Aamsanchar

ईद उल फितरको शुभकामना

Author Image
सोमवार, जेठ १२, २०७७

चन्द्रमाको सौन्दर्य र आकारमा आधारित यस चाडको अनुग्रह वास्तवमै प्रकृतीको हातमा छ । तपाई हुनुभएको देश या विश्व भू(भागमा पनि इद मनाउने दिन फरक हुनसक्दछ, यदि यो दिन कहिले हो भनेर दुविधामा हुनुहुन्छ भने कृपया नजिकैको मस्जिद या मुस्लिम सामाजिक सामूदायीक केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ । इदका दिनबाट रमजान सकिनेछ र एकदिन अगाडि नै यस वर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकीएको हुन्छ ।

आउनुहोस् ईदको यहि पेरिफेरिमा आज केहि कुरा गरौं

इस्लाम धर्मावलम्बीहरुको एक महान चाड इद उल फितरु पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्दछ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्वपूर्ण हुन्छ त्यसकारण पनि इस्लामीक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबैजनाले चन्द्रमा हेर्ने गर्दछन र जब ुहिजालु अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ हुने गर्दछ । यो एउटा उत्साह, जीत र समानताको चाड हो जहाँ परिवार र समूदायका हरेक व्यक्ति धनी, गरीबहरूको मुहारमा मुस्कान र सदाचारका शुभेच्छाहरु भरीएका हुन्छन् र यिनै सदाचारका शुभकामनाहरू एक अर्कालाई अङ्गालोमा बेर्दै आदानप्रदान गर्ने गर्दछन् ।

इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममा यहि रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरु प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरु बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरु खुल्ला रहने बताइन्छ जस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।

इदको दिन इस्लाम धर्मावलम्बीहरु स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरु मध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाकालागि नजिकैको मस्जिदमा भेला हुने गर्दछन र प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिने गर्दछन्, यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गर्दछन र बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान प्रदान गर्दै जाने चलन छ । प्रार्थनामा जाँदा र फर्कदा सकेसम्म फरक-फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । तर, कोरोना भाइरसको नियन्त्रणका निमित्त यो वर्षको ईदमा सबैलाई आफ्नो घरमा बसेर नै नमाज पढ्न र शुभकामना आदान प्रदान गर्न नेपाल मुस्लिम आयोगले अनुरोध गरेको छ ।

आजको दिन प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरु सामूहिक भेला हुनेगर्दछन् र सामूहिक रुपमा भोज गर्दै इद उल फितरलाई हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ, रोचक कुरा त के छ भने इद का सम्पूर्ण खुशीयाली र शुभेच्छाहरुको साटासाट खुल्ला आकाशमुनी गर्ने गर्दछन् । बालबालिकाका लागि भने यो उत्सव अझै विशेष हुनेगर्दछ किनभने उनीहरुलाई आफूभन्दा ठूलाले बिभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिनेगर्दछन् जसलाई ईदको ईदि भनिन्छ जसमा ठूलाले आफू भन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक भनौ अथवा अधिकारनै मानेर प्रदान गरिन्छ । रमाइलोलाई अझै रङ्गीन बनाउन कतिपय ठाँउमा त बालबालिकाहरुले विभिन्न रङ्गहरु र झिलीमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरको साज-सज्जा गर्ने गर्दछन् ।

ईदको दिनमा गरिने विशेष प्रकारको भजनलाई सलत भनिन्छ जसका दुई सकतहरु अर्थात भागहरु हुन्छन् । यी भजनहरु खुल्ला भजन गृह या ठाँउमा सामुहीक रुपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरु पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पवूर्ण छन भन्ने बुझिन्छ ।

नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था अनि राजनैतिक दलहरुले औपचारीक सन्देश जारी गर्दै मुसलमान दाजुभाई दिदिबहिनीहरुलाई ईद को शुभकामना दिइन्छ । समाज र समानतासंग इस्लाम धर्मको बिशेष निकटता छ, धनी र गरिब सबैले समान रुपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून भन्ने कुरामा इस्लामीक रितीहरु विशेष तवरले बनाइएको पाइन्छ ।

यस चाडले भातृत्व, शान्ति र शुभेच्छाहरुको आदान प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ र गरिब परिवारहरुले पनि सम्मानकासाथ इद मनाउन पाउन भनेर बिभिन्न प्रकारका भोजहरु आयोजना गर्ने गर्दछन् । भातृत्व र उत्साहको यो पर्वमा तपाईं हामी सबैलाई ईद उल फितरको शुभकामना ।  श्रोत : हाम्रो पात्रो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 666

प्रतिक्रिया (०)