Aamsanchar

बजारमा ग्यास अभाव, ४ हजारमै इन्डक्सन चुल्हो पाउन थाल्यो

Author Image
मङ्गलवार, चैत ४, २०७६

काठमाण्डौ : कोरोना भाइरस नेपाल भित्रने डरले अहिले नागरिकले अत्यावश्यक वस्तुको भण्डारण गरिरहेका छन् । खासगरी ग्यास, दाल, चामल, नुनतेल लगायतका वस्तुको भण्डारण गर्दा बजारमा अभाव पनि देखिएको छ ।

सामान्य अवस्थामा भन्दा धेरै परिमाणमा ग्यास आयात भैइरहे पनि बजारमा ग्यास पाइन छाडेको छ । नागरिकले घर घरमा सिलिन्डर थुपारिरहेका छन् । मासिक ४३ हजार टन ग्यास खपत हुने गरेकोमा अहिले निगमले मासिक ४५ हजार टन ग्यास आयात गर्दा पनि बजारमा अभाव देखिएको छ ।

आयल निगम र ग्यास उद्योग संघले ग्यास नथुपार्न आग्रह गरेपनि उपभोक्ता भने ग्यासको लाइनबाट पछि हटेका छैनन् । ग्यास सहज रुपमा उपलब्ध हुने र यसको विकल्प पनि रहेको सरकारले जनाएको छ ।

खासगरी ना’काबन्दीका बेला ग्यासको अभाव रहेको र बिजुली पनि अनियमित भएको सम्झेर उपभोक्ता आत्तिएको तर अहिले ग्यास नभए पनि बिजुली नियमित भैरहेकाले नआत्तिन नेपाल विद्युत प्राधिकरणले आग्रह गरेको छ ।

ग्यासको लाइनमा नबस्नुहोस्, बिजुली उपयोग गर्नुहोस : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्यासको लाइनमा नबस्न उपभोक्तलाई आग्रह गर्नुभएको छ । उहाँले विद्युतीय चुल्हो र अन्य उपकरणमार्फत खाना पकाउन पनि आग्रह गर्नुभएको छ । अहिलेको अवस्थामा ग्यास आयात ठप्प नै भएपनि प्राधिकरणले नियमित बिजुली दिन सक्षम रहेको पनि दावी गर्नुभयो ।

‘अहिले ग्यासको लाइनमा बस्नु भन्दा इन्डक्सन चुल्हो किनेर खाना पकाएमा उत्तम हुन्छ, हामीले अहिले बिजुली नियमित बनाएका छौं, लोडसेडिङ छैन उपभोक्ता ग्यासको लाइनमा नबसेकै राम्रो हुन्छ ।’ घिसिङले भन्नुभयो ।

उपभोक्ताले इन्डक्सन चुल्हो र अन्य विद्युतीय उपकरण बढाएमा प्राधिकरणलाई थप हौसला मिल्ने पनि घिसिङले बताउनुभयो । प्राधिकरणले ट्रान्सफर्मर, प्रसारणलाइन लगायतका संरचना मर्मत र विस्तार गरेकाले बिजुली अनियमित हुने सम्भावना नरहेको पनि दावी गर्नुभयो ।

अहिले बिजुलीको माग अधिकतम १३ सय मेगावाटसम्म पुगेको छ । प्राधिकरणले अत्याधिक माग हुने समय अर्थात पिक आवरमा भारतबाट ३ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ ।

४ हजारमै इन्डक्सन चुल्हो बेचिरहेको छ खाद्य व्यवस्था कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिले पनि ४ हजार रुपैयाँमै विद्युतीय चुल्हो अर्थात इन्डक्सन चुल्हो बिक्री वितरण गरिहेको छ । २०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि चीनले नेपाललाई ११ हजार थान इन्डक्सन चुल्हो उपहार दिएको थियो ।

तत्कालीन समयमा कम्पनीले १२ हजार रुपैयाँ मूल्य राखेपछि चुल्हो बिक्री भएको थिएन । अहिले कम्पनीले मूल्य घटाएर ४ हजार रुपैयाँ कायम गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर