Aamsanchar

झापाली संचारकर्मी राधाकृष्णले दर्शकलाई अब ऐना देखाउने

Author Image
आइतवार, साउन ३२, २०७७

काठमाडौं ।  ‘ऐना’ : सामाजिक मुद्दामाथिको सशक्त ‘टेलिभिजन सो’ आउँदै टेलिभिजन कार्यक्रम ‘ऐना’को लोगो सार्वजनिक भएको छ ।

ललितपुरमा पत्रकार सम्मेलन गरी कार्यक्रम ‘ऐना’को लोगो सार्वजनिकसँगै कार्यक्रमका प्रायोजक र ‘ऐना’ टिमबारे जानकारी दिइएको हो ।

दि होराइजन मल्टिमिडिया प्रालिले निर्माण गर्ने २६ एपिसोडको कार्यक्रम ‘ऐना’ सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण हुने एउटा ‘टेलिभिजन सो’ हो । कार्यक्रम ‘ऐना’ कान्तिपुर टेलिभिजनबाट २०७७ साल कात्तिक पहिलो सातादेखि हरेक हप्ता एक घण्टा प्रसारण हुनेछ । कार्यक्रम ‘ऐना’का प्रोजेक्ट हेड राधाकृष्ण धितालले ऐना विशुद्ध सामाजिक मुद्दामा मानवीय पक्षलाई प्राथमिकतामा राखेर निर्माण हुने बताउनु भयो ।

देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन-अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोक, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषयमाथिको सम्पूर्ण ‘प्याकेज’का रुपमा कार्यक्रम ‘ऐना’ तयार हुनेछ । यस्तै, निर्देशक अमनप्रताप अधिकारीले नेपाली समाजमा मानिसका अथाह दुःख र पीडा छन् ती घटनाका रुपमा त आउँछन् तर किन यस्तो भइरहेको छ भन्ने खोजीमा कार्यक्रम निर्माण गर्न लागिएको बताउनु भयो ।

कार्यक्रमका प्रोड्युसर जनक पौड्यालले सामाजिक र मानवीय सवालहरु जसले व्यक्ति, परिवार, समुदाय वा राष्ट्रलाई कस्तो असर पारिरहेको छ भन्ने यथार्थ चित्र प्रस्तुत गर्नु नै कार्यक्रम ‘ऐना’को उद्देश्य भएको बताउनु भयो । समाजमा भइरहेका अमानवीय घटना, विभेद, अन्याय, अपराध, अपमान, असावधानी, रुढीवादी परम्परा-सोच आदिले किन मान्छेलाई सभ्य बन्न दिइरहेको छैन? किन र के हो त्यसको जड? यिनै प्रश्नको जवाफ खोज्ने काम कार्यक्रम ‘ऐना’को हुनेछ ।

कार्यक्रममा कान्तिपुर टेलिभिजनका स्टेसन प्रमुख दिनेश डीसीले ‘ऐना’लाई सफल बनाउन कान्तिपुर मिडिया ग्रुपले यथासम्भव साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रम ऐनाको मुख्य प्रायोजक ‘ग्लोबल आइएमई बैंक लिमिटेड’का डेपुटी सीईओ महेश ढकालले सामाजिक र मानवीय विषय केन्द्रित टेलिभिजन सो ‘ऐना’लाई प्रायोजन गर्नु व्यापारिक उद्देश्य मात्र नभई सामाजिक उत्तरदायित्वको विषय भएको बताउनु भयो ।

ऐनाको सहप्रायोजन ‘सिजी इलेक्ट्रोनिक्स’ले गर्नेछ भने कार्यक्रमको ‘पावर्ड बाइ’मा ‘आइएनजी ग्रुप’ तय भइसकेको छ । कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषयमाथि अनुसन्धान र स्थलगत रिपोर्टिङका लागि देशभरि २८ जना अनुसन्धानकर्ता सक्रिय छन् । ‘ऐना’को ‘प्रोजेक्ट हेड’मा राधाकृष्ण धिताल, निर्देशकमा अमनप्रताप अधिकारी, प्रोड्युसरमा जनक पौड्याल, अनुसन्धान प्रमुखमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरि, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाले भूमिका निर्वाह गर्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१