएको थियो र महोत्सवको प्रचार प्रसारको लागि आमसंचार टडकम र रेडियो विराट मिडिया पार्टनर र स्थानिय सबै मिडियाहरुले समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेको प्रचार–प्रसार संयोजक टहलदास ओलीले जानकारी दिए ।

महोत्सवको अवसरमा विभिन्न विधामा गैरप्रणामी समुदायका समाजसेवीहरुलाई सम्मान गरिएको थियो । शिक्षासेवी जयनारायण ढुंगाना, कानून व्यवसायी टंक उप्रेती, अशोक पोखरेल, नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडाल, नेपाल फोटोपत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे(कमल) लगायत संस्थागत रुपमा रोटरी, जेसीज, रेडक्रस, मारवाडी सेवा समिति, लायन्सजस्ता संस्थालाई सम्मान गरिएको महासचिव थपलियाले बताए ।
महोत्सव अवधिमा विभिन्न दाताहरुले नगद तथा जिन्सी सहयोग गरेका थिए । ५० हजारदेखि १ लाख ५० हजारसम्म सहयोग गर्ने ५० जना, ५ देखि ४९ हजारसम्म दान गर्ने ९२ जना रहेका छन् भने २० जनाले मन्दिरमा २ लाख ५० हजार रुपैयाँबराबरको कोठा निर्माण गरिदिएको महासचिव थपलियाले जानकारी दिए । समारोहमा मुस्लिम समुदायका एक व्यक्तिले पनि अक्षयकोषका लागि ३१ हजार रुपैयाँ सहयोग गरेका थिए ।

स्वास्थ्य शिविर
महोत्सव अवधिभर निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको थियो । आयुर्वेद र एलोपोथी दुबैखाले सञ्चालन गरिएको शिविरमा झण्डै एक हजारले सेवा लिएका थिए ।
सुश्रुत आयुर्वेद विर्तामोडले राखेको आयुर्वेदतर्फको शिविरमा ४५५ जनाले सेवा लिएका थिए भने ४ लाख १५ हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो । यसैगरी, प्राञ्जल फार्मेसीले राखेको शिविरमा ४९७ जनाले सेवा लिएका थिए भने ४ लाख ८५ हजार ५ सय बराबरको औषधी वितरण गरेको जानकारी दिईएको छ । आयुर्वेदतर्फ डा सञ्जय गुप्ता, डा. सिद्धार्थ ठाकुरले र एलोप्याथीतर्फ डा. गोविन्द कँडेल र डा. खुश्बु अग्रवाल, डा. सुधिर गिरीलगायतले बिरामीको चेकजाँच गरेका थिए ।
महोत्सव सफल बनाउन विभिन्न क्षेत्रबाट उल्लेख्य सहयोग प्राप्त भएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष युवा सन्त जगतनन्दन शास्त्रीजी महाराजले बताए ।
वि. सं २०२६ सालमा दानवीर स्व. खम्बसिंह वस्नेत र धर्मपत्नी जानुका वस्नेतले ५ कट्ठा १० धुर जग्गा दान गरेपछि मन्दिर स्थापना भई धार्मिक कार्यक्रमहरु हुँदै आएको छ भने दाताहरुको सहयोगमा मन्दिर परिसरमा १८ वटा शयनकक्ष, ३ वटा भव्य हल, पर्याप्त शौचालयको पनि व्यवस्था रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 335

प्रतिक्रिया (०)

सम्बन्धित खबर